मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ जेठ १८ आइतबार १६:०५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

कर्णालीमा एक हप्तामै एक सय २३ संक्रमित

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ जेठ १८ आइतबार १६:०५:००

गत सोमबार पहिलो कोरोना संक्रमित पुष्टि भएको कर्णालीमा एक साताको अवधिभित्रै संक्रमितको संख्या एक सय २३ पुगेको छ ।

भारतबाट आएर दैलेखेको आठबिस नगरपालिकाको क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवामा गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी नै कर्णालीका पहिलो संक्रमित थिए । तर, आज आइतबार अपराह्नसम्ममा कोरोना संक्रमितको संख्या एक सय २३ पुगिसकेको छ । 

भारतमा गत साता रेलसेवा सुरु भएपछि कर्णालीमा पनि भारतबाट आउनेको संख्या ह्वात्तै वृद्धि भएको छ । जसका कारणले अहिले कर्णालीमा संक्रमितको संख्या पनि तीव्र गतिमा बढिरहेको छ ।

कर्णालीका १० जिल्लामध्ये अहिले दैलेख, सुर्खेत, सल्यान, कालिकोट र मुगुमा कोरोना संक्रमित फेला परेको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी जानकारी दिए । कर्णालीमा अहिलेसम्म कालिकोटका १८, सल्यानका २५, सुर्खेतका ३०, दैलेखका ४८, बाजुरा, मुगु र बझाङका एक–एकजनामा संक्रमण फेला गरेको छ ।

कर्णालीमा कोरोना संक्रमण पुष्टि भएकाहरू सबै भारतबाट आएकाहरू हुन् । उनीहरू सबै क्वारेन्टाइनमा रहेकाले संक्रमण समुदायमा नफैलिएको डा. तिवारीले बताए । ‘समुदायमा फैलिन नदिन हामी सचेत छौँ,’ उनले भने, ‘अहिलेसम्मका संक्रमित सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रहेका छन् ।’

कर्णालीमा दैनिक हजारभन्दा बढी मानिस भारतबाट आउने गरेका छन् । त्यसैले अहिले भारतबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्न पनि समस्या भएको छ । कर्णाली प्रदेश सरकारका अनुसार कर्णाली प्रदेशका करिब ८० हजार नागरिक भारतमा रहेको र त्यसमध्ये कम्तीमा पनि ३० हजार नागरिक फर्कने अनुमान गरिएको छ ।

कर्णालीमा अहिलेसम्म कोरोनाका कारण दैलेखको दुल्लु नगरपालिका–७ को क्वारेन्टाइनमा शनिबार बिहान एक युवकको मृत्यु भएको छ । उनको शव शनिबार राति नै नेपाली सेनाको सहयोगमा खाल्डो खनेर गाडिएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम खड्काले जानकारी दिए ।