मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रेम लामिछाने
२०७७ जेठ १८ आइतबार १५:१८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

कोभिड–१९ र अबको शिक्षा

Read Time : > 4 मिनेट
प्रेम लामिछाने
२०७७ जेठ १८ आइतबार १५:१८:००

यतिवेला विश्व लकडाउनमा छ । एसिया, युरोप, मध्यपूर्व हुँदै संयुक्त राज्य अमेरिकामा क्रमशः तीव्र रूपमा कोरोना भाइरस फैलियो । यससँगै संसारका धेरै देश यसलाई बुझ्न र यसको फैलावट कम गर्नमा केन्द्रित छन् । यसबीच यसको प्रमुख असर परेको शिक्षालाई भने बेवास्ता गरिएको महसुस हुँदै छ ।

युनेस्कोको तथ्यांकअनुसार मार्च महिनासम्म एक सयओटा देशका १ अर्ब ६० करोड ७७ लाख ७० हजार विद्यार्थी स्कुल तथा विश्वविद्यालयको शिक्षाबाट वञ्चित छन् । ८५ देशका सरकारले देशभर स्कुल बन्द गरेका छन् । तीमध्ये ६७ करोड विद्यार्थी १८ वर्षभन्दा कम उमेरका छन् । यो संख्या बढेर जान सक्ने आकलन गरिएको छ । यसले शिक्षा क्षेत्रमा कस्तो अवसर या चुनौतीको सामना गर्ला ? निश्चय नै यसले शिक्षा प्रणालीमा नवीनता र डिजिटलीकरणको मार्ग प्रशस्त गर्न सक्ने भने संकेत देखिएको छ । विभिन्न राष्ट्रले डिजिटल माध्यमद्वारा दूरी–शिक्षा सुरु गरेका छन् । यद्यपि, हाम्रो जस्तो विकासशील देशका सीमान्तकृत, विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाका निम्ति भने डिजिटल शिक्षा प्रणाली ठूलो चुनौती हुनेछ ।

युनेस्कोको तथ्यांकअनुसार मार्च महिनासम्म एक सयओटा देशका १ अर्ब ६० करोड ७७ लाख ७० हजार विद्यार्थी स्कुल तथा विश्वविद्यालयको शिक्षाबाट वञ्चित छन्

हुन त अहिलेको कोभिड–१९ महामारीअघि पनि संसारका २५ करोड बालबालिका गरिबी, कुशासन, आपत्काल वा द्वन्द्व आदिले गर्दा स्कुलबाहिर हुन बाध्य थिए । तसर्थ, यो महामारीले संसारले पहिले नै गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि गरिरहेको संघर्षलाई अझ जटिल बनाएको छ । 

आजका दिनमा कोभिड–१९ को महामारीमा शिक्षा कसरी सुचारु गर्न सकिन्छ भन्ने गहन प्रश्न सोझिएको छ । सन् २०१४ मा पश्चिमी अफ्रिकाले बेहोरेको घातक इबोला प्रकोपपश्चात् ‘ग्लोबल बिजनेस कोलिसन फर एजुकेसन’ले यस्ता आपत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै विद्यालय पुनः सुरक्षित खोल्न र स्वस्थ समुदायलाई शिक्षाको टेवा पु¥याउन सकिने तीन उपाय पेस गरेको थियो । ती सुझाब जुनसुकै सार्वजनिक स्वास्थ्य संकट वा कोभिड–१९ जस्ता महामारीमा लागू गर्न सकिन्छ ।

आपत्कालीन शिक्षा प्रावधान सुनिश्चित गर्ने
सार्वजनिक स्वास्थ्य आपत्कालका कारण स्कुल बन्द हुँदैमा शिक्षण र सिकाइ रोक्नुपर्दैन । यसलाई अवसरका रूपमा लिएर नवीन दृष्टिकोणको प्रयोग गरेर शिक्षा वा सिकाइ जारी राख्न सकिन्छ । रेडियो, टेलिभिजन, सेलफोन तथा इन्टरनेटमा आधारित सिकाइका विकल्प प्रस्तुत गर्न सकिन्छ । यसको उदाहरण हामीले काठमाडौं सहरका केही शिक्षण संस्थाले सुरु गरेको देखेका छौँ । युनेस्कोले भर्खरै अनलाइन शिक्षाका लागि कार्यक्रमको सूची प्रकाशित ग¥यो, जुन धेरैजसो स्कुलका लागि उपयोगी हुन सक्छ । यदि दूरी–शिक्षा लामो अवधि हो भने शिक्षाको भाषा, सामग्री प्रगति र विद्यार्थीका लागि प्रासंगिकताको भाषामा राख्न सकिन्छ । स्कुल बन्द हुँदा शिक्षक र कर्मचारीलाई भुक्तान गर्न जारी राख्नु पनि महत्वपूर्ण हुन्छ । जसले गर्दा संकटको समयमा आर्थिक अस्थिरताका कारण तिनलाई शिक्षण पेसा छाडेर अन्य रोजगार खोज्नुपर्ने बाध्यता आउँदैन ।

सुरक्षित विद्यालय क्रमशः खोल्ने
स्वास्थ्य संकट या महामारीपछि उत्तरदायित्वका साथ स्कुलहरू सकेसम्म छिटो खोल्नका लागि योजना बनाउनुपर्छ । स्कुलहरू पुनः खोलेसँगै उसले सार्वजनिक स्वास्थ्य संकटका बारेमा सही जानकारी र प्रशिक्षण प्रदान गर्न सक्छ । अनलाइन जोखिम बढेर गएको अवस्थामा सही सूचना तथा जानकारी पाउन यसले ठूलो मद्दत गर्छ । त्यस्तै, विद्यार्थीलाई आवश्यक पर्ने कुनै पनि थप शारीरिक वा मानसिक स्वास्थ्य सहयोग प्रदानसमेत गर्न सकिन्छ । महामारीको भयावह स्थितिले गर्दा विद्यार्थीमा तनाव र अन्योलको स्थिति सिर्जना भएको अवस्थामा स्कुलले विशेष भूमिका खेल्न सक्छ । अहिलेको नेपालको अवस्थामा कोभिड–१९ बाट सुरक्षित रहेको काठमाडौंजस्तो ठाउँमा वरिपरिको सीमामा आवतजावत बन्द गरेर स्कुलहरू पुनः सञ्चालन गर्न सकिन्छ ।

हुन त अहिलेको कोभिड–१९ महामारीअघि पनि संसारका २५ करोड बालबालिका गरिबी, कुशासन, आपत्काल वा द्वन्द्व आदिले गर्दा स्कुलबाहिर हुन बाध्य थिए । तसर्थ, यो महामारीले संसारले पहिले नै गुणस्तरीय शिक्षा प्राप्त गर्नका लागि गरिरहेको संघर्षलाई अझ जटिल बनाएको छ ।

सुरक्षित स्कुल र स्वस्थ समुदाय कायम गर्ने 
सार्वजनिक स्वास्थ्य कार्यक्रम लागू गर्न र भविष्यमा आइपर्ने आपत्कालीन आकस्मिक योजनाहरू विकास गर्न पनि विद्यालय सञ्चालनमा आउनु आवश्यक हुन्छ । महामारीले निकै प्रभावित क्षेत्रमा पनि विद्यार्थी चाँडै स्कुल फर्कने अनुमान गरिएको वेला हामीले शिक्षामा यसको प्रभाव नकार्न सकिन्न । शिक्षामा भएको लगानीले आर्थिक र सामाजिक पाटोबाहेक नवीनतम सोच, सीप विकास तथा प्रतिभाहरूलाई प्रोत्साहित गर्छ, जुन अर्को महामारी वा संकटसँग लड्न पनि आवश्यक पर्नेछ । किनकि, आजका बालबच्चा भोलिका डाक्टर, नर्स, महामारी रोग विशेषज्ञ, अन्वेषक र सार्वजनिक स्वास्थ्य विशेषज्ञ हुन् । हामीले आज शिक्षामा लगानी जारी राख्नु आवश्यक छ, ताकि भविष्यमा महामारी र संकटको समाधान गर्न संसार अझ सशक्तसँग तयार हुन सकोस् ।

त्यस्तै, कोभिड–१९ पश्चात् शिक्षालाई पुनः आकार दिई यसको रूपान्तरण गर्न निम्न तीन प्रवृत्ति देखिएका छन्, जसलाई हामी पनि अनुसरण गर्न सक्छौँ :

आश्चर्यजनक आविष्कार
आजको विश्वका शैक्षिक संस्थामा शताब्दियौँ पुराना दृष्टिकोण, संस्थागत पक्षपात र कक्षाकोठाको सीमित शिक्षाले परिवर्तनको गति निकै सुस्त छ । यद्यपि, कोभिड–१९ का कारण विश्वव्यापी शैक्षिक संस्थाहरू तुलनात्मक छोटो अवधिमा नवीन समाधानको खोजी गर्न प्रेरित हुनेछन् ।

भाइरसको फैलावटलाई सुस्त बनाउन हङकङमा फेब्रुअरीबाट घरबाटै सिकाइ सुरु गरे । त्यस्तै, चीनमा १२ करोडले प्रत्यक्ष टेलिभिजन प्रसारणहरूमार्फत शिक्षा सामग्रीमाथि पहुँच प्राप्त गरे । नाइजेरियाको स्कुलले मानक एसिन्क्रोनस अनलाइन शिक्षा उपकरणको अभिवृद्धि गरी विद्यार्थीलाई सहयोग पु¥याए । लेबनानको एउटा स्कुलका विद्यार्थीले शारीरिक शिक्षाजस्ता विषयमा समेत अनलाइन शिक्षाको लाभ उठाउन थाले । विद्यार्थीले ‘होमवर्क’को रूपमा आफ्ना शिक्षकलाई एथलेटिक प्रशिक्षण र खेलहरूको आफ्नै भिडियो सुट गरे र उनीहरूलाई पठाए, जसले विद्यार्थीलाई नयाँ डिजिटल सीप सिक्न जोड दियो । त्यस्तै, फाइभ–जी टेक्नोलोजी चीन, अमेरिका र जापान हुँदै थुप्रै देशमा पुगेर डिजिटल शिक्षाको अवधारणालाई नयाँ शिक्षा मोडेलको साथ पूरक हुँदै छ । हाम्रो देश नेपालका पनि केही शिक्षण संस्थाले उनीहरूबाट सिको गर्न थालेका छन्, जुन राम्रो सुरुवात हो ।

जबसम्म इन्टरनेट पहुँच र त्यसको आवश्यक गुणस्तर सबै देशमा एकनासको हुँदैन, त्यसले शिक्षाको गुणस्तरसँगै सामाजिक–आर्थिक अन्तरलाई अझै फराकिलो पार्दै लानेछ

सार्वजनिक–निजी शैक्षिक साझेदारी
गत केही हप्तामा संसारका विभिन्न सरोकारवालाहरू शिक्षामा अस्थायी समाधानका निम्ति आवाज मुखरित गरिरहेका छन् । मुख्य रूपमा सरकारद्वारा शिक्षा प्रदान गरिएको देशमा यो शिक्षामा भावी सुधार र परिवर्तनको कोसेढुंगा हुन सक्छ । चीनमा शिक्षा मन्त्रालयले शिक्षा क्षेत्र र उद्योग तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वमा नयाँ पद्धतिको अनलाइन शिक्षा र प्रसारण मञ्च विकास गर्न तथा शिक्षा पूर्वाधारको सुधार तथा परिमार्जनका लागि एउटा समिति निर्माण गरिसकेको छ । त्यस्तै, हङकङमा रिड टुगेदर फोरम ६० भन्दा बढी शैक्षिक संगठन, प्रकाशक, मिडिया, मनोरञ्जन उद्योग, पुस्तक अध्याय, मूल्यांकन उपकरणसहित नौ सयभन्दा बढी शैक्षिक सामग्री वितरण तथा परामर्श केन्द्रहरूले निःशुल्क सेवा उपलब्ध गराएका छन् । तसर्थ, महामारीले शैक्षिक क्षेत्रमा व्यापक परिवर्तनको मार्ग प्रशस्त गर्न सक्ने देखिएको छ ।

फराकिलो डिजिटल विभाजन
कोभिड–१९ ले प्रभावित धेरै क्षेत्रका स्कुलले शिक्षण जारी राख्न केही समाधानका उपाय फेला पारेका छन् । यद्यपि, सिकाइको गुणस्तर भने डिजिटल पहुँचको स्तर र गुणमा निर्भर रहन्छ । विश्व जनसंख्याको करिब ६० प्रतिशत मानिससँग मात्रै इन्टरनेट सुविधा छ । जबकि, हङकङमा व्यक्तिगत ट्याब्लेटमा भर्चुअल कक्षा सामान्य हुन सक्छ, तर हाम्रो जस्तो कम विकसित अर्थतन्त्र भएको मुलुकमा धेरै विद्यार्थीको पठनपाठन ह्वाट्सएप वा इमेलमार्फत गर्न–गराउन सकिन्छ ।

यसबाहेक कम सम्पन्न र डिजिटल जानकारी नराख्ने देश र त्यहाँका विद्यार्थी स्वतः पछाडि पर्छन् । जबसम्म इन्टरनेट पहुँच र त्यसको आवश्यक गुणस्तर सबै देशमा एकनासको हुँदैन, त्यसले शिक्षाको गुणस्तरसँगै सामाजिक–आर्थिक अन्तरलाई अझै फराकिलो पार्दै लानेछ । यदि शैक्षिक पहुँच नवीनतम टेक्नोलोजीहरूको पहुँचद्वारा निर्धारित गरियो भने डिजिटल विभाजन अधिक हुन सक्छ ।

कोभिड–१९को महामारीले विभिन्न प्रकारका संकटको सामना गर्न कसरी मानव जगत् लचिलो बन्न सक्नुपर्छ भनेर सिकाएको छ । प्रतिकूलतालाई अनुकूलता ढाल्न सिकाउँदै छ । यस अर्थमा महामारी एउटा पाठ सिक्ने अवसर पनि हो । यसले विद्यार्थीलाई पनि अप्रत्याशित परिवेशमा चाहिने सीपहरू, जस्तै– सूचित निर्णय लिने, रचनात्मक समस्या समाधान गर्ने तथा अनुकूलता सिर्जने ज्ञान, सीप र योग्यता हासिल गर्न सक्छन् । ती सीप सबै विद्यार्थीका लागि प्राथमिकतामा राखी हामीले हाम्रो शिक्षा प्रणालीमा परिवर्तन गर्न आवश्यक छ ।