Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
२०७७ जेठ १८ आइतबार २१:५०:००
दृष्टिकोण

अन्तरजातीय विवाह: जातीय विभेद अन्त्य गर्ने अचुक उपाय

२०७७ जेठ १८ आइतबार २१:५०:००

रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका– ८ सोती गाउँमा भर्खरै एउटा जघन्य अपराधजनक घटना भयो । जेठ १० गते जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक आफ्ना १९ जना साथीसहित सोती गाउँमा रहेकी आफ्नी प्रेमिका लिन पुगे । प्रेमिकाले विवाह गरी लैजान बोलाएपछि उनी साथीसहित त्यहाँ गएका थिए । नवराज र मल्ल थरकी केटीबीच केही वर्ष पहिलेदेखि प्रेमसम्बन्ध थियो । उनीहरू विवाहबन्धनमा बाँधिन चाहन्थे । प्रेमजीवनमा उनीहरू एक–अर्काको साथमा सँगै जीवन सुरुवात गर्न चाहन्थे । तर, उनीहरूको सपना अधुरै रह्यो । नवराज कथित दलित भएकै कारण केटी पक्षका परिवार, आफन्त र गाउँले मिलेर नवराज र उनकी प्रेमिकालाई एक हुन दिएनन् । जीवनमा पलाउन लागेका टुसा पालुवा हुन नपाउँदै निमोठिदिए, कथित समाजका जातिवादी ठेकेदारबाट । 
आफ्नी प्रेमिका लिन गएका नवराजसहितको टोलीलाई केटी पक्षका आफन्त र गाउँले मिली आततायी ढंगले कुटपिट गरे । रातको समयमा भर्खरका युवालाई कुटीकुटी लखेटे । लाठी र ढुंगामुढा प्रहार गरे । उनीहरूले गरेको अमानवीय व्यवहार र अन्धाधुन्ध कुटाइबाट नवराजसहित उनका साथीहरू टीकाराम सुनार र गणेश बुढामगरको मृत्यु भयो । अरू तीनजना बेपत्ता छन्, मरेको–बाँचेको अत्तोपत्तो छैन । सँगै गएका अरू केटाहरू गाउँलेको कुटाइबाट घाइते छन् । पाँचजना आफ्नो ज्यानको बाजी लगाएर भेरी नदी तरेर भागेका थिए । सुन्दा पनि कहालीलाग्दो, बर्बर अमानवीय घटना हो, यो । 


दलित भएकै कारण नवराजले आफ्नी प्रेमिका त पाएनन् नै, कलिलो उमरमै ज्यान गुमाउनुप¥यो । केटा र केटीले आफ्नो स्वेच्छाले गर्न पाउने विवाहमा जातीय पर्खाल खडा भएपछि आपराधिक मानसिकता बोकेका आततायीहरू ज्यानै लिनसमेत पछि परेनन् । यो एक मानवका लागि निकृष्ट तथा निन्दनीय घटना हो । यतिवेला यो घटनाले देश तातेको छ । सडक र सदन तातेको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यम तातेको छ । मानवअधिकारकर्मी तातेका छन् । २१औँ शताब्दीमा पनि यस्तो जघन्य अपराध ? दोषीलाई हदैसम्मको कारबाही गरिनुपर्ने माग उठेको छ ।


दलित समुदायमाथि हुने गरेको यो पहिलो अत्याचार होइन । केही दिन पहिले रूपन्देही देवदहकी १३ वर्षीया एक दलित बालिका अंघिरा पासी स्थानीय २५ वर्षका वीरेन्द्र भरबाट बलात्कृत भइन् । परिवारले थाहा पाएपछि गाउँले बसेर वडाध्यक्षको नेतृत्वमा घटना मिलाउने प्रयास भयो । छलफलमा वडाध्यक्षले केटीलाई बलात्कार गर्ने केटाले नै विवाह गरी लैजाने गरी सहमति गराए । १३ वर्षीया केटीको विवाह २५ वर्षका केटासँग भयो । कानुनले त २० वर्ष नपुगी विवाह गर्न हँुदैन भनेको छ, तर समाजले अनुमति दियो । जब केटाले केटीलाई घरमा लगे, केटाका आमा र परिवारका सदस्यले उल्टै हप्काए, दलित केटीलाई विवाह गरी ल्याउने ? ती अबोध बालिकामाथि पनि जाइलागे । कुटपिटसमेत गरे । ती बालिका घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा भेटिइन् । उनको हत्या हो या आत्महत्या, छानबिन होला । तर, यो पनि अन्तरजातीय विवाहकै कारण भएको घटना थियो । 

दलितमाथि देशका विभिन्न भागमा विभिन्न नाममा सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक तथा शैक्षिक विभेद कायमै छन् 


करिब पाँच वर्ष पहिले कथित उपल्लो जातकी केटीसँग प्रेम गरेकै कारण काभ्रेका अजित मिजारको हत्या भयो । उनलाई धादिङमा लगेर केटी पक्षका आफन्तले हत्या गरी फालिदिए । उनको लास अहिलेसम्म पनि काठमाडौंस्थित शिक्षण अस्पतालमा छ । राज्यले दोषिमाथि कारबाही नगरेका कारण परिवार र आफन्तजन चिन्तित छन् । अन्तरजातीय विवाहकै कारण पछिल्ला केही वर्षयता मात्रै दर्जनौँ घटना भएका छन् । 


केही साताअघि सुन्दर नगरी पोखरामा अर्काे विरूप र दुःखद घटना भयो । पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा दलित परिवारलाई गैरदलित समुदायले सार्वजनिक किरियाघरमा विभेद गरे । सरकारी खर्चमा बनाइएको किरियाघरमा दलितलाई किरिया गर्न दिइएन र उल्टै केही दलित परिवारलाई त्यहाँका स्थानीयले घटना बाहिर ल्याए मार्नेसम्मको धम्की दिए । त्यस्तो घटनामा संलग्नलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षण प्राप्त भयो र त्यहाँका प्रदेश सांसदसमेत रहेका नेकपाका जिल्ला अध्यक्ष कृष्णबहादुर थापाले विज्ञप्ति प्रकाशन गर्दै आफ्नो निकृष्ट व्यवहार देखाए । जुन घटनाको सर्वत्र विरोध सेलाएको छैन । 


केही समय पहिले बाग्लुङका जसिन्द्र श्रीपालीले एउटा अनलाइनमा लेखे, उनको गाउँमा मृत्युपछिको संस्कार गर्ने क्रममा पनि चरम जातीय विभेद छ । बाग्लुङ तमानखोला गाउँपालिका वडा नं. ४ ताम्लेका उनले आफ्ना हजुरबुबाको मृत्यु हुँदा गरिएको दाहसंस्कारको भोगाइ आफूलाई नमिठो लागेको अनुभूति पोखे । मानिसको मृत्युपछि गरिने दाहसंस्कारमा समेत चरम विभेद छ, खोलावारि दलितको घाट छ, खोलापारि अरू जातिको । अब अहिलेको अवस्थामा पनि सार्वजनिक खोलामा गरिने दाहसंस्कारमा समेत दलित समुदायलाई भेदभाव गरिन्छ । 


ओखलढुंगा सिद्धिचरण नगरपालिका–१२, भडारे गाउँमा पनि दलितमाथि गरिने विभेदको अनौठो नमुना छ । गाउँमा कसैको मृत्यु भएमा शव जलाउने घाट र खोलासम्म शव लैजाने बाटो अलग–अलग छ । गाउँमा एकातर्फ दलित र अर्कातर्फ गैरदलित समुदायको बसोवास छ । तर, गाउँबाट खोलासम्म पुग्ने दुईवटा बाटा छन् । एउटामा दलित हिँड्ने र अर्काेमा गैरदलित । उनीहरू एक–अर्काको मलामी जाँदैनन् । खोलामा शव जलाउने ठाउँ पनि करिब दुई सय मिटरको दूरीमा फरक–फरक स्थानमा छ । माथि गैरदलितको तल दलितको । यहाँ वर्षांैदेखि दलितमाथि सामाजिक विभेद भइरहेको छ । २१औँ शताब्दीको मानव सभ्यतालाई नै उपहास गर्ने, राज्यको कानुनलाई ठाडै चुनौती दिने, दलित समुदायलाई उत्तेजित बनाई पटक–पटक भइरहेको साम्प्रदायिक हिंसा भड्काउने घटना निन्दनीय छन् । यो मानवीय व्यवहार होइन र हुन सक्दैन । दलितमाथि नेपालका विभिन्न ठाउ“मा, विभिन्न नाममा सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक विभेद कायमै छन् । जुन एक सामाजिक अन्याय र अपराध हो । 


भारतका चर्चित नेता तथा संविधान निर्माता डा. भीमराव अम्बेडकरले भनेका छन्, यदि तिमी यस व्यवस्थालाई तोड्न चाहन्छौ भने यो कुरा सधैँ याद राख कि यो व्यवस्था तोड्नका लागि वेद तथा धर्मशास्त्रलाई बारुदले उडाइदेऊ, वेद तथा धर्मशास्त्रमा आधारित धर्मलाई नष्ट गर्नैपर्छ । अन्य कुनै विकल्प छैन । अम्बेडकर आफैँले हिन्दू धर्म छाडी बौद्ध धर्म अनुसरण गरेका थिए भनिन्छ । यसले प्रस्ट हुन्छ कि विभेदको रूप चरम अवस्थामा हिजोदेखि नै छ । 


नेपालमा इसाई, इस्लाम, बौद्ध, क्रिस्चियनलगायत धर्म मान्नेको संख्या अहिले बढ्दै गइरहेको छ । ती धर्ममा जातिअनुसार विभेद छैन । मानव–मानवबीच भेदभाव छैन । एक खालको सामाजिक अन्तरघुलन छ । ती धर्मको शास्त्रमा न जात छ, न त जातीय विभेद नै । मानिसलाई मानिसले सम्मान गर्न नसक्ने धर्म पनि केको धर्म ? धर्म त सहिष्णु हुनुपर्ने थियो । सदाचारी हुनुपर्ने थियो । परोपकारी हुनुपर्ने थियो । तर, यो त चरम विभेदको रूपमा खडा भइदिएको छ । सहधर्मीलाई दलित भनी विभेद गर्न उत्प्रेरित गरिरहेको छ । यो कहाँको न्याय हो ? के धर्ममा न्याय भन्ने हुँदैन र ? 


नेपाल २१ जेठ ०६४ देखि कानुनी रूपमा जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा भएको छ । १० जेठ ०६८ मा संसद्ले जातीय भेदभाव तथा छुवाछूत कसुर सजाय र ऐन पास गरेको छ । तर, अचम्म के भने दुई वर्ष पहिले रुकुम (पश्चिम)का सबै स्थानीय तहलाई जातीय छुवाछूतमुक्त तथा सामाजिक सद्भावयुक्त नगर घोषणा गरिएको थियो । पछिल्ला नौ वर्षमा १७ जना दलितले दलित भएकै कारण ज्यान गुमाउनुपरेको छ । कोही अन्तरजातीय प्रेमविवाह गरेको कारण, कोही पानी छोएका कारण यस्तो घटना भएका हुन् । 

जातीय विभेदको अन्त्य सामाजिक अन्तरघुलन नै हो । त्यसका लागि व्यापक मात्रामा अन्तरजातीय विवाह हुनुपर्छ र राज्यले नै त्यसको संरक्षण गर्नुपर्छ ।


हाम्रो संविधान र विभिन्न ऐनकानुनले जातका आधारमा विभेद गरे कसुरअनुसार सजायको व्यवस्था गरेको छ । कतिपय ठाउँमा यस्ता घटनाका दोषीमाथि कारबाही पनि भइरहेको छ । तैपनि, किन यस्ता घटना बारम्बार बढ्दै गइरहेका छन् ? हाम्रो कानुन, घोषणापत्र तथा प्रतिबद्धता कति प्रभावकारी छन्, कति कार्यान्वयनमा आएका छन् ? यी सबै देखाउने दाँत मात्र हुन् । समाजभित्र रहेका कथित हिन्दूवादी विभेद कायमै छन् । 


के एउटा कानुनी राज्यमा सबैले आफ्नो स्वतन्त्रतापूर्वक बाँच्न पाउनु उसको नैतिक अधिकार होइन ? आफूलाई मन परेको मान्छेसँग विवाह गरी जीवनसाथी रोज्न पाउनु हरेक नेपालीको नैसर्गिक अधिकार होइन ? सार्वजनिक स्थलको उपयोग गर्न पाउने हरेक मानिसको अधिकार होइन ? अनि अन्तरजातीय विवाहकै कारण कोहीले अकालमै मर्नुपर्ने किन ? यस विषयमा गम्भीर समीक्षा जरुरी छ ।
नेपाली समाजभित्र भइरहेका यस्ता घटनामा सबै बोल्नुपर्छ । पत्रकार, नागरिक समाज, राज्यका निकाय, बुद्धिजीवी, राजनीतिज्ञ, अधिकारकर्मी सबैको ऐक्यबद्धता आवश्यक छ । 


मलाई कहिलेकाहीँ अनुभूत हुने गर्छ, हाम्रो समाजमा जातीय विभेदको चरम रूप अझै छ । कतिपय म आफैँले पनि अनुभूत गरेको विषय हो, यो । मेरा साथीबाट, सामाजिक क्षेत्रमा नेतृत्व गर्नेहरूबाट पनि बोली र व्यवहारमा कैयौँपटक फरक महसुस गरेको छु । पढेलेखेका शिक्षित व्यक्तिबाट हामी जति आशा राख्छौँ, यस मामलामा त्यस्तो साथ पाइँदैन । उनीहरू परिवर्तन चाहन्छन्, तर आफू गर्न तयार छैनन्, अरूबाट पहिला होस् भन्ने चाहन्छन् । आफू सुरुवात नगर्ने अनि अरूबाट होस् भन्ने आशा राख्ने हो भने हेक्का राख्नुस्, परिवर्तन कहिल्यै हुनेछैन । परिवर्तनको सांसारिक नियम हो, आफू जे देख्न चाहन्छौँ, त्यसको सुरुवात आफैँबाट गर्नुपर्छ । अरूबाट होस् भन्ने चाहना राख्नु परिवर्तन नहोस् भन्नु नै हो । जातीय समस्या एउटा मानसिक समस्या हो । जबसम्म मानिसले यो मानसिक समस्या हल गर्दैनन्, तबसम्म यो समस्या हट्ने होइन, बढ्नेछ । हामी सबैलाई थाहा छ, संसारमा दुई जात छन्, ती हुन्, महिला र पुरुष । अनि किन मानिस–मानिसबीच अनेक जातीय खाडल ? यो विषयमा आमबहस हुनु जरुरी छ । यो विषयमा सबै बोलौँ । 


अहिलेको शिक्षा, चेनता र प्रविधिको युगमा समेत मानिसमाथि मानिसले गर्ने व्यवहार फरक हुनु सुहाउँदो विषय हो र ? जातकै आधारमा गरिने व्यवहार, बोलीचालीमा अब फरक ल्याउनका लागि शिक्षित व्यक्तिले आ–आफ्नो परिवार र समुदायलाई बुझाउन सक्नुपर्छ । र, जातीय विभेदको अन्त्य सामाजिक अन्तरघुलन नै हो । त्यसका लागि व्यापक मात्रामा अन्तरजातीय विवाह हुनुुपर्छ र राज्यले नै त्यसको संरक्षण गर्नुपर्छ । आफ्नो इच्छाले विवाह गर्न चाहने केटाकेटीलाई सो परिवारका अविभावकले रोक्ने होइन, खुसीसाथ सहमति दिनुपर्छ र परिवारले दिने सहमति समाजले स्विकार्नुपर्छ । यसले बिस्तारै जातीय विभेद अन्त्य गर्दै लान सक्छ र समतामूलक समाज निर्माण हुन सक्छ र समाज नयाँ कोणबाट अघि बढ्न सक्छ । सायद यसैबाट राज्यले परिकल्पना गरेको समाजवादउन्मुख समाज स्थापना हुन मद्दत पुग्छ ।