मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
घनश्याम पाण्डे
२०७७ जेठ १८ आइतबार २०:२४:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

भुइँतहको हरित लोकतन्त्र

सन्दर्भ : सामुदायिक वनको २५ वर्ष

Read Time : > 3 मिनेट
घनश्याम पाण्डे
२०७७ जेठ १८ आइतबार २०:२४:००

आज विश्वभरका मानवजातिलाई कोरोना भाइरसको आक्रमणले संकटग्रस्त बनाएको छ । विश्वका महाशक्ति राष्ट्रहरूलाई समेत यस महामारीबाट पार पाउन हम्मेहम्मे परिरहेको छ । आखिर किन आयो त यस्तो विश्वव्यापी संकट भन्ने अहिलेको अहं प्रश्न हो । विश्वव्यापी रूपमा बढिरहेको वातावरणीय विनाश, जैविक विविधताको विनाश, वनजंगल र प्राकृतिक प्रणालीमा मानवजातिकै क्रियाकलापले जलवायु परिवर्तनजस्तो गम्भीर समस्या विश्वव्यापी रूपमा रहेको छ । र, यही विश्वव्यापी जलवायु संकट नै विश्वव्यापी कोरोना महामारीको एक अंग हो । 

जसको आन्तरिक शरीरमा रोग प्रतिरोधी क्षमता कम छ, त्यस्ता व्यक्तिलाई कोभिड–१९ ले आक्रमण गर्ने र मृत्युशय्यासम्म पुर्‍याउने गरेको छ । जीवनशैली, खानपान, प्राकृतिक वातावरण र मानसिक सोचले पनि मानिसको शरीरभित्र प्रतिरोधी क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सायद यसबारे आउँदा दिनमा व्यापक खोज, अध्ययन, अनुसन्धान होला, बहस र विमर्श पक्कै पनि हुने नै छ । एउटा सत्य के हो भने कोरोनाले भुइँतहमा भन्दा उपल्लो तहमा र गाउँमा भन्दा सहरमा पक्कै पनि बढी नकारात्मक असर पुर्‍याएको छ । 

सहरबजारमा भन्दा गाउँघरमा आज गतिविधि चलायमान छ । भुइँतह अर्थात् गाउँघरमा किन कोभिड–१९ को प्रभाव कम रह्यो त ? यस विषयमा खोज, अनुसन्धान आवश्यक छ । तर, एउटा सत्य के हो भने सहरबजारका तुलनामा गाउँघरको प्राकृतिक वातावरण शुद्ध र सफा छ । हरियो वन, जंगल र जैविक विविधता राम्रो छ । भुइँतहमा जनता चलायमान र गतिशील भई नै रहेका छन् । त्यसैले नेपालको सन्दर्भमा भुइँतहमा हरित लोकतन्त्र क्रियाशील रहिरहेको छ । सायद यही भएर नै होला अन्य देशमा जस्तो नेपालमा कोरोना भाइरसको आन्तरिक प्रसार निकै कम छ । 

भुइँतहको हरित लोकतन्त्रको सुदृढ र विकास गर्ने श्रेय सामुदायिक वन उपभोक्ता महासंघलाई नै जान्छ । कोरोना भाइरसले निम्त्याएको संकट र लकडाउनबीच सामुदायिक वन उपभोक्ता महासंघको स्थापना भएको २५ वर्ष पूरा हुँदै छ । २५ वर्षको बलियो र गौरवपूर्ण इतिहास कायम गरेकोमा सामुदायिक वन उपभोक्ता महासंघलाई शुभकामना छ । अहिलेको संकटले महासंघले आफ्नो रजतजयन्ती भव्यतापूर्वक मनाउन नपाए पनि आउँदा दिनमा यसको २५ वर्षको यात्राको गम्भीर समीक्षा गरी आगामी दिनको महायात्रा तय गर्ने नै छ । 

कोरोनाले भुइँतहमा भन्दा उपल्लो तहमा र गाउँमा भन्दा सहरमा बढी नकारात्मक असर पुर्‍याएको छ

१८ जेठ ०५२ मा विधिवत् रूपमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालको स्थापना भएयता नेपालमा व्यापक रूपमा राजनीतिक, सामाजिक, आर्थिक, वनजंगलको संरक्षण र भुइँतहको लोकतन्त्रमा व्यापक सकारात्मक परिवर्तन आएको छ । यी सबै परिवर्तनमा सामुदायिक वन उपभोक्ता महासंघको संलग्नता, सहभागिता र भूमिका रहिआएको छ । 

मलाई सम्झना छ, त्यतिवेला उपल्लो (माथिल्लो) तहमा रहेका कतिपय कर्मचारी र अन्य व्यक्तिले गाउँतह अर्थात् भुइँतहमा रहेका व्यक्तिलाई मानिसको रूपमा गणना गर्दैनथे । उनीहरूले गाउँले, दाउरे, वनमान्छे भनी हेयभावले विभेद गर्ने गर्थे । तर, आज यो परिवेश र सोचमा व्यापक रूपमा परिवर्तन आएको छ । सामुदायिक वन उपभोक्ता महासंघले गाउँदेखि विश्व तहसम्ममा महत्वपूर्ण भूमिका निभाएको छ । भुइँमान्छे नागरिक भएका मात्र छैनन्, उनीहरूले असल नेतृत्वको विकाससमेत गरी नीति–निर्माण तहमा प्रतिनिधित्व गरेका छन् । समावेशी विकासमा महत्वपूर्ण भूमिका निभाएका छन् । 

सामुदायिक वन उपभोक्ता महासंघ नेपालकै नेतृत्वका कारण देशभर २३ हजारभन्दा धेरै सामुदायिक वन उपभोक्ता समूह गठन भई क्रियाशील छन् । यी समूहले विनाश हुँदै गरेको वनजंगल संरक्षण मात्र गरेका छैनन्, भुइँतहमा लोकतन्त्रको अभ्यास गर्दै संघीयता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ गरिरहेका छन् । 

आजभन्दा पाँच दशकअगाडि नेपालमा वन संरक्षणको जिम्मेवारी सरकारी कर्मचारीको जिम्मामा थियो । वास्तवमा त्यतिवेला वन संरक्षणका नाममा सर्वसाधारणलाई गोली ठोक्नेसम्मको अधिकार सरकारी कर्मचारीमा थियो । गाउँलेमाथि निरंकुशता लादिएको थियो । त्यतिवेलादेखि स्थानीय समुदायलाई वन संरक्षणको जिम्मेवारी नसुम्पिँदासम्म नेपालमा सबैभन्दा धेरै वनविनाश भएको थियो ।

निरंकुशताले मानिसलाई मात्र होइन, वनलाई समेत असर गरेको थियो । त्यसैले लोकतन्त्र नागरिकलाई मात्र होइन, वनजंगललाई पनि आवश्यक छ भन्ने प्रमाणित भएको छ । 

सामुदायिक वन उपभोक्ता समूहले विनाश हुँदै गरेको वनजंगल संरक्षण मात्र गरेका छैनन्, भुइँतहमा लोकतन्त्रको अभ्यास गर्दै संघीयता, लोकतन्त्र र गणतन्त्रलाई पनि सुदृढ गरिरहेका छन् 

यही भएर नै ०६२/६३ मा सामुदायिक वन उपभोक्ता महासंघले जनआन्दोलनमा सामुदायिक वन उपभोक्ता समूहका लाखौँ जनतालाई परिचालन गरेको थियो । सायद भुइँमान्छे यसरी जनआन्दोलनमा सहभागी नभएको भए लोकतन्त्रको जग गाउँगाउँसम्म पुग्ने थिएन होला । महासंघले २०५२ सालदेखि लिएको समावेशीकरणको नीति र अभ्यास राज्य र सबैका लागि अनुकरणीय भएको छ । 

गाउँतहदेखि सिंहदरबारसम्ममा जनजीविका र वनको संरक्षण तथा संवद्र्धनका लागि जसरी निरन्तर रूपमा महासंघले पहल गरिरहेको छ । यसले लोकतन्त्रलाई गतिशील र चलायमान बनाएको छ । भुइँतहदेखि विश्व तहसम्ममा नेतृत्व जन्माएको छ । विशेषगरी भुइँतहमा हरित लोकतन्त्र सृदृढ भएको छ । 

अहिले कोरोनाले पारेको संकटमा पनि महासंघको नेतृत्वमा सामुदायिक वन उपभोक्ता समूहहरूले महत्वपूर्ण भूमिका निभाई नै रहेका छन् । गाउँघरमा सामुदायिक वन उपभोक्ता समूहले कोरोना संक्रमण समुदाय तहमा नफैलियोस् भनेर आफ्ना सामुदायिक वन भवन क्वारेन्टाइनका लागि उपलब्ध गराएका छन् । बन्दाबन्दीले रोजीरोटी गुमाएकालाई खाद्यान्न राहत उपलब्ध गराएका छन् भने स्थानीय स्वास्थ्य सामग्री पनि उपलब्ध गराएका छन् । स्थानीयस्तरमा वन संरक्षण, संवद्र्धन र जनजीविकामा सुधारदेखि स्थानीयस्तरमा हरित लोकतन्त्र सृदृढ गर्नेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा वन अधिकार, जैविक विविधता संरक्षणका लागि स्थानीय समुदायको अग्रणी भूमिका खोज्ने काममा महासंघ निरन्तर क्रियाशील छ । 

सामुदायिक वन उपभोक्ता महासंघले स्थापनाको २५ वर्षमा जसरी भुइँतहको हरित लोकतन्त्र स्थापना र सुदृढ गर्नमा महत्वपूर्ण भूमिका निभाएको छ, त्यसैगरी आउँदा दिनमा पनि भुइँतहमा हरित लोकतन्त्रलाई सबलीकरण गर्दै हरित अर्थतन्त्र विकासमा महत्वपूर्ण भूमिका र नेतृत्व गर्नुुपर्छ । महासंघको स्थापनासँगै सामुदायिक वन र हरियाली बढेको छ । अब हामीले वनजंगलको दिगो व्यवस्थापन गरी वन पैदावारमा आधारित हरित वन उद्यम विकास गर्नुपर्छ । रोजगारी गुमाई सहर र विदेशबाट गाउँका सामुदायिक वनमा फर्केकालाई दिगो वन व्यवस्थानमा आधारित हरित रोजगारी सिर्जना गरी दिगो हरित अर्थतन्त्रको भुइँतहमा विकास गर्न महासंघले योजना बनाई कार्य गर्नुपर्छ । 

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले जसरी भुइँतहमा हरित लोकतन्त्रलाई बढाएको छ । त्यसैगरी महासंघले आउँदा २५ वर्षमा भुइँतहमा दिगो हरित अर्थतन्त्र विकास गरी आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र विकासमा योगदान गर्नुपर्छ । फेरि पनि भुइँतहको हरित लोकतन्त्र सुदृढीकरण, हरित अर्थतन्त्रको विकास र हरित रोजगारी सिर्जनामा सफलता मिलोस्, शुभकामना !