मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७७ जेठ १८ आइतबार ०९:००:००
Read Time : > 2 मिनेट
नयाँCity

लकडाउनमा सहरका हब : शान्त बौद्धनाथ

Read Time : > 2 मिनेट
२०७७ जेठ १८ आइतबार ०९:००:००

लकडाउनका कारण बौद्धनाथ स्तुपा शान्त छ । स्तुपाको नजिक पुगेपछि पाइने आनन्द भने उस्तै छ । फेरिएको त केवल लकडाउनअघिको दृश्य मात्रै हो । कोरोना भाइरसको प्रसार रोक्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण बौद्ध क्षेत्रमा सदाझैँ भिडभाड छैन । साँझ-बिहान शान्तिको खोजीमा पुग्नेहरू पनि देखिँदैनन् । फाट्टफुट्ट पुगेकाहरूलाई पनि सुरक्षाकर्मीले आधा बाटोबाटै फर्काइदिन्छन् ।

बौद्धनाथ वरिपरिका घरैपिच्छे खुलेका रेस्टुराँमा आफूलाई मन परेका परिकारमा रमाउनेहरू अहिले घर-घरमै छन् । रेस्टुराँहरू पनि बन्द छन् । स्थानीय बासिन्दाका लागि नौलो बनेको छ, काठमाडौंको बौद्ध क्षेत्र । ‘यस्तो सुनसान कहिल्यै थिएन । भूकम्पका वेला पनि मान्छेको भिड उस्तै थियो,’ पूर्वफुटबल खेलाडी तथा स्थानीयवासी सुविन शाक्य भन्छन् ।

कोरोना भाइरसको प्रसार रोक्न सरकारले लागू गरेको ‘लकडाउन’का कारण बौद्ध क्षेत्रमा सदाझैँ भिडभाड छैन । स्थानीय बासिन्दा भन्छन्, ‘यस्तो सुनसान कहिल्यै थिएन ।’

युनेस्कोको विश्व सम्पदामा सूचीकृत बौद्धनाथ क्षेत्र काठमाडौंको मुख्य पर्यटकीय गन्तव्यमध्येको एक हो । टुरिस्ट गाइड एसोसिएन अफ नेपाल (टुरगान)का अध्यक्ष केदार तामाङका अनुसार काठमाडौं आउने पर्यटक बौद्धनाथ पुगेकै हुन्थे । हिमाल आरोहणमा जानुअघि विदेशी पर्वतारोही पनि एकपटक यहाँ आएर पूजा गर्दै सफलताको कामना गर्थे ।

सरकारले वैशाख अन्तिम साता लकडाउन केही खुकुलो पारेको समयमा पनि यो क्षेत्रका होटेल, रेस्टुराँ खुलेनन् । कफी पारखीहरूको स्टेसन बनेको ‘हिमालयन जाभा’ बन्द छ । पिज्जाका लागि नाम चलेको ‘रोड हाउस क्याफे’, कन्टिनेन्टल खानाका पारखीको रोजाइ बनेको ‘नानिज किचेन’मा ताला झुन्डिएको छ । बौद्धनाथ परिसरभित्रै भियतनामी खाना मात्रै पाइने रेस्टुराँ ‘फो नाइन्टी’ले पनि सेवा बन्द गरेको छ ।

यहाँका थाङ्का, मूर्ति, मालालगायत सामग्रीका पसल पनि बन्द छन् । बरु यो खाली समयमा निर्माण र पुनर्निर्माणले भने निरन्तरता पाएको छ । स्तुपाको उत्तरतर्फ रहेको श्रीगुरु लाखाङ्ग गुम्बामा मर्मत तथा रङरोगनको काम भइरहेको छ । उत्तर–पश्चिम क्षेत्रमा रहेको घोइलीसाङ शान्तिपार्कमा पनि निर्माण कार्य जारी छ । बौद्धनाथ स्तुपाको निर्माण गर्न त्यही स्थानको माटो प्रयोग गरिएको थियो । माटो निकालिएपछि बनेको पोखरीलाई शान्तिपार्कका रूपमा विकास गरिएको हो ।

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पले बौद्धनाथ स्तुपा क्षतिग्रस्त बनेको थियो । स्तुपाको माथिल्लो भाग चिरा परेको थियो । भूकम्पपछिको पुनर्निर्माणमा बौद्धनाथले अन्य सबै सम्पदालाई उछिन्यो । कारण- स्थानीय बासिन्दा आफ्नो स्थानको पुरानो रौनक फर्काउन जुटे । त्यसपछि त के थियो र ! सरकारको आर्थिक सहयोगविनै पुनर्निर्माण सम्पन्न भयो ।

वर्षायाममा सधैँ हिलाम्य रहने चाबहिल-बौद्ध-जोरपाटी सडक अहिले कालोपत्रे भएको छ । तर, यो चिल्लो सडकमा सरकारी पास लिएका सीमित सवारीसाधन मात्र गुड्छन् ।

बौद्धनाथको परिसरसँगै जोडिएको पाँचतारे ‘होटेल हायात रिजेन्सी’ लकडाउन सुरु भएसँगै सुनसान छ । पहिलेजस्तो विदेशी पाहुना हायात रिजेन्सीमा छैनन् । ‘क्यासिनो प्राइड’ पनि अहिले सञ्चालनमा छैन । बौद्ध गेटनजिकै रहेको होटेल टिबेटदेखि होटेल गाङ्ग्री, होटेल मुदितालगायतले पाहुनालाई सेवा दिएका छैनन् ।

बौद्ध क्षेत्रमा रहेका नबिल, सनराइज, एनआइसी एसिया, कृषि विकास र माछापुच्छ्रे बैंकहरू भने खुलै छन् । तिनमा आर्थिक कारोबारका लागि फाट्टफुट्ट ग्राहक पुग्छन् ।

चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा भने मान्छेको केही चहलपहल देखिन्छ । भाटभटेनी नियमितजस्तै खुलिरहेको छ, जहाँ अत्यावश्यक सामग्री खरिद गर्ने उपभोक्ताको हुल ठूलै देखिन्छ । भाटभटेनी सुपर मार्केटको छतमा रहेको ‘सेभेन-ए-साइड’को फुटसल भने लकडाउनको पहिलो दिनदेखि नै बन्द छ ।

यहाँ रहेका बिग मार्ट, जी मार्ट र केके मार्ट पनि खुलै छन् । ती मार्टमा दैनिक उपभोग्य सामग्री खरिद गर्न मान्छे आइरहेकै हुन्छन् । वर्षायाममा सधैँ हिलाम्य रहने चाबहिल-बौद्ध-जोरपाटी सडक अहिले कालोपत्रे भएको छ । तर, यो चिल्लो सडकमा सरकारी पास लिएका सीमित सवारीसाधन मात्र गुड्छन् ।

तस्बिर : ज्ञानेन्द्र कार्की / नयाँ पत्रिका