सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २१ आइतबार
  • Sunday, 05 July, 2020
नवराज मैनाली काठमाडौं
२०७७ जेठ १९ सोमबार ०४:४५:००
मुख्य समाचार

राष्ट्रपति कार्यालयमा एक करोडको गलैँचा फेरिँदै

तीन वर्ष अगाडि बनेको नयाँ भवनका गलैँचा फालेर ३०-३० लाखका नयाँ गलैँचा राख्ने तयारी, नेकपा गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङको हिमालयन डेकोरलाई गलैँचा फेर्ने ठेक्का

नवराज मैनाली, काठमाडौं
२०७७ जेठ १९ सोमबार ०४:४५:००

कोरोना महामारीविरुद्ध संघर्ष गरिरहेको सरकारले भेन्टिलेटर पनि निक साइमन्स् नामक एनजिओबाट अनुदानमा ल्याएको छ । तर, यही वेला राष्ट्रपति कार्यालयमा करिब एक करोडको गलैँचा फेर्ने तयारी छ । तीन वर्षअघि मात्र बनेको भवनमा राखिएका गलैँचा फालेर नयाँ राख्न नेकपाका प्रदेश सांसद रामबहादुर गुरुङले ठेक्का पाएका छन् । 

.........................

देश कोरोना भाइरसविरुद्ध संघर्षमा रहेको वेला महँगा गाडी नकिन्ने भनेर बजेट फिर्ता गरेको राष्ट्रपति कार्यालयले गलैँचा फेर्न भने एक करोड खर्च गर्दै छ । तीन वर्षअघि मात्र निर्माण सम्पन्न भएको भवनमा राखिएका गलैँचा फालेर कोठाहरू भव्य बनाउन थालिएको छ ।

राष्ट्रपति कार्यालयमा गलैँचा फेर्ने ठेक्का पाएको हिमालयन डेकोर गण्डकी प्रदेशका नेकपा सांसद रामबहादुर गुरुङको हो । उनी तनहुँ–१ (क) बाट निर्वाचित भएका हुन् । 

कम्पनीले लकडाउनमा पनि गलैँचा बुन्ने काम धमाधम गरिरहेको छ । राष्ट्रपति कार्यालयको दुईवटा ठूला हलका लागि मात्र करिब ३०-३० लाख रुपैयाँ पर्ने गलैैँचा राख्न लागिएको छ । त्यस्तै, अन्य कोठाहरूमा करिब ४० लाखको गलैँचा राख्ने तयारी छ । 

‘दुई ठूला हलका लागि विशेष खालको गलैँचा बनाउने काम फ्क्याट्रीमा भइरहेको छ,’ हिमालय डेकोरकी प्रबन्धक शोभा गुरुङले भनिन्, ‘नेपाली मौलिकता झल्कने गरी बनाउन लागिएको छ, भव्य र मौलिक बनाउन लागिएकोले लगानी पनि त्यहीअनुसार लाग्ने हो ।’ 

विदेशी अतिथिहरू आउँदा भेटघाट गर्ने कक्षमा देशको इज्जत बढ्ने गरी महँगो गलैँचा बिछ्याउन लागिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘राष्ट्रपतिको व्यक्तिगत रुचि होइन । नेपाली गलैँचाको प्रवद्र्धन हुने गरी विशेष खालको गलैँचा राख्न थालिएको हो, फेरि विदेशी पाहुना आउँदा देशको प्रतिष्ठा पनि महत्वपूर्ण हुन्छ ।’

राष्ट्रपति कार्यालयमा महँगो गलैँचा राखेर देशको प्रतिष्ठा बढाउने योजनाकारहरूले जनप्रतिनिधिको प्रतिष्ठा कसरी बढ्छ भनेर भने ख्याल गरेको देखिएको छैन । नेपालको विकासमा आर्थिक सहयोग गर्ने नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटी साइकल चढेर कार्यालय जान्छन्, क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राभर आफ्नो निवास आफैँ ‘पेन्ट’ गर्छिन् । यसो गर्दा प्रतिष्ठा उनीहरूको झन् बढेको छ । 

कोरोना संक्रमणका कारण मितव्ययी हुने भनेर सरकारले आह्वान गरिरहेको वेला देशको सर्वोच्च सम्मानित निकायमा फजुल खर्च हुन लागेकोमा सरकारले कुनै टिप्पणी गरेको छैन । राष्ट्रपति कार्यालयका एक अधिकारी भने लकडाउन सुरु हुनुभन्दा अघि नै प्रक्रिया टुंगो लागेकाले रद्द गर्न नसकिएको बताउँछन् । 

‘राष्ट्रपतिको व्यक्तिगत रुचि होइन’

राष्ट्रपति ०७३ माघमा मात्र शीतलनिवासभित्रकै नयाँ भवनमा सरेकी हुन्, ४० महिनामै महँगो गलैँचा फेर्न थालिएको हो । लकडाउनअघि नै थालिएको प्रक्रिया रद्द गर्न नसकिएको राष्ट्रपति कार्यालयको भनाइ छ । ‘यो राष्ट्रपतिको व्यक्तिगत रूचि होइन, मौलिकता झल्काउने गलैँचाले देशको प्रतिष्ठा बढाउँछ भनेर राख्न थालिएको हो,’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।

तर, राष्ट्रपति कार्यालयका प्रवक्ता केशव घिमिरेले भने यससम्बन्धी काम सहरी विकास विभागबाट हुने भएकाले आफूलाई विस्तृत जानकारी नभएको बताए । विभागअन्तर्गतको भवन निर्माण सम्भार डिभिजन कार्यालयले भिभिआइपीको निवासको लागि सजावटको काम गर्दछ । 

प्रहरी कार्यालय हटाउन ताकेता

उता राष्ट्रपति कार्यालय अझ फराकिलो बनाउन सँगैको प्रहरी प्रशिक्षण प्रतिष्ठान र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) कार्यालय हटाउन सरकारले ताकेता गरेको छ । सिआइबीलाई साउनभित्र अन्यत्र सारेर ठाउँ खाली गर्न ताकेता गरिएको छ, तर सिआइबीको कार्यालय कहाँ राख्ने भन्ने विषयमा सरकारले कुनै पहल गरेको छैन । ‘हामी त सरकारी मान्छे हौँ, जहाँ पठायो त्यही जान्छौँ, तर कहाँ जाने भनेर त सरकारले भनिदिनुपर्यो, कार्यालय झोलामा बोकेर हिँड्न त मिलेन नि,’ सिआइबीका एक अधिकारीले भने ।

त्यस्तै, प्रहरीलाई तालिम दिने सबैभन्दा ठूलो संस्था राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई पनि राष्ट्रपति कार्यालय विस्तारकै लागि विस्थापित गर्न लागिएको छ । राष्ट्रपति कार्यालयका लागि हेलिप्याड तथा बगैंचा बनाउन तालिम प्रतिष्ठान अन्यत्र सार्न खोजिएकोे हो । आफ्नो ऐतिहासिक धरोहर तालिम केन्द्र हटाउन लागिएकोमा पनि प्रहरीको असन्तुष्टि छ ।

विश्वका यी नेता : सरल जीवन, उच्च प्रतिष्ठा

विश्वका केही शक्तिशाली तथा सम्पन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखको जीवनशैली सामान्य छ । कोही साइकल चढेर कार्यालय पुग्छन्, कोही स्कुलमा समेत पढाउँछन् । उनीहरूलाई साइरन बजाउँदै सडकमा ‘भिभिआइपी दम्भ’ देखाउनु बेतुक लाग्छ । राज्यको व्ययभार कम गर्न तलब कटौती गर्ने पनि छन् । यस्ता नेताको सामान्य जीवनशैलीबाट सबैले ज्ञान लिन सक्छन् । 

कोलिन्डा ग्राभर, क्रोएसियाकी पूर्वराष्ट्रपति

कोलिन्डाको सामान्य जीवनशैली संसारभर चर्चित छ । राष्ट्रपति हुँदा पनि उनले घरको काम आफैँ गर्थिन् । केही समयअघि उनले आफ्नो घरमा रङ लगाइरहेको तस्बिर सार्वजनिक भएको थियो । ०१८ को विश्वकप फुटबलमा क्रोएसियाले फाइनलसम्मको यात्रा तय गर्दा खेलाडीको हौसला बढाउन रसिया पुगेकी तत्कालीन राष्ट्रपति विश्वचर्चित भएकी थिइन् । उनी इकोनोमिक क्लासको टिकटमा रसिया पुगेकी थिइन् । त्यति मात्र होइन, प्याराफिटमा पनि भिआइपी सिट छाडेर उनी सामान्य दर्शकसँगै बसिन् । पानी पर्दा पनि छाता खोजिनन् । मैदानमै पुगेर खेलाडीलाई हौसला दिन पनि पछि परिनन् ।

मार्क रुटी, नेदरल्यान्ड्सका प्रधानमन्त्री

प्रधानमन्त्री रुटी सडकमा निस्कँदा अगाडि-पछाडि साइरन बजाउँदै हिँड्ने सुरक्षाकर्मी हुन्नन्, किनकि उनी आफैँ साइकल चढेरै कार्यालय आउजाउ गर्छन् । अहिले पनि उनी स्मार्टफोन होइन, नोकियाको सामान्य बार फोन चलाउँछन् । प्रधानमन्त्री भएपछि पनि साताको एक दिन प्राथमिक विद्यालयमा पढाउन जान्छन् । 

बाराक ओबामा, अमेरिकी पूर्वराष्ट्रपति
राष्ट्रपतिबाट अवकाश पाएपछि ओबामा आफ्नै फाउन्डेसनमार्फत समाजसेवामा सक्रिय छन् । बिरामी बालबालिकालाई भेट्न अस्पताल पुग्छन्, युद्धपीडितलाई भेट्न घर–घर पुग्छन् । उनी सर्वसाधारणकै शैलीमा सपिङ कम्प्लेक्समा किनमेल गरिरहेका भेटिन्छन् । कहिलेकाहीँ सडकपेटीमा बेच्न राखिएका फलफूलको मज्जा लिन्छन् । सुरक्षागार्डविना नै यात्रा गर्न रुचाउँछन् ।

जस्टिन ट्र्युडो, क्यानडाका प्रधानमन्त्री

प्रधानमन्त्री जस्टिन शरणार्थीका प्रिय नेता नै हुन् । सिरिया द्वन्द्वबाट विस्थापित ५० हजार आप्रवासीलाई उनले क्यानडामा स्वागत गरिसकेका छन् । ४५ वर्षीय जस्टिन शासनसत्तामा आएसँगै सन् २०१६ मा क्यानडाले ४० वर्षयताकै सबैभन्दा धेरै शरणार्थीलाई देशमा प्रवेश गराएको छ । कतिपयलाई लिन त विमानस्थल नै पुगे । शरणार्थीलाई न्यानो कोट लगाइदिएर स्वागत गरे । उनी आफ्नो आवागमनको समयमा ‘भिआइपी सान’ साइरन बजाउँदै अन्य यात्रुलाई रोकेर दुःख दिन रुचाउँदैनन् । भारत भ्रमण आएका वेला पनि उनले सामान्य होटेलमा खाना खाएका थिए । 

इमरान खान, पाकिस्तानका प्रधानमन्त्री

सरकारको नेतृत्व पाएलगत्तै इमरानले सरकारप्रमुखका सुविधा कटौती गरेर विश्वव्यापी चर्चा कमाए । आलिसान महलमा रहेको प्रधानमन्त्री कार्यालयलाई तीनकोठे भवनमा सारे । त्यति मात्र होइन, प्रधानमन्त्री कार्यालयका रूपमा सञ्चालित भवनमा शिक्षालय सञ्चालन गरे ।

प्रधानमन्त्रीको सुरक्षाका लागि रहेका हेलिकोप्टर, ३३ बुलेटप्रुफ कारसहित ८० गाडी र आठवटा भैँसी लिलामीमा बिक्री गरे । आफ्नो सचिवालयमा दुईवटा गाडी मात्रै राखे । आफ्नो निवासमा कार्यरत पाँच सय २४ कर्मचारी कटौती गरेर दुईजना मात्र राखे । प्रधानमन्त्रीका रूपमा आफूले पाउने चिया र खाजा खर्च पनि कटौती गरे । आफूसहित सरकारी कर्मचारीको तलब र विदेश भ्रमण खर्च पनि कटौती गरे । 

जुली एनी गेन्टर, न्युजिल्यान्डकी यातायातमन्त्री

जुली साइकल चलाउन वकालत गर्छिन् । आफू पनि साइकलमै कार्यालय ओहोरदोहोर गर्छिन् । सुत्केरी बेथाले च्याप्दा पनि उनी साइकल चलाउँदै अस्पताल पुगिन् र बच्चा जन्माइन् । उनको सामान्य जीवनशैलीको सञ्चारमाध्यमले सधैँ चर्चा गर्छन् ।

आन्द्रेस म्यानुअल लोपेज, मेक्सिकोका राष्ट्रपति

सन् २०१८ मा राष्ट्रपति भएलगत्तै आन्द्रेसले आफ्नो पारिश्रमिक ६० प्रतिशत कटौती गरेर मासिक चार हजार तीन सय अमेरिकी डलर मात्रै लिने निर्णय गरे । उनको निर्णयको अनुसरण गर्दै अन्य मन्त्री र कर्मचारीले तलब कटौती गर्दा राज्य कोषलाई फाइदा भयो । उनले राष्ट्रपतिनिवासलाई सांस्कृतिक केन्द्र बनाए । पूर्वराष्ट्रपतिको पेन्सन पनि कटौती गर्ने निर्णय गरे ।

एपिजे अब्दुल कलाम, भारतका पूर्वराष्ट्रपति

एपिजे अब्दुल कलाम भारतको राष्ट्रपति छँदा आफ्नो निवासमा आउने निजी पाहुनालाई चिया र खाजा आफ्नै खर्चमा खुवाउँथे । राष्ट्रपति हुनुअघि उनी एउटा कोठा भाडामा लिएर सामान्य जीवन बिताउँथे । राष्ट्रपतिनिवासबाट बिदा भएपछि पनि सरल जीवन बिताए ।

उनले ट्विटरमा आफूलाई फलो गर्ने सर्वसाधारणलाई जन्मदिन र अन्य अवसरमा शुभकामना दिने गरेका थिए । आमसर्वसाधारणले झैँ सामान्य रेस्टुरेन्टमा पुगेर मिठाई र चाट खान्थे । एकपटक समारोहका दौरान मञ्चमै आएर एक बालिकाले उनीसँग हात मिलाउन अनुरोध गरेकी थिइन् । कलामले मुस्कुराउँदै उनको अभिवादन स्विकारेर हात मिलाएका थिए । यस्ता धेरै अवसरमा कलाम सादगी देखिए । कलामले अन्तिम सास पनि एउटा कक्षाकोठामा फेरेका थिए जहाँ उनले विद्यार्थीलाई पढाइरहेका थिए । 

भारतका पहिला राष्ट्रपति डा.राजेन्द्रप्रसाद (राजेन्द्र बाबु भनिन्थ्यो, २६ जनवरी १९६० देखि १३ मई १९६२ सम्म) को जीवनशैलीबारे तत्कालीन काँग्रेस आइका नेता भीष्मनारायण सिंहका किस्सा भारतीय राजनीतिक इतिहासका पुस्तकमा पढ्न पाइन्छ । भीष्मनारायण राष्ट्रपति राजेन्द्रलाई भेटन गैरहन्थे । उनका अनुसार राष्ट्रपति राजेन्द्र लामोसमय च्यातिएको ‘बेड कभर’मै सुत्थे ।

राष्ट्रपति कार्यालयको व्यवस्थापनमा खटिएका कर्मचारीहरुले भीष्मनारायणसँग भन्थे, ‘बेड कभर च्यातिएको छ । धेरै पुरानो छ । तपाईंले राजेन्द्र बाबुसँग बदल्न भनिदिनु प¥यो ।’ कर्मचारीले भनेपछि एक दिन भीष्मनारायणले राष्ट्रपति राजेन्द्रप्रसादलाई भनेका थिए, ‘कर्मचारीले धेरै गुनासो गरे, बेड कभर बदल्नुपर्ने भयो ।’

राष्ट्रपति राजेन्द्रप्रसादलेले जवाफ दिए, ‘मेरो लागि सवैभन्दा ठूलो शहर पटना (उनी विहारमा जन्मेका कारण) हो । म कलकत्तामा बसेँ, जहाँ मजदुरहरु बोरा विछाएर सडक पेटिमा सुतिरहेका छन् । यही देशमा मजदुर सडक पेटिमा बोरोमा सुत्न सक्छन भने राष्ट्रपति भवनभित्र राष्ट्रपति उस्तै तरिकाले बस्छ भने यसमा के समस्या भयो ?’

जोसे मोहिका, उरुग्वेका पूर्वराष्ट्रपति

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मोहिका साधारण जीवनका पर्याय हुन् । सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपति छँदा उनलाई ‘संसारकै गरिब राष्ट्रप्रमुख’ भनिएको थियो । अवकाशपछि सरकारले उपलब्ध गराएको आवास छाडेर उनी आफ्नी श्रीमतीसँगै सानो घरमा सरे ।

त्यहाँ उनले फूल रोपेका छन्, आफैँ बजार लगेर बेच्छन्, आम्दानीले घरखर्च चलाउँछन् । पूर्वराष्ट्रपति भएका नाताले पाउने तलब (१२ हजार अमेरिकी डलर) मध्ये ९० प्रतिशत रकम उनले समाजसेवामा खर्चने गरेका छन् । ‘संसारका गरिब व्यक्तिहरू ती हुन् जसले केवल खर्चिलो जीवनशैली बिताउने लक्ष्यले काम गर्छन् र सधैँ असन्तुष्ट रहन्छन्,’ उनको भनाइ छ । 

जोयसी बान्डा, मालाबीकी पूर्वराष्ट्रपति

सन् २०१२ देखि २०१४ सम्म मालाबीमा राष्ट्रपति थिइन् बान्डा  । आफ्नो देशको आर्थिक अवस्था सुधार्न उनले मितव्ययी कार्यक्रम ल्याइन् र त्यसको सुरुवात आफैँबाट गरिन् । यी प्रथम महिला राष्ट्रपतिले राष्ट्रपतिका लागि प्रयोग हुने जेटप्लेन र ६० वटा मर्सिडिज कार बेच्ने निर्णय गरेकी थिइन् ।