मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १८ आइतबार १५:०२:००
Read Time : > 1 मिनेट
अर्थ

सत्तारुढ दलका सांसद बजेटको रक्षामा, प्रतिपक्षी सांसद विरोधमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १८ आइतबार १५:०२:००

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद सुरेन्द्र पाण्डेले बजेट महत्वाकांक्षी नभए पनि कार्यान्वयनमा चुनौती रहेको बताएका छन् । 

आर्थिक वर्ष ०७७/७८को बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसद पाण्डेले अहिलेको सम्पूर्ण परिस्थितिलाई ध्यानमा राख्दै आएको बजेट महत्वाकांक्षी भने नभएको बताए । 

बजेटका स्रोतहरूको अभावका कारण चालू खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थापनमा छुट्याइएको बजेट खुम्चिएको उनको विश्लेषण थियो । 

चालू आर्थिक वर्षमा २८ प्रतिशत मात्रै खर्च भएकाले यसले कार्यान्वयन क्षमता कमजोर रहेको प्रस्ट पारेको उनले बताए । उनले आगामी आर्थिक वर्षमा कार्यान्वयनमा यस्तो अवस्था आउन नदिने गरी काम गर्नतर्फ ध्यान दिन उनले सुझाब दिए ।

बजेटमा ८ खर्ब ९० अर्ब राजश्व उठाउने र चालू खर्च नाै खर्ब ४९ करोड खर्च गर्ने उल्लेख भएको भए पनि झन्डै ६० अर्ब रुपैयाँले अझै चालू खर्च धान्ने अवस्था नभएको उनले बताए । 

विश्व बैंक र एसियाली विकास बैंकलगायतका संस्थाहरूले बजेट सपोर्टका लागि अनुदान दिने वचन दिनु पनि सकारात्मक पक्ष भएको उनको ठहर छ । 

शोधनान्तर घाटामा समस्या आउन नदिन आइएमएफले क्रेडिट सुविधा दिनु सकारात्मक भए पनि वैदेशिक मुद्रालाई व्यवस्थापन गर्न चुनौती रहेको उनको भनाइ छ ।

पर्यटन क्षेत्र र रेमिट्यान्स पनि घट्न सक्ने हुँदा वैदेशिक मुद्राको स्टकमा चाप पर्न सक्ने चुनौती रहेको उनको ठहर छ । 

प्रदेश र स्थानीय तहमा जाने पैसालाई कटौती नगर्नु सकारात्मक पक्ष भए पनि संघीय सरकारले स्थानीय तहको खर्च गर्ने क्षमता विकासका लागि सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । 

स्वास्थ्य क्षेत्रमा झन्डै एकतिहाइ बजेट विनियोजन भएको उल्लेख गर्दै उनले भवन, औजार र उपकरण मात्रै अस्पताल नभएकाले जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिन स्वास्थ्य मन्त्रालयलाई सुझाब दिए । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सत्तारुढ दलकै सांसदहरूले बजेटमाथि आशंका गर्दा यसको विश्वसनीयतामाथि नै प्रश्न उठेको बताए । 

बजेटमा अमेरिकी सहयोग परियोजना एमसिसीको बुँदा घुसाइएको भन्दै नेकपाभित्र पनि विरोध भइरहेको प्रसंगमा बजेटमा ल्याइएको बताए । 

उनले भने, ‘बजेटमा ४ सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइनको लप्सिफेदी–रातामाटे–हेटौँडा र लप्सिफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी अन्तरदेशीय प्रसारण निर्माण गर्ने राखेको छ । यो बजेट कतिको विश्वसनीय छ । यसलाई सत्तारुढ पार्टीले अगाडि नबढाउने भनेको छ । यसले बजेट कति विश्वसनीय छ भन्ने छ । कार्यान्वयनमा यतिकै फितलो हुनेछ ।’

आर्थिक वर्ष ०७७/०७८को बजेटमाथिको राजस्व र व्ययको अनुमानमाथिको सैद्धान्तिक छलफलमा उनले कोरोना महामारीबाट अर्थतन्त्रमा पार्ने प्रभावलाई सरकारले नजरअन्दाज गरेको बताए । 

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई सरकारले गम्भीरताका साथ नलिएको उल्लेख गर्दै उनले यसका लागि बजेटमा कुनै पनि कुरा प्राथमिकतामा नराखेको बताए । 

उनले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति पनि सन्तोषजनक नभएको बताए ।