मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ति तामाङ काठमाडौं
२०७७ जेठ १८ आइतबार १३:१०:००
Read Time : > 1 मिनेट
समाचार

सांसदहरू भन्छन्– गरिबमैत्री बजेट आएन

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७७ जेठ १८ आइतबार १३:१०:००

सांसदहरूले आउँदो आर्थिक वर्ष ०७७/७८ का लागि सरकारले ल्याएको बजेटलाई ‘गरिबमारा’को संज्ञा दिएका छन् । 

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद जितेन्द्रनारायण देवले राहत प्याकेजविना आएको बजेटलाई गरिबमारा भएको टिप्पणी गरे । 

‘जिडिपीको पाँच प्रतिशत राहत प्याकेज ल्याऊ भनेर अर्थशास्त्री र सम्बन्धित संघसंस्थाहरूले सुझाब दिएका थिए । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले समेत दुई अर्बजतिको राहत प्याकेज ल्याउन भनेको थियो । तर, सारा मागलाई अस्वीकार गरेर यो बजेट आएको छ,’ सांसद देवले भने, ‘राजनीतिक लकडाउनको कारण मलर सदाले भोकभोकै प्राण त्याग गरे । सूर्यबहादुर तामाङको पनि खान नपाएर मृत्यु भयो । त्यस्ता व्यक्तिलाई राहतका लागि बजेट खै ? उनीहरूका लागि बजेट विनियोजन हुनुहुँदैन थियो ? यो गरिबमारा बजेट हो ।’ 

उनले कोरोना नियन्त्रणका लागि पनि बजेटमा केही नआएको भन्दै देशमा कोरोना भाइरस नै नभएको जसरी बजेट पेस भएको बताए । 

‘साउन १ देखि देशमा कोरोना भाइरस रहँदैन भन्ने अनुमानको आधारमा बजेट अघि सारिएको छ । हाम्रै देशको डाक्टरले असारसम्म बढ्ने अवस्थामा रहेको छ भनिरहेका छन्। अहिले बढिरहेको छ । मान्छे मर्ने स्रोत क्वारेन्टाइन भइरहेको छ । स्वास्थ्यमा धेरै बजेट राखियो भनेर वाहवाही गरिरहेको छ । ६ प्रतिशत राखेको छ । तर, डब्ल्युएचओदेखि सम्बन्धितले यसपटक १० प्रतिशत बजेट राख्नुपर्छ भनेको थिए,’ उनले भने । 

सांसद मृगेन्द्रकुमार सिंहले कृषि क्रान्ति गर्ने भन्ने सरकारले मलखादमा नै यसपटक कर लगाइएको भन्दै बजेट नारामा मात्र सुन्दर भएको बताए । 

‘किसानलाई मलखाद, उन्नत जातको बिउबिजन चाहिन्छ । सिँचाइको व्यवस्था हुनुपर्छ । कृषि क्रान्ति गर्ने भन्ने सरकारले मलखादमा पनि यसपटक कर लगाएको छ । त्यसैले यो बजेट नारामा मात्र सुन्दर छ । सांसद कोषलाई कृषि, स्वास्थ्यमा लगाउन सकिन्थ्यो । तर, त्यसो गरिएन,’ सांसद सिंहले भने, ‘रोग र भोगसँग लड्नुपर्ने खालको बजेट ल्याउनुपर्ने वेलामा त्यसरी आएको छैन । स्वास्थ्य क्षेत्रमै पनि १० प्रतिशत बजेट आउनुपर्थ्याे, त्यसरी आएन ।’