१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ जेठ १७ शनिबार १४:१२:००
Read Time : < 1 मिनेट
अर्थ

कच्चापदार्थ नपाउँदा लमजुङका कैदीबन्दी कामविहीन

Read Time : < 1 मिनेट
२०७७ जेठ १७ शनिबार १४:१२:००

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण कच्चा सामग्री अभाव हुँदा लमजुङका कैदीबन्दी कामविहीन बनेका छन् ।

कारागारभित्रै उद्यम गर्दै आएका कैदीबन्दीहरू कच्चा सामग्री अभाव भएसँगै कामविहीन बनेका हुन् । मुढा बनाउनका लागि आवश्यक टायर र धागो चितवनबाट ल्याउने गरिएको थियो । तर, अहिले लकडाउनका कारण सवारी ठप्प भएसँगै कैदीबन्दीका लागि आवश्यक सामग्री ल्याउन नसकिएको कारागारका बन्दी नाइके दिनेश परियारले बताए ।

पर्याप्त सामग्री नभएपछि एक महिनादेखि कैदीबन्दीले मुढा बुन्न नपाएको बन्दी नाइके परियारले बताए । मुढा बुन्ने आवश्यक सामग्री लमजुङमा नपाइने र बाहिरी जिल्लाबाट सामग्री ल्याउन सहज नभएकाले कैदीबन्दीको उत्पादन कम भएको कारागार प्रमुख विष्णुप्रसाद पौडेलले बताए । सामान्य समयमा कारागारमा रहेका कैदीबन्दीले मासिक ७० वटासम्म मुढा बुन्ने गर्थे ।

कैदीबन्दीहरूले सीपअनुसार सिलाइकटाइ तथा धुप बनाउने काम पनि गर्दै आएका छन् । तर, कच्चापदार्थ अभावमा धुप बनाउने काम पनि ठप्प भएको छ । त्यस्तै लकडाउनका कारण चहलपहल कम भएपछि उत्पादनले बजार पनि नपाएको कारागारले जनाएको छ । लमजुङ कारागारमा अहिले सात महिलासहित ७१ जना कैदीबन्दी रहेका छन् ।