Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ जेठ १८ आइतबार ०७:४६:००
Read Time : > 4 मिनेट
अर्थ

नौ वर्ष अड्किएको विमानस्थल विस्तार लकडाउनको ५४ दिनमै सम्पन्न

Read Time : > 4 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ जेठ १८ आइतबार ०७:४६:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको कामका लागि सन् २०११ मै स्पेनी कम्पनी सानहोसेले ठेक्का पाएको थियो । तर, काम गर्न नसकेपछि सन् २०१६ डिसेम्बरमा ठेक्का तोडियो । नेपाली निर्माण कम्पनी कालिका–तुँदीले गत वर्ष सोही कामको ठेक्का पाए पनि विमानस्थल चालु रहँदा द्रुत गतिमा कार्य हुन सकेको थिएन । लकडाउनमा उडानमा लागेको प्रतिबन्धको फाइदा उठाउँदै निर्माण कम्पनीले युद्धस्तरमा काम अघि बढाएर ५४ दिनमै सम्पन्न गरेको छ । अब बोइङ ७७७ र एयरबस ३३० सिरिजका सबैखाले जहाज उडान–अवतरण गर्न सक्नेछन् ।

....................................

नौ वर्षदेखि विभिन्न कारणले रोकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको काम लकडाउनको ५४ दिनमा सम्पन्न भएको छ । लकडाउनमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान प्रतिबन्ध भएपछि विमानस्थलमा चौबिसै घन्टा काम गर्न सजिलो भएकाले करिब दुई महिनामै धावनमार्ग विस्तारको कार्य सम्पन्न भएको हो । 

पहिले अलि–अलि काम भइरहेको थियो । तर, लकडाउन भएपछि काम गर्न सजिलो भएको थियो । निर्माण सामग्री आपूर्तिमा अभाव र केही ठाउँमा स्थानीयको विरोधसमेत झेल्नुपरेको छ । तैपनि, बितेको ५४ दिनमा कोटेश्वरतर्फ ३ सय मिटर धावनमार्ग विस्तारको काम सकिएको छ । धावनमार्ग अब ३ हजार ३ सय ५० मिटर लामो भएको छ ।   

यो कामलगायत विमानस्थलका अन्य कार्यका लागि स्पेनी कम्पनी सानहोसेले २०११ मै ठेक्का पाएको थियो । तर, स्पेनी कम्पनीले काम सम्पन्न गर्न नसकेपछि सन् २०१६ को अन्त्यतिर ठेक्का तोडिएको थियो ।

त्यसपछि यो कार्यका लागि एक वर्षअघि नेपाली ठेकेदार कम्पनी कालिका–तुँदी कन्स्ट्रक्सनले ठेक्का पाएको हो । ‘ठेक्का तोडिएसँगै धावनमार्ग विस्तारको काम पनि रोकिएको थियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको हवाई क्षमता अभिवृद्धि विस्तार आयोजनाका प्रमुख मुरारी भण्डारीले भने, ‘अहिले समयमै सम्पन्न गरिएको छ ।’ ठेकेदार कम्पनीले ८० करोडमा ठेक्का पाएको हो । 

यो कामका लागि विगतमा एसियाली विकास बैंक (एडिबी)ले ऋण दिने भनिएको थियो । तर, सानहोसे बाहिरिएपछि र एबिडीको सम्झौता सन् २०१८ मा अवधि सकिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणकै आन्तरिक स्रोतबाट व्यहोरिएको छ ।  

विस्तारित धावनमार्गको विद्युतीकरणतर्फ (इलेक्ट्रिक)को काम भने बाँकी छ । त्यसैले धावनमार्ग सञ्चालनयोग्य भने भइसकेको छैन । यो कार्य लकडाउन नखुलेसम्म गर्न नसकिने आयोजना प्रमुख भण्डारीले जानकारी दिए । ‘धावनमार्गमा जडान गरिने बत्ती अर्डर गर्नै पाएका छैनाैँ,’ उनले भने, ‘खुलेपछि अर्डर गरेर आउने र जडान गर्न पनि केही समय लाग्छ ।’ आयोजनाका अनुसार बत्तीलगायत काम सम्पन्न गर्दासम्म १ अर्ब हाराहारी खर्च हुने अनुमान छ । 

लकडाउनमा विमानस्थलमा काम गर्न सहज भए पनि निर्माण सामग्री ल्याउन भने समस्या भएको थियो । स्थानीयले पनि पटक–पटक अवरोध गरेका थिए । यता कामदारको समेत अभाव भएको थियो । ‘निर्माण सामग्री ल्याउन अवरोध नभएको भए १५ दिनआगाडि नै काम सम्पन्न हुने थियो,’ भण्डारीले भने । 

धावनमार्ग विस्तारसँगै विमानस्थल थप सुरक्षित

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले पाँच वर्षअगाडि नै प्राधिकरणलाई धावनमार्ग विस्तार गर्न आग्रह गरेको थियो । विमानस्थलमा उत्तर र दक्षिण दुवैतर्फ एयर सेफ्टी एरिया नरहेको भन्दै आइकाओले जतिसक्दो चाँडै धावनमार्ग विस्तारका लागि प्राधिकरणलाई दबाब दिँदै आएको थियो । 

विस्तारित धावनमार्गमा दुवैतर्फ सेफ्टी एरिया रहनेछ । यसले उडान–अवतरणमा विमानस्थल थप सुरक्षित हुने विमानस्थलको भनाइ छ । धावनमार्ग विस्तार भएपछि जापानी सहयोग नियोग जाइकाको सहयोगमा धावनमार्गमा ‘लोकल लाइजर’ जडानको काम हुनेछ । जसबाट मौसम बिग्रिएको समयमा पनि उत्तरतर्फबाट जहाज अवतरण गर्न सहज हुनेछ । विमानस्थलमा बोइङ ७७७ र एयरबस ३३० सिरिजका सबैखाले जहाजहरू सहज उडान–अवतरण गर्र्न सक्नेछन् । 

पहिलोपल्ट ठेक्का लागेको नौ वर्षसम्म अलमल  

सरकारले हवाई क्षमता अभिवृद्धिका लागि भन्दै सन् २०११ मा स्पेनी कम्पनी सानहोसेलाई विस्तारको जिम्मा दिएको थियो । कम्पनीले सन् २०११ मा सुरु गर्नुपर्ने काम सन् २०१३ बाट मात्रै थालनी गरेको थियो । स्तरोन्नतिअन्तर्गत पहिलो चरणको काम सन् २०१३ मै सक्नुपर्ने थियो । पछि २०१५ मा पु-याइयो । पुनः म्याद थप गरेर २०१६ मा पु-याइएको थियो । 

सन् २०१६ को मार्चभित्र काम सक्नुपर्ने भए पनि जम्मा १६ प्रतिशत काम गरेको थियो । तर, काम सम्पन्न गर्न नसकेपछि सन् २०१६ को डिसेम्बरमा ठेक्का रद्द गरियो । सानहोसेले १६ प्रतिशत काम गर्दा ९६ करोड रुपैयाँ लगेको थियो । प्राधिकरणसँग ३ अर्ब क्षतिपूर्ति माग गर्दै सिंगापुर अदालतमा मुद्दा दायर गरेको छ । जुन अझै टुंगिएको छैन ।   

सानहोसेले तीन सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एप्रोन निर्माण, अन्तर्राष्ट्रिय उडानका यात्रुको सामान ल्याउने बेल्ट (कन्भेयर बेल्ट) र टर्मिनल भवन निर्माणका लागि ६ करोड १० लाख अमेरिकी डलर (त्यसवेलाको सटही दरअनुुसार करिब ६ अर्ब रुपैयाँ)बराबरको काम गर्ने गरी ठेक्का पाएको थियो ।  

स्पेनी कम्पनीसँगको ठेक्का रद्द भए पनि प्राधिकरणले आफ्नै स्रोतमा तीन वर्षअगाडिदेखि कामलाई तीव्रता दिएको थियो । यसअन्तर्गत ५० वर्ष पुरानो धावनमार्गको कालोपत्रे परिवर्तन गर्ने कार्य पनि सम्पन्न भइसकेको छ । उक्त काम चिनियाँ ठेकेदार कम्पनीले निर्धारित समयभन्दा ६ महिनापहिले सम्पन्न गरेको थियो । 

एसियाली विकास बैंक (एडिबी)को ८ करोड अमेरिकी डलरको ऋण सहयोगमा विमानस्थलको काम सुरु भएको थियो । एडिबीले विमानस्थलको विस्तारका लागि ७ करोड डलर ऋण र १ करोड डलर अनुदानसमेत दिएको थियो । ठेक्का तोडिएपछि प्राधिकरणले आफ्नै स्रोतमा टर्मिनल भवन, पार्किङ क्षमता विस्तार र धावनमार्ग विस्तारको काम सुरु गरेको थियो ।

४ जहाज अट्ने क्षमताको पार्किङ वे निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यता टर्मिनल भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । त्रिभुवन विमानस्थलको पार्किङ वे निर्माणको काम भने ठेक्का सम्झौता हुन बाँकी छ । स्पेनी कम्पनीले माटोको कारण देखाउँदै ठेक्काबाट भागेको थियो । धावनमार्गको उत्तर–पूर्वी क्षेत्रमा माटो पुरेर ३० वटा जहाज अट्ने क्षमताको पार्किङ वे निर्माण गर्ने तयारी प्राधिकरणको छ । 

स्पेनी कम्पनी एउटैको काम ४ ठेकेदारलाई 

स्पेनी कम्पनी एउटैले गर्ने गरी दिइएको कामको जिम्मा ४ वटा ठेकेदारलाई दिइएको छ । जसमा तीन निर्माण कम्पनी नेपाली छन् । एनसिबी–१ अन्तर्गत ८० करोड रुपैयाँ लागतमा तीन सय मिटर धावनमार्ग निर्माणको जिम्मा कालिका–तुँदी कन्स्ट्रक्सनले जिम्मा पाएको थियो ।  

त्यसैगरी, अन्तर्राष्ट्रिय टर्मिनल भवनतर्फको कामको जिम्मा शर्मा, प्रेररा र आशिष कम्पनीले ठेक्का पाएका छन् । एनसिबी–२ अन्तर्गतको उक्त ठेक्का ८० करोड रुपैयाँबराबरको हो । त्यस्तै, एनसिबी–३ अन्तर्गत ढल, निर्माण, खानेपानीलगायतको सुविधा विस्तारका लागि आशिष र प्रेररा कम्पनीले १८ करोड रुपैयाँमा पाएका छन् । सबै आयोजनाको काम ९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । 

प्राधिकरणको गुरुयोजना 

सरकारले तत्कालीन समयमा सन् २०२८ सम्मको गुरुयोजनाअनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक यात्रुका लागि २९ लाख र अन्तर्राष्ट्रियतर्फ ६३ लाख यात्रुलाई सेवा दिन सक्ने क्षमता विस्तार गर्ने योजना तयार पारेको थियो । योजनामा अत्याधुनिक टर्मिनल भवन, ट्याक्सी वे, ट्याक्सी पार्किङलगायत थिए । एडिबीको १० करोड अमेरिकी डलर (१० अर्ब रुपैयाँ)को विमानस्थल सुधार गुरुयोजनाअनुसार धावनमार्ग तथा पार्किङ विस्तारको काम थालिएको थियो । गुरुयोजनाअनुसार ६० करोड अमेरिकी डलर खर्च हुने अनुमान गरिएको थियो ।

अहिले भने एडिबीको ऋण नलिईकनै काम गरिएको छ । यता पार्किङ वे निर्माणका लागि भने १० अर्ब ऋण लिने गरी काम अगाडि बढेको छ । सम्झौता भने भएको छैन । प्राधिकरणले एडिबीले ऋण नदिए पनि आन्तरिक स्रोतबाटै भए पनि पार्किङ क्षमता विस्तार गर्ने बताउँदै आएको छ ।    

लकडाउनमा पनि दिनरात नभनी काम गरियो : इ. मुरारी भण्डारी, आयोजना प्रमुख, हवाई क्षमता अभिवृद्धि विस्तार आयोजना

लकडाउनकै बीचमा धेरै वर्षदेखि रोकिएको धावनमार्ग विस्तारको काम सम्पन्न गरेका छाैँ । धावनमार्गको मुख्य कालोपत्रे निर्माणको काम सकिएको छ । अब बत्तीको काम लकडाउनपछि हुनेछ ।

आइकाओले नेपाललाई एयर सेफ्टी एरिया बनाउन पटक–पटक आग्रह गरे पनि सम्पन्न हुन सकेको थिएन । अब पार्किङ क्षमता विस्तारको काम पनि सुरु हुनेछ । चिनियाँ कम्पनीसँग सम्झौता गर्ने काम अन्तिम चरणमा पुगेको छ । लकडाउन खुलेपछि सम्झौता गर्छौँ ।