मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सागर चन्द काठमाडौं
२०७७ जेठ १८ आइतबार १०:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

पिसिआर रिपोर्ट ल्याउनुपर्ने भएपछि इमर्जेन्सीका बिरामी मर्कामा

डाक्टर भन्छन्– पिपिईलगायत पर्याप्त पूर्वाधार भएमा हामी उपचारमा पछि हट्दैनौँ

Read Time : > 2 मिनेट
सागर चन्द काठमाडौं
२०७७ जेठ १८ आइतबार १०:००:००

कोरोना संक्रमणका कारण अस्पताल र स्वास्थ्यकर्मी पनि त्रासमा छन् । त्यसैले उपचार गर्न आउने बिरामीलाई पिसिआर टेस्ट नेगेटिभ भएको रिपोर्ट लिएर आउन भनिएको छ ।

दीर्घरोगको उपचार गर्नेले यस्तो रिपोर्ट ल्याउन पनि सम्भव होला । तर, आकस्मिक रूपमा बिरामी हुनेले के गर्ने ? धेरै बिरामी र आफन्त मर्कामा परेका छन् । 

पूर्वी नवलपरासी कावासोतीका ७८ वर्षे बालकृष्ण पोखरेलको नाकबाट अचनाक रगत बग्न थाल्यो । रगत बग्न नरोकिएपछि बालकृष्णलाई बिहीबार उपचारका लागि चितवनको नारायणी सामुदायिक अस्पताल ल्याइयो । 

शुक्रबार बिहान नारायणी सामुदायिक अस्पतालले बालकृष्णलाई जतिखेर पनि आइसियू आवश्यक पर्न सक्ने भन्दै परिवारलाई आइसियू भएको अस्पताल खोज्न आग्रह गर्यो ।

नारायणीमा उपचार हुन नसक्ने भएपछि परिवारले काठमाडौंमा अस्पताल खोजी सुरु गर्यो । काठमाडौंमा रहेका बालकृष्णका छोरा ऋषि अस्पतालको खोजीमा दौडिए । 

दिउँसो २ बजेतिर ऋषि सिभिल अस्पताल बानेश्वर पुगे । अस्पतालको आकस्मिक कक्षमा पुगेर बिरामीको अवस्था बताए । डाक्टरले बिरामी ल्याउनुहोस् उपचार गर्छौँ भनेपछि उनले चितवन फोन गरेर बिरामी बुबालाई एम्बुलेन्समा चढाउन लगाए ।

शुक्रबार राति ८ बजे चितवनबाट बालकृष्णलाई बोकेर एम्बुलेन्स काठमाडौं आइपुग्यो । बिरामी बुबालाई लिएर ऋषि सरासर मीनभवनस्थित सिभिल अस्पताल गए । ‘अस्पतालमा त आकस्मिक कक्षको ढोका बन्द छ,’ ऋषि भन्छन् ।

त्यसपछि अर्को ढोकाबाट ऋषि आकस्मिक कक्षतर्फ गए । ‘डाक्टरहरूले मलाई आकस्मिक कक्षमा छिर्नै दिएनन्,’ उनले भने । बुबालाई एम्बुलेन्सबाट निकाल्न स्टे«ेचर खोजे, तर पाएनन् । ‘बिरामीलाई हेर्दै नहेरी डाक्टरहरूले कहाँबाट ल्याएको, किन ल्याएको भनेर सोधे,’ ऋषि सुनाउँछन्, ‘मैले डाक्टरहरूलाई चितवनबाट पठाएको रेफरल पत्र देखाएँ, दिउँसो डाक्टरले ल्याउनू भनेको कुरा भनेँ ।’

तर, नाइट ड्युटीमा रहेका डाक्टरहरूले बिरामी भर्ना गर्न नसकिने बताए । बिरामी एम्बुलेन्समा छटपटाइरहेका छन्, तर अस्प्तालले भर्ना गर्न मानेन । अस्पतालले बिरामीको पिसिआर परीक्षण गरिएको रिपोर्ट मागे । आकस्मिक कक्षमा आएको बिरामीले कहाँबाट पिसिआर ल्याउने ? आफन्तले भर्ना गर्न दबाब दिएपछि अस्पतालले बेड खाली नभएको जानकारी गरायो । 

सिभिल अस्पतालले बिरामी भर्ना गर्न नमानेपछि ऋषि अर्को अस्पताल खोज्न दौडिए । शिक्षण अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएको, अस्पताल सिल गरिएको र स्वास्थ्यकर्मी नै क्वारेन्टाइनमा रहेकाले बिरामी लग्न सहज भएन ।

अन्तिम विकल्पका रूपमा ऋषिले हेमाटोलोजी डिपार्टमेन्ट नै नभएको इमाडोलको किस्ट शिक्षण अस्पताल रोजे । शुक्रबार राति ऋषिले बुबालाई किस्ट पु¥याए । तर, किस्टको उपचारबाट बिरामीका परिवारजन सन्तुष्ट भने छैनन् । किनभने त्यहाँ हेमाटोलोजी डिपार्टमेन्ट नै छैन । अर्कोतिर बुबालाई आइसियूमा राखिएको छ, तर कुन डाक्टरले हेरिरहेको छ, के उपचार भइरहेको छ हामीलाई केही खबर गरेका छैनन्,’ ऋषि भन्छन्, ‘औषधि मात्र किन्न लगाएका छन् ।’

काठमाडौं ल्याउँदासम्म बोल्न सक्ने बालकृष्ण अहिले बोल्न पनि नसक्ने भएका छन् । ‘सरकारी अस्पतालले बिरामी भर्ना लिन नमानेपछि निजी अस्पतालले त यस्तै गर्छन्, बिरामीबाट पैसा मात्र थुत्न खोज्छन्,’ ऋषिले भने । 

यो विषयमा नयाँ पत्रिकाले सिभिल अस्पतालमा सम्पर्क गरेको थियो । ‘पहिलो विषय त पिसिआर रिपोर्ट आवश्यक हुन्छ, किनभने स्वास्थ्यकर्मीले आफू पनि बचेर बिरामी बचाउने हो । दोस्रो विषय त्यसवेला अस्पतालमा बेड थिएन,’ अस्पतालका एक अधिकारीले भने, ‘तर, अहिले बेड हुने सम्भावना छ । तपाईंले भनेका बिरामीलाई हामीले बोलाउने तयारी गरेका छौँ । तर, डाक्टरको सुरक्षाका लागि पनि तपाईंहरूले सरकारसम्म आवाज उठाइदिनुपऱ्यो । पिपिईलगायत पर्याप्त पूर्वाधार भएमा हामी उपचारमा पछि हट्दैनौँ ।’