मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकुमार श्रेष्ठ
२०७७ जेठ १९ सोमबार ११:२०:००
Read Time : < 1 मिनेट
समाचार

सासूको हत्या गरेकाे आरोपमा बुहारी पक्राउ

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ
२०७७ जेठ १९ सोमबार ११:२०:००

पूर्वी नवलपरासीको कावासोती नगरपालिका– ८ शीतलचोकनिवासी ८२ वर्षीया जसुदा अधिकारीको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छिन्। 

बुहारी ४० वर्षीया नीरा खत्री अधिकारीलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए। 

मृतकका छोरा अर्थात् आरोपी महिलाका पति चन्द्रकान्त अधिकारीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले बुहारी नीरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार घटना शुक्रबार रातिको हो। हत्याको घटनालाई लुकाउन बुहारी नीराले ट्वाइलेट जाने क्रममा लडेर सासूआमा घाइते भएको भन्दै उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल पुऱ्याएकी थिइन्। अस्पताल नपुग्दै वृद्धाको मृत्यु भएको भन्दै अस्पतालले शव फिर्ता पठाएको थियो। 

पोष्टमार्टमका क्रममा टाउकोमा चोट लागी वृद्धाको मृत्यु भएको रिपोर्ट आएपछि घटना शंकास्पद देखिएको थियो। स्थानीयले घटना छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै शनिबार दिनभर मृतकका घरअगाडि प्रदर्शन गरेका थिए।

घटनास्थलको प्रकृति, मृतकको अवस्था, मृतकको टाउकोसहित शरीरमा लागेको चोटपटकको अध्ययन गर्दा मृतकको टाउकोमा पटकपटक प्रहार भएको निष्कर्षमा प्रहरी पुगेको छ।