सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
लैथ अबु जेयाद
२०७७ जेठ १८ आइतबार ०६:२८:००
दृष्टिकोण

म लकडाउनमा छु, तर कोरोनाका कारण होइन

लैथ अबु जेयाद
२०७७ जेठ १८ आइतबार ०६:२८:००
?>

कोभिड–१९ को लकडाउन आममानिसको जीवनरक्षाका लागि हो भने इजरायलले लगाएको लकडाउन प्यालेस्टिनीमाथिको बर्बरता हो

केही महिनायता कोरोना भाइरस महामारीका कारण विश्वभर लाखौँ मानिस लकडाउनमा छन् । अधिकांशले जीवनमै पहिलोपल्ट राज्यले लादेको कफ्र्युका कारण थुनिने मानिसको पीडा र कष्टकर जीवन कस्तो हुँदो रहेछ भन्ने महसुस गर्न पाए । तर, मेरा लागि भने लकडाउन केही पनि होइन । म त कहाँ जाने कहाँ नजाने भनेर फेरबदल भइरहने नियममा बा“च्न अभ्यस्त भइसकेको छु । किनकि, म इजरायलद्वारा अतिक्रमित भएर बाँचिरहेको एक प्यालेस्टिनी हुँ । म अतिक्रमित पश्चिमी भूमिमा हुर्कें, जहाँ खानतलासी र कफ्र्यु मेरो दैनिक जीवनका अभिन्न अंग बने ।

गत वर्ष मलाई पश्चिमी क्षेत्र छाडेर अन्त जानबाट बन्देज गर्दै म थुनिएको जेललाई अझ साँघुरो पारियो । सुरक्षाको कारण देखाउँदै इजरायली प्रशासनले कुनै कानुनी आधारविनै ममाथि निषेधाज्ञा लगायो । यसमा एम्नेस्टी इन्टरनेसनलको इजरायल–प्यालेस्टाइन अभियन्ताको मेरो कामसँग कुनै सरोकार नभएको बताइयो । गत सेप्टेम्बरमा जब आमाको केमोथेरापी गर्न पूर्वी जेरुसलेमको अस्पताल जानुपर्ने भयो तिनले मलाई जान दिएनन् । त्यतिवेला मात्र निषेधाज्ञाबारे मलाई थाहा भयो । मैले पासका लागि निवेदन दिइरहेँ, आमाको व्यथा झन् बढ्दो थियो । केवल १५ मिनेट ड्राइभ गरेर अस्पताल पुगिन्थ्यो । हाम्रो संवेदनाले इजरायलीलाई किन छुन्थ्यो ? क्रिसमसको साँझ आमा अस्पतालमा बित्नुभयो, मृत्युअघि मैले उहाँलाई भेट्न पाइनँ ।

यो ‘सुरक्षाको कारण’ बढो अनौठो छ । मात्र मलाई थाहा छ कि म पश्चिमी क्षेत्रबाट बाहिर कतै जान पाउँदिनँ, पूर्वी जेरुसलेममा भएको मेरो अफिसमा जान पाउँदिनँ । कोभिड–१९ को लकडाउन मार्च २२ बाट लागेको छ, तर यो त मेरा लागि म थुनिएको खोरभित्र थपिएको अर्को अतिरिक्त बारसिवाय अरू केही होइन । अब म आमालाई भेट्न त कहिल्यै सक्दिनँ । तर, यो अन्यायविरुद्ध लड्न सक्छु । 

मेरा लागि लकडाउन केही होइन । म कहाँ जाने, कहाँ नजाने भनेर फेरबदल भइरहने नियममा बाँच्न अभ्यस्त भइसकेको छु । म इजरायलद्वारा अतिक्रमित भएर बाँचिरहेको एक प्यालेस्टिनी हुँ ।

२५ मार्चमा मेरो यात्रा निषेधाज्ञाविरुद्ध एमनेस्टी इन्टरनेसनलले जेरुसलेम जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो, त्यसको सुनुवाइ ३१ मार्चमा थियो । पूर्वी जेरुसलेम अवस्थित जिल्ला अदालतमा मैले जान पाइनँ, फलस्वरुप ममाथिका सम्पूर्ण आरोपका विषयमा म अझै अनभिज्ञ छु । त्यसैले पनि म र मेरा वकिलका लागि प्रभावकारी ढंगले मुद्दा लड्न अप्ठ्यारो परिरहेको छ । विगतमा यात्रा निषेधाज्ञा अदालतले निर्धारण गथ्र्यो । २०१५ देखि २०१९ बीच ७९७ यात्रा निषेधाज्ञाविरुद्ध अदालतमा अपिल भएको थियो भने ६५ प्रतिशतलाई अदालतले खारेज गरिदिएको थियो । प्रायजसो निषेधाज्ञा गैरकानुनी थिए । इजरायलले ओमार बार्गोटी तथा सावन जाबरिनजस्ता मानव अधिकारकर्मीलाई जथाभावी यात्रा निषेधाज्ञा जारी गर्दै आएको छ । जाबरिनको निषेधाज्ञामा पनि ‘सुरक्षाको कारण’ भनिएको थियो । यसको मतलब के हो ? यदि म त्यत्रो ठूलो सुरक्षा चुनौती हुँ भने इजरायली प्रशासनले समाएर सोधपुछ गर्न सक्थ्यो । आजसम्म कसैले सिमानामा समेत सोधखोज गरेको छैन । मलाई यो निर्णयविरुद्ध आफ्नो कुरा राख्ने मौका पनि दिइएको छैन । के यो न्यायसंगत छ ? इजरायलले कसरी प्यालेस्टिनीको आवागमन कुण्ठित पार्छ भन्ने दृष्टान्त हो यो । 

गाजामा बस्ने दुई मिलियन प्यालेस्टाइन १२ वर्षदेखि सेनाको दमनकारी बन्दभित्र कैदी बनिरहेका छन् । हामी पश्चिमी क्षेत्रका प्यालेस्टिनीले इजरायलको बन्दरगाह या बेन गुरिन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान पाउँदैनौँ । 

हामी किङ हुसेन सीमाबाट मात्र जोर्डन जान पाउँछौँ । सीमा वा निश्चित ठाउँमा नपुगीकन धेरैलाई आफूमाथि यात्रा निषेधाज्ञा लागेको छ भन्ने थाहै हुँदैन । गत सेप्टेम्बरमा आमाको अन्त्येष्टिका लागि बुबासँगै जाँदा जोर्डनको सीमामा मलाई रोकिएको थियो । यस्ता धेरै अनुभव सुन्न पाइन्छ । कोभिड– १९ को अनुभवबाट पनि विश्वभरका मानिसले प्यालेस्टिनीले भोगिरहेको डर, त्रास, एक्लोपन र निषेधाज्ञाको तितो अनुभव आत्मसात् गर्न सक्छन् । तर, कोभिड–१९ को लकडाउन आममानिसको जीवनरक्षाका लागि हो भने इजरायलले लगाएको लकडाउन प्यालेस्टिनीमाथिको बर्बरता हो ।

विश्वका अरूले जस्तै आशा छ म पनि छिट्टै मेरो कार्यालय फर्कन पाउनेछु, अन्य सहरमा भएका मेरा इष्टमित्र र नातागोता भेट्न पाउनेछु । घुमघाम गर्नेछु । ७२ वर्षको लामो अत्यासपूर्ण अन्यायका बाबजुद संसारका सबै कुनाका मानिसको जस्तै प्यालेस्टिनीको पनि स्वतन्त्रताको हक उत्तिकै छ ।

(जेयाद एम्नेस्टी इन्टरनेसनलको इजरायल/प्यालेस्टाइन अभियन्ता हुन्)
अलजजिराबाट

छुटाउनुभयो की ?