मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १८ आइतबार १३:४३:००
Read Time : > 1 मिनेट
अर्थ

लकडाउनमा विद्युत् प्राधिकरणले गऱ्यो भुक्तानी व्यवस्था सहज : ग्राहक आफैँले आफ्नो बिजुलीको मिटर रिड गर्न सक्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १८ आइतबार १३:४३:००

नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता स्वयं आफैँले आफ्नो बिजुलीको मिटर रिड गरी अनलाइनबाट अंक भर्न पाउने प्रणाली विकास गरेको छ । 

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटरमा उठेको विद्युत् खपतको अंक राख्न पाउने व्यवस्था गरेको हो । 

इन्टरनेट सुविधा नभएका ग्राहकहरूलाई पनि टोल–फ्री नम्बरमा फोन गरी विद्युत् खपतको मिटर अंक टिपाउन सक्ने व्यवस्था छिट्टै गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

यस प्रणालीमार्फत आफ्नो घरको मिटर रिडिङ गर्न ग्राहकले इन्टरनेट ब्राउजरको एड्रेसबारमा कन्जुमर डट एनइए डट ओआरजी डट एनपी टाइप गरी इन्टर थिचेपछि होमपेज खुल्नेछ । 

त्यसपछि ग्राहकले पहलोपटक रजिस्ट्रेसन गर्नुपर्नेछ । रजिस्ट्रेसन गर्दा युजरनेममा ग्राहकले आफ्नो मोबाइल नम्बर र पासवर्ड राख्नुपर्नेछ । 

प्राधिकरणका अनुसार पहिलोपल्ट लगइन गरिसकेपछि रजिस्ट्रेसन गर्दा राखिएको मोबाइल नम्बर र आफूले राखेको पासवर्ड प्रयोग गरी लगइन गर्न सकिनेछ । 

त्यसपछि एड कन्जुमर बटम क्लिक गरी खुल्ने कन्जुमर रजिस्ट्रेसन फारममा दिइएको निर्देशनअनुसार ग्राहक विवरण भरी दर्ता गर्नुपर्नेछ । 

पहिलोपल्ट विवरण भरेपछि अर्कोपल्ट प्रयोग गर्दा पुनः भर्नुपर्ने छैन । त्यहाँ देखाउने ग्राहकको सूचीमा आफ्नो ग्राहक नम्बरमा क्लिक गरेपछि खुल्ने अनलाइन मिटर रिडिङ इन्ट्री फारममा आफ्नो घरको विद्युत् मिटरमा देखिएको अंक ‘करेन्ट मिटर रिडिङ फिल्ड’मा टाइप गरी बुझाउनुपर्नेछ । 

मिटरको अंक देखिने गरी फोटो खिची ब्राउज बटम क्लिक गरी फोटो अपलोड गरेर पनि पठाउन सकिनेछ । 

यति गरेपछि खपत भएको विद्युतको महसुल देखाउनेछ । महसुल विभिन्न अनलाइन भुक्तानीका लागि अनुमतिप्राप्त सेवा प्रदायकमार्फत तिर्न सकिने प्राधिकरणले जनाएको छ ।

ग्राहकले अनलाइन मिटर रिडिङ प्रणालीमा विद्युत् खपतको वास्तविक अंक राख्नुपर्नेछ । 

यदि हालिएको अंकमा कुनै दुरुपयोग भए विद्युत् वितरण विनियमावलीमा भएको व्यवस्थाअनुसार कारबाही हुने प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले प्रस्ट पारेको छ । 

प्राधिकरण कम्प्युटराइज्ड बिलिङ महाशाखाका अनुसार यो प्रणाली सुरु गरिएपछि करिब २५ हजार ग्राहकहरूले सुरु रजिस्ट्रेसन गराएका छन् । 

८ हजार ग्राहकले आफैँ आफ्नो विद्युत् मिटरमा चढेको अंक प्रणालीमा राखी समयमै रिडिङ गराई अनलाइनमार्फत महसुल भुक्तानी गरी छुट सुविधा लिएका छन् ।  

प्राधिकरणले ग्राहक सेवालाई थप प्रभावकारी बनाउन दुई वर्ष अघिदेखि अनलाइनमार्फत विद्युत् महसुल भुक्तानी गर्ने सकिने व्यवस्था गरेको हो । 

हाल सात लाखभन्दा बढी ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्दै आएका छन् ।