मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १८ आइतबार ०६:०७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १८ आइतबार ०६:०७:००

क्वारेन्टाइनमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका– ११ का ३५ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनको शनिबार बिहान क्वारेन्टाइनमा रहेका वेला एकाएक मृत्यु भएको हो । 

दुल्लु–७ स्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा बनाएको क्वारेन्टाइनमा बस्दै आएका उनी शनिबार बिहान एकाएक लडेका थिए । बिहान ७ बजे ढलेर बेहोस भएका उनको केहीबेरमै मृत्यु भएको दुल्लु अस्पतालले जनाएको छ । उनको मृत्यु भएपछि गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको अस्पतालकी प्रमुख डा. पूजा बिसीले बताइन् । ‘मृत्यु भएपछि स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएका थियौँ । कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ,’ डा. बिसीले भनिन् । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । 

उनी १० दिनअघि भारतबाट आएका थिए । भारतबाट आएका ७९ जनासँगै उनलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । कोरोना परीक्षणका लागि तीन दिनअघि स्वाब संकलन गरिएको थियो । दुल्लु अस्पतालले स्वाबको नमुना प्रादेशिक अस्पताल सुर्खेत पठाएको थियो । सुर्खेतले स्वाबको नमुना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको थियो । त्यसको अझै पनि रिपोर्ट आएको छैन । रिपोर्ट आउन ढिलो हुँदा उपचार नपाएर उनको ज्यान गएको उनीसँगै क्वारेन्टाइनमा बसिरहेकाहरूको गुनासो छ । ‘समयमै रिपोर्ट आएर उपचार पाएको भए उनको ज्यान जाने थिएन,’ क्वारेन्टाइनमा बसिरहेका एकजनाले गुनासो गरे । 

उनको एक्कासि मृत्यु भएको मेयर घनश्याम भण्डारीले बताए । ‘बिहान चिया खानेवेला भेटेर कुराकानी गरेका थियौँ । क्वारेन्टाइनबाट फर्किँदै गर्दा मृत्यु भएको खबर सुन्यौँ,’ मेयर भण्डारीले भने, ‘त्यसपछि सुरक्षा सतर्कता बढाएका छौँ ।’ उनको शव समातेका र उनीसँगै क्वारेन्टाइनको कोठामा बस्नेलाई छुट्टै राखिएको छ । उनीहरूको अवस्था सामान्य रहेको डा. बिसीले बताइन् ।