१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन गुरुङ संखुवासभा
२०७७ जेठ १८ आइतबार १५:४६:००
Read Time : > 1 मिनेट
समाचार

सडकको ट्रयाक खोल्ने विषयमा गाउँपालिका र वडा कार्यालयबीच विवाद

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७७ जेठ १८ आइतबार १५:४६:००

संखुवासभाको उत्तरी मकालु गाउँपालिकामा सडकको ट्रयाक खाेल्ने विषयमा गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीच मतभेद देखिएको छ । 

गाउँपालिकाको केन्द्र नुम बजारदेखि सेदुवा जाने सडकको ट्रयाक खाेल्ने विषयमा गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेल र वडा नं. २ का अध्यक्ष टेकबहादुर जिमीबीच मतभेद देखिएको हो । ७५ लाख रुपैयाँ बजेट रहेको उक्त सडकको ट्रयाक खाेल्दा मुख्य बस्ती छलिएको वडाध्यक्ष जिमीको भनाइ छ भने गाउँपालिका अध्यक्ष पोख्रेलले डिपिआरअनुसारै काम भइरहेको बताएका छन् ।

गाउँपालिकाको केन्द्र नुम बजारस्थित कटवाल डाँडा जिरो प्वाइन्टदेखि अरुण नदी हुँदै वडा नं. २ को वडा कार्यालय रहेको सेदुवा बजारसम्म लैजाने सडकको ट्रयाक खाेल्ने विषयमा विवाद देखिएको स्थानीय कैलाश विष्टले बताए । कटवाल डाँडा जिरो प्वाइन्टबाट अरुण नदी हुँदै लुम्लुमासम्ममा कुनै विवाद छैन । तर, लुम्लुमादेखि उता भने विवाद छ ।

सिक्देल, मुर्मुरेडाँडा हुँदै सडक विस्तार गरिनुपर्ने वडाध्यक्ष जिमीले बताए । तर, अहिले लुम्लुमाबाट थरीगाउँ हुँदै मूलगाउँतर्फ सडकको ट्रयाक खाेल्ने काम भइरहेको छ । वडा नं. २ का वडासदस्य निलम विष्टले अहिले ट्रयाक ओपन भइरहेको स्थानबाट सडक लैजाँदा दुई गाउँका जनता मात्र लाभान्वित हुने, तर सिक्देल, मुर्मुरेडाँडा हुँदै लाँदा ११ वटा टोल लाभान्वित हुने बताइन् ।

स्थानीयले कार्यपालिका सदस्य रामबहादुर राईको व्यक्तिगत स्वार्थका कारण सडक मूलगाउँतर्फ खनिएको आरोप लगाएका छन् । तर, कार्यपालिका सदस्य राईले भने डिपिआरअनुसारै सडकको ट्रयाक ओपन गर्ने काम भइरहेको बताए । वडा कार्यालयको असहमति हुँदाहुँदै गाउँपालिकाले पेलेरै डिपिआर तयार पारेको र सडकको ट्रयाक ओपन गर्ने काम गरिरहेको वडाध्यक्ष जिमीको दाबी छ ।

ट्रयाक ओपन गर्दा बस्ती, भूगोल सबै हेरेर सोहीअनुसार काम भइरहेको गाउँपालिका अध्यक्ष पोख्रेलको दाबी छ । ‘अगाडि के–के भएको थियो, थाहा भएन,’ उनले भने, ‘तर, गत मंसिरमा म निर्वाचित भएर आएपछि डिपिआरअनुसार नै काम भइरहेको छ ।’ उनले सडक विस्तारमा विवाद नगर्न आग्रह गर्दै सडक नपुगेको ठाउँमा आगामी वर्ष बजेट व्यवस्थापन गरिने बताए ।