१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ जेठ १७ शनिबार २१:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

लकडाउन ३२ जेठसम्म लम्ब्याउने सरकारको निर्णय

३२ जेठपछि मात्रै लकडाउनको मोडालिटीमा परिवर्तन 

Read Time : > 1 मिनेट
२०७७ जेठ १७ शनिबार २१:१३:००

सरकारले ३२ जेठसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने र विदेशबाट उद्धार गरिएका नागरिकको व्यवस्थापनमा सेना परिचालन गर्ने निर्णय गरेको हो । 

कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले गत ११ चैतदेखि देशभर लकडाउन लागू गरेको थियो । पछिल्लोपटक थपिएको लकडाउनको समयावधि २० जेठमा सकिँदै छ । त्यसअघि नै सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । 

त्यस्तै, मन्त्रिपरिषद् बैठकले आन्तरिक र बाह्य हवाई उडान १६ असारसम्म बन्द गर्ने निर्णय गरेको छ । त्यतिन्जेलसम्म सीमानाकाको आवागमन पनि रोकिने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्न नदिन सीमानाकाको आवागमनमा थप कडाइ गर्ने मन्त्रिपरिषद्को निर्णय छ । ‘सीमापारिबाट संक्रमणको जोखिम बढी हुने भएकाले सीमानाकाबाट हुने आवतजावतमा कडाइ गर्ने निर्णय गरिएको छ,’ बैठकपछि सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने । सीमानाकामा कडाइ गर्न सशस्त्र र नेपाल प्रहरीको गस्ती बढाउन र कतिपय स्थानमा सशस्त्र प्रहरी थप गर्न गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ । 

विदेशबाट आएका नागरिकको व्यवस्थापनमा सेना
कोभिड–१९ को महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउनका लागि तयार पारिएको कार्यविधि पनि मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । यसँसगै उनीहरूको व्यवस्थापनमा नेपाली सेनालाई परिचालन गर्ने निर्णय गरेको छ । शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सुरक्षा परिषद्को बैठकले गरेको सिफारिसका आधारमा सरकारले सेना परिचालन गर्ने निर्णय गरेको हो । 

भारतबाहेक तेस्रो मुलुकमा रहेका करिब २५ हजार नेपालीलाई पहिलो चरणमा स्वदेश फर्काउने गरी सरकारले गृहकार्य गरिरहेको छ । शुक्रबार सिंहदरबारमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले कार्यविधि पारित गर्दै मन्त्रिपरिषद् बैठकमा लैजाने निर्णय गरेको थियो । स्वदेश फर्किने नेपालीलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कोरोना परीक्षण गरेर मात्रै स्वदेश फर्काइने प्रवक्ता डा. खतिवडाले बताए । 

३२ जेठपछि मात्रै लकडाउनको मोडालिटीमा परिवर्तन 
दुई महिना लामो लकडाउनका कारण जनजीवन कष्टकर र अर्थतन्त्र थिलथिलो बन्दै गएकाले खुकुलो बनाउन चौतर्फी दबाब परे पनि सरकारले ३२ जेठपछि मात्र त्यसबारे सोच्ने भएको छ । यस अवधिमा लकडाउनको मोडालिटीबारे उच्चस्तरीय समितिले गृहकार्य गर्नेछ । 

सरकारका प्रवक्ता डा. खतिवडाले थपिएको लकडाउनको अवधिमा मोडालिटीलाई व्यवस्थित गर्ने विषयमा आवश्यक गृहकार्य गर्न उच्चस्तरीय समितिलाई निर्देशन दिइएको बताए । ‘थपिएको लकडाउनको अवधिमा मोडालिटीलाई कसरी व्यवस्थित गर्न सकिन्छ, त्यसबारे आवश्यक गृहकार्य गरेर मन्त्रिपरिषद्मा सिफारिस गर्ने जिम्मेवारी कोरोना रोकथाम तथा नियन्त्रण समितिलाई दिइएको छ,’ उनले भने । संक्रमणको जोखिमको अवस्थालाई ठाउ“अनुसार मूल्यांकन गरेर मोडालिटी परिवर्तन गर्न सकिने उनको भनाइ छ ।