मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ जेठ १७ शनिबार १४:३४:००
Read Time : > 1 मिनेट
विश्व

अमेरिका : अफ्रिकी मूलका अमेरिकी व्यक्तिको हत्याले उत्पन्न तनाव 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ जेठ १७ शनिबार १४:३४:००

अमेरिकाको मिनियापोलिसलगायतका धेरै क्षेत्रका सडकमा मानिसले आक्रोशपूर्ण प्रदर्शन गरिरहेका छन् । 

एक गोरो वर्णका प्रहरीले अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको घाँटीमा घुँडाले टेकेर दबाएको भिडियो सार्वजनिक भएपछि त्यहाँ तनाव उत्पन्न भएको हो । प्रहरीले उनको घाँटी दबाएकोे केही मिनेटपछि ४६ वर्षका जर्जको मृत्यु भएको थियो । यो घटना २५ मेमा भएको थियो । 

भिडियोमा जर्जले प्रहरी अधिकारीसामु आफूलाई छोडदिन आग्रह गरिरहेको देखिन्छ । 

यस घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौविनलाई पक्राउ गरेर थर्ड डिग्रीको हत्या अभियोग लगाइएको छ । चौविनलाई सोमबार मिनियापोलिसस्थित अदालतमा उपस्थित गराइनेछ । घटनामा संलग्न डेरेक चौविन र अन्य तीन प्रहरीलाई बर्खास्त गरिएको छ । 

यो भिडियो बाहिरिएपछि मिनेसोटा सहरसहितका धेरै ठाउँमा विरोध प्रदर्शन भइरहेको छ । जर्ज फ्लोइडको हत्यामा न्यायको माग गर्दै ह्वाइटहाउसबाहिर पनि विरोध प्रदर्शन गरिरहेका छन् । 

सामाजिक सञ्चारमाध्यममा ब्ल्याक लाइभ्स म्याटर्स, जस्टिस फर जर्ज फ्लोइड जस्ता ह्यासट्याग प्रयोग गरिएको छ । 

मिनियापोलिस र सेन्ट पलमा शुक्रबार र शनिबार कर्फ्यु लगाइएको छ । प्रदर्शकारीले कर्फ्यु तोडेर टायर बाल्ने, लुटपाट गर्नेजस्ता हिंसात्मक क्रियाकलाप गरिरहेका छन् । 

नेसनल एसोसिएसन फर द एडभान्समेन्ट अफ कलर्ड पिपलले एक विज्ञप्ति जारी गर्दै यस्ता घटनाहरूले जातीय भेदभाव, जेनोफोबिया र पूर्वाग्रहबाट प्रेरित हाम्रो समाजमा काला जातिका मानिसहरूका विरुद्ध खतरनाक मिसाल बनाएको बताएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्ज फ्लोइडको परिवारलाई सान्त्वना दिएका छन् । तर, उनले गरेको एक ट्विटको कडा आलोचना भइरहेको छ । उनले लेखेका थिए, ‘जब डकैती सुरु हुन्छ, तब गोली हान्न थाल्छ ।’ 

यसभन्दा अगाडि फेब्रुअरी २३ मा सशस्त्र गोरा समूहले २५ वर्षीय अहमद आर्बेरीको गोली हानी हत्या गरे । घरमा एक गोरा प्रहरीले छापा मारेका वेला मार्च १३ मा ब्रेओना टेलरको हत्या भयो ।  

वासिङटन पोस्टले जनवरी २०१५ मा प्रहरीको गोलीबाट हत्या हुने मानिसको तथ्यांक राख्न सुरु गरेको थियो । यस तथ्यांकमा अहिलेसम्म करिब चार हजार चार सय घटना पुगिसकेका छन् । 

यसका अनुसार अमेरिकाको कुल जनसंख्यामध्ये १३ प्रतिशत मात्र अश्वेत छन्, तर प्रहरीबाट हत्या हुनेको संख्या कुल मृत्युको एकचौथाइ अश्वेत मानिस छन् । 

उक्त तथ्यांकअनुसार 

एक निर्दोष गोरा जातिको व्यक्तिको हत्या तुलनामा काला जातिका मानिसको हत्या हुने सम्भावना चार गुणा बढी छ । प्रहरीको गोलीबाट मृत्यु हुनेमा धेरै पुरुष छन् । सन् २०१५ देखि हालसम्म प्रहरीको हातबाट प्रत्येक दिन औसत तीनजनाको मृत्यु हुन्छ । 

‘म्यापिङपोलिसभ्वाइलेन्स डट ओआरजी’ वेबसाइटका अनुसार सन् २०१९ मा एक हजार ९९ मानिस प्रहरीको हातबाट ज्यान गुमाएका थिए । जसमध्ये २४ प्रतिशत काला जातिका मानिस थिए । सन् २०१९ को एक वर्षमा २७ दिन मात्र यस्तो दिन थियो, जुन समयमा प्रहरीको हातबाट एकजनाको पनि मृत्यु भएन ।