Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ जेठ १९ सोमबार १०:२२:००
Read Time : > 2 मिनेट
अर्थ

क्वारेन्टाइन बनाउन होटेल व्यवसायीले १५ सयमै कोठा दिने, देशभर एकैपटक १ लाख ६० हजारलाई राख्न सकिने

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ जेठ १९ सोमबार १०:२२:००

विदेशबाट फर्किएका नेपाली कामदारलाई क्वारेन्टाइनमा राख्न तारे र अन्य होटेलहरूले १५ सयसम्ममै कोठा दिने भएका छन् । तारे होटेलहरूले गत जेठ १२ गते होटेलका कोठालाई क्वारेन्टाइन बनाउन सहमत भए पनि शुल्क महँगो भएपछि सरकारले घटाउन माग गरेको थियो ।

होटेल संघ नेपाल (हान)ले आइतबार पर्यटकस्तरका होटेलहरूले प्रतिबेड १५ सयमै राख्न दिने निर्णय गरेको छ । एउटा कोठामा एकजना मात्रै बस्दा भने २ हजार रुपैयाँ तिर्नुपर्ने छ । यो शुल्कमा होटलहरूले दिनको चारपटक पौष्टिक आहारसमेत खुवाउने हानका महासचिव साजन शाक्यले बताए ।

होटलको क्वारेन्टाइनमा प्रतिबेड १५ सय वा कोठाको दुई हजार तिरे पुग्ने, यही शुल्कमा दिनको चारपटक पौष्टिक आहार खुवाउन पनि होटल व्यवसायी तयार।

हानले विगतमा सबै पर्यटकस्तरका होटेलदेखि पाँचतारे होटेलसम्म क्वारेन्टाइनमा दिन तयार भए पनि शुल्कमा कुरा नमिलेपछि तत्कालका लागि चारतारे र पाँचतारे होटेल भने क्वारेन्टाइन नबनाउने भएका छन् ।

तत्कालका लागि पर्यटकस्तरका होटेल, रिसोर्टसहित तीनतारेसम्मका होटेल मात्रै क्यारेन्टाइन बनाउने निर्णय भएको महासचिव शाक्यले जानकारी दिए । पर्यटकस्तरमा एक बेडका लागि २ हजार र दुई बेडका लागि ३ हजार तोकिएको छ ।

यसअघि दुई बेडका लागि ५ हजार र सिंगलका लागि ३ हजार तोकिएको थियो । ‘चारतारे र पाँचतारे होटेलमा अहिले शुल्क महँगो पर्ने भएकाले तत्काल नराख्ने र आवश्यक भएमा मात्रै क्वारेन्टाइन बनाउने निर्णय गरियो,’ महासचिव शाक्यले भने, ‘राज्यलाई संकट परेकाले दिएका हौँ, चारपटक पौष्टिक आहार खुवाएर यति सस्तो राख्नु चुनौती हो, तर राख्छौँ ।’  

एकतारे होटेलमा सिंगल रुमका लागि ३ हजार र डबल बेडका लागि ५ हजार तोकिएको थियो । अहिले त्यो रकम पनि २५ सय र ४ हजारसम्म झार्न सकिने छलफल भएको छ । त्यसैगरी, दुईतारे र तीनतारेका लागि ६ हजार र १० हजार तोकिएको, तर विभागसँग छलफल गरेर सोमबार घटाउने महासचिव शाक्यले जानकारी दिए । देशभर पर्यटकस्तरका करीब एक हजार, एकतारे होटेल २५, दुईतारे ३० र तीनतारे ४० होटेलहरू छन् ।  

होटेल महासंघले पनि २ हजारमै राख्ने

साना तथा मझौला होटेल व्यवसायी महासंघले पनि ७७ वटै जिल्लाका होटेलहरू क्वारेन्टाइन बनाउन सहमति दिएको छ । महासंघका अध्यक्ष हीरा शाहले सरकारको आवश्यकताअनुसार कोठाहरू दिन तयार रहेको बताए । ‘हामीले तीन छाक खुवाएर २ हजारमा राख्न सहमत भएका छौँ, प्रत्येकलाई सिंगल रुम दिन तयार छाैं,’ अध्यक्ष शाहले भने ।

सरकारले गत सातादेखि नै महासंघका सदस्य रहेका काठमाडौंमा २९ वटा होटेलमा ६ सय १० स्वास्थ्यकर्मीलाई राख्न सुरु गरिसकेको छ । नेपाल पर्यटन बोर्ड र होटेल महासंघबीचको सहमतिअनुसार गत सातादेखि होटेलमा स्वास्थ्यकर्मी राख्न सुरु गरिएको हो ।

जसमा सबै डाक्टर तथा नर्सहरूलाई सिंगल कोठाको व्यवस्था गरिएको छ । ‘बोर्डको आग्रहमा महासंघले विभिन्न होटेलमा स्वास्थ्यकर्मी राख्न सुरु गरेका छाैँ,’ नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मीले भने । तीनपटक खान र बस्नका लागि एकरातको २ हजार दिने गरी सम्झौता भएको छ । 

१ लाख ६० हजारलाई एकैपटक क्वारेन्टाइनमा राख्न सकिने

तारे र अन्य साना तथा मझौला होटेलहरू गरेर देशभर १ लाख ६० हजार बेड क्वारेन्टाइन बनाउन सकिने भएको छ । साना तथा मझौला होटेल महासंघमा आबद्ध सदस्यहरूका कोठामा देशभर १ लाख ५ हजार बेड रहेको महासंघका अध्यक्ष शाहले जानकारी दिए । उनका अनुसार काठमाडौंमा मात्रै २० हजार बेड छन् ।

यता तारे होटेलहरूमा पनि काठमाडौंमा मात्रै ६ हजार ५ सय बेड रहेको हानको भनाइ छ । देशभर ३० हजार कोठा छन्, त्यसमा दुई बेड राख्न सकिने भएकाले ६० हजार मानिसलाई एकैपटक हानका सदस्य रहेका होटेलमा क्वारेन्टाइनमा राख्न सकिने उनको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयले दिने मापदण्डअनुसार क्वारेन्टाइन बनाउन तयार रहे तापनि अहिलेसम्म त्यस्ता मापदण्ड भने उपलब्ध नभएको महासंघका अध्यक्ष शाह बताउँछन् । ‘विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डअनुसार क्वारेन्टाइन बनाउन तयार छौँ, तर त्यसमा होटेलको स्तरअनुसार न्यूनतम खर्च तोकेका छौँ,’ हानका महासचिव शाक्यले भने । 

आन्तरिक उडान खुला गरेर मात्रै विदेशबाट उद्धार गर्ने

सरकारले बन्द रहेको आन्तरिक उडान खुला गरेपछि मात्रै विदेशबाट उद्धार गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विदेशबाट ल्याएकालाई जिल्ला पनि पठाउनुपर्ने भएकाले आन्तरिक उडान पनि विदेशबाट उद्धार गर्ने गरी काम भएको बताए ।

अहिले उडानका लागि सोसल डिस्टेन्स रहने र कसरी सुरक्षित उडान–अवतरण गराउने भनेर विमानस्थल तयारीमा लागेको केसीले जानकारी दिए । सरकारले आगामी असार १३ सम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्दको निर्णय गरिसकेको छ ।