१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ जेठ १७ शनिबार १९:५७:००
Read Time : > 1 मिनेट
समाचार

सोती घटनाका घाइतेद्वारा उपचारमा बेवास्ता गरेको गुनासो 

Read Time : > 1 मिनेट
२०७७ जेठ १७ शनिबार १९:५७:००

रुकुम पश्चिम चौरजहारी नगरपालिका– ८ सोतीमा १० जेठमा भएको घटनाका घाइतेले उपचारमा बेवास्ता गरेको गुनासो गरेका छन् । उक्त घटनामा भेरी नगरपालिका– ४ रानागाउँका सुदीप खड्कासहित १२ जना घाइते भएका थिए । घटनामा पाँचजनाको मृत्यु भएको थियो भने एकजना अझै बेपत्ता छन् ।

घाइतेमध्ये सुदीपको हात र टाउकोमा चोट लागेको छ । हँसिया आक्रमणबाट हातमा गहिरो चोट लागेको छ भने टाउकोमा समेत समस्या भएको उनले बताए । उनले भने, ‘टाउको दुखिरहन्छ, लामो समय बोल्न पनि सक्दिनँ ।’

अर्का घाइते सरोज भँडेलको पिठ्युँमा चोट छ । उनकोे शरीरभर नीलडाम छन् । उनले भने, ‘सबैजना बेपत्ताको शव खोज्नतर्फ लागे । हाम्रो उपचारमा कसैले ध्यान नै दिएनन् । शरीर रातदिन दुखिरहन्छ । सपना पनि लखेटेको मात्रै देख्छु । रातभर निद्रा लाग्दैन ।’  व्यक्तिगत रूपमा उपचार गर्ने क्षमता पनि नभएको उनले दुखेसो गरे । प्रहरीले पनि तिमीहरूलाई केही भएको छैन भनेर धम्क्याउने गरेको उनी बताउँछन् । ‘हामीलाई भने पीडा सहिनसक्नु छ,’ खड्काले भने । 

‘सोती घटना योजनाबद्ध’
कर्णाली प्रदेश सभाका केही सदस्यले सोती घटना योजनाबद्ध भएको निष्कर्ष निकालेका छन् । पीडित परिवारसँगको कुराकानी, घटनास्थल र सोतीगाउँको स्थलगत अध्ययन, स्थानीयवासी र प्रत्यक्षदर्शीसँगको छलफलपछि प्रदेश सभाका पाँच सदस्यले यस्तो निष्कर्ष निकालेका हुन् ।

घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने उनीहरूको माग छ । नेकपाकी सचेतक सीता नेपालीले जातीय विभेदका कारण घटना भएको बताइन् । सचेतक नेपाली, सामाजिक विकास समितिका सभापति राजु नेपाली, सांसद रातो कामी, दानसिंह परियार र झोवा विक घटनास्थलको अवलोकन गरेर फर्केका थिए ।

यस्तै गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत नेतृत्वको टोलीले शुक्रबार जाजरकोट र रुकुम पश्चिमको घटनास्थल, शव भेटिएको ठाउँको स्थलगत अध्ययन गरेको छ । पीडित, पत्रकार, नागरिक समाजलाई पनि भेटेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआइजी वसन्तकुमार पन्त नेतृत्वको टोलीले पनि शनिबार घटनास्थलको स्थलगत अध्ययन गरेको छ । दुवै जिल्लाका सरकारी अधिकारीले समेत घटनाको विषयमा अध्ययन गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।