मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १७ शनिबार १२:५१:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनका कारण घर जान नपाएकालाई सगरमाथा आरोहीको साथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १७ शनिबार १२:५१:००

कोरोना संक्रमणका कारण काम ठप्प भएर फुर्सदिला बनेका सगरमाथा आरोही मिंमा शेर्पा अहिले लकडाउनका कारण समस्यामा परेकाहरूलाई राहत प्रदान गर्न व्यस्त छन् ।

दाजुभाइले नै विश्वका आठ हजार मिटरभन्दा उच्च सबै हिमाल आरोहण गरेको विश्वरेकर्ड राख्न सफल मिंमाले सञ्चालन गरेको सेभेन समिट ट्रेक्स सबैभन्दा बढी एक्सपिडिसन ग्रुप चलाउने ट्रेकिङ कम्पनीमध्येको एक हो, तर यस वर्षको स्प्रिङ सिजनमा उनको काम ठप्प रह्यो ।

विश्वभर कोरोना भाइरस (कोभिङ– १९) संक्रमणले महामारीको रूप लिएपछि उनको व्यवसाय अहिले ठप्प छ । तैपनि उनी सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण घर जान नपाएर काठमाडौंमै फसेकाहरूलाई सहयोग गर्दै आइरहेका छन् ।

मिंमाले लकडाउन भएको केही समयपछि नै गृहजिल्ला संखुवासभामा तीन हजार केजी चामललगायतका खाद्यान्न पठाए । लकडाउन लम्बिँदै जाँदा विभिन्न जिल्लाका स्थानीय तहहरूले काठमाडौंमा समस्यामा परेका आफ्ना नागरिकको उद्धार गरे । तर, काठमाडौंबाट निकै टाढा रहेको संखुवासभाले भने अहिलेसम्म पनि आफ्ना नागरिकको उद्धार गरेको छैन ।

‘लकडाउनको अवधि लम्बिँदै जाँदा समस्यामा परेका विद्यार्थी, मजदुरलगायत विपन्नहरूलाई राहत प्रदान गर्दै आएको छु,’ मिंमाले भने, ‘पहिलो प्राथमिकतामा मेरा जिल्लावासीलाई राखेको छु । त्यसबाहेक अन्यलाई पनि सहयोग गर्दै आएको छु ।’

मिंमाले अहिलेसम्म एक हजारजनाभन्दा बढीलाई राहत प्रदान गरिसकेका छन् । राहतमा उनले प्रतिपरिवार एक बोरा चामल र दुईजनाको परिवार भएकालाई पाँच सय तथा त्योभन्दा बढी परिवार संख्या भएकालाई एक हजार नगदसमेत दिने गरेका छन् । उनले भने, ‘दाल, नुन तेलको साटोचाहिँ नगद नै दिने गरेको छु ।’