मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बाजुरा सदरमुकाम मार्तडीमा रहेकाे आइसाेलेसन स्थल
गगन अयडी बाजुरा
२०७७ जेठ १८ आइतबार ११:५९:००
Read Time : < 1 मिनेट
समाचार

आइसोलेसनमा राखिएकी बालिकाको मृत्यु, पिसिआर परीक्षणको रिपोर्ट आउन बाँकी

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७७ जेठ १८ आइतबार ११:५९:००

बाजुरा सदरमुकाम मार्तडीको आइसोलेसनमा राखिएकी दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्युको कारण भने खुलेको छैन।

बाजुराको बुढीगंगा नगरपालिका– १ घर भएकी २ वर्षीया बालिकाको आइतबार बिहान मृत्यु भएको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रूपचन्द्र विश्वकर्माले जानकारी दिए।

मृतक बालिकाको स्वाब संकलन गरेर कोरोनाको पिसिआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ। रिपाेर्ट आएपछि मात्र उनको मृत्युको कारण खुल्ने विश्वकर्माले बताए।  

सुरुमा बुढीगंगा नगरपालिका– १ धुरालसैन माविको आइसोलेसनमा राखिएकी बालिकाको अवस्था जटिल भएपछि उनलाई १५ जेठमा सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा राखिएको थियो। 

बालिकामा झाडा पखाला, ज्वरो, श्वासप्रश्वासजस्ता समस्या देखिएको चिकित्सकले बताएका छन्। ‘उनको उपचार त गऱ्यौँ, तर बचाउन सकेनौँ,’ बालिकाको उपचारमा संलग्न एक चिकित्सकले भने।
  
८ दिनअघि अभिभावकसँगै बालिका भारतबाट आएकी थिइन् । भारतबाट आएर बुढीगंगा नगरपालिकाको क्वारेन्टाइनमा बसेकी बालिकालाई अवस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा राख्न थालिएको थियो।

बालिकासँगै उनका आमाबुबालाई पनि आइसोलेसनमा राखिएको छ। भारतबाट आउँदादेखि नै उनी बिरामी रहेकी अभिभावकले बताएका छन्। 

बालिकाको मृत्यु भएपछि उनका आमाबुबाको पनि स्वाब संकलन गरेर पिसिआर परीक्षणका लागि धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ। तर, रिपोर्ट आउन बाँकी छ।