मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी
२०७७ जेठ १७ शनिबार ०७:४९:००
Read Time : > 1 मिनेट
विश्व

विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोड्ने ट्रम्पको घोषणा 

डब्ल्युएचओ चीनको कठपुतली भएको आरोप

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ जेठ १७ शनिबार ०७:४९:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सँगको सम्बन्ध पूर्ण रूपमा तोड्ने बताएका छन् । ट्रम्पले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कुनै प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्दै आइरहेका थिए । 

संयुक्त राष्ट्रसंघीय एजेन्सी डब्ल्युएचओलाई अमेरिकाले दिँदै आएको सहयोग रकम यसअघि नै बन्द गरिसकेको छ । ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनको कठपुतली भएको आरोपसमेत लगाएका छन् । 

‘हामीले विश्व स्वास्थ्य संगठनलाई स्वतन्त्र भएर काम गर्न र व्यापक सुधारका लागि अनुरोध गरेका थियौँ, तर संगठन त्यसो गर्न असफल भयो,’ ह्वाइटहाउसमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, 'आज हामी विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्दै छौँ । अमेरिकाले डब्ल्युएचओलाई दिँदै आएको रकमहरू विश्वव्यापी सार्वजनिक स्वास्थ्यमा लगानी गर्नेछ। डब्ल्युएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ, जसले अमेरिकाको तुलनामा एकदमै थोरै कोष रकम संगठनलाई दिन्छ।'

ट्रम्पले गत महिना संगठनको कामकारबाहीमा ठोस सुधार गर्न ३० दिनको समयसीमा दिएका थिए । उनले डब्ल्युएचओलाई चिठी लेख्दै चीनबाट स्वतन्त्र हुनुपर्ने यदि यसाे हुन नसके स्थायी रूपमा अमेरिकी कोष रोक्ने चेतावनी पनि दिएका थिए । उनले संगठनले गरेको गल्तीको मूल्य सारा विश्वले तिर्नुपरेकोसमेत चिठीमा लेखेका थिए । 

अहिले पनि ट्रम्पले चीनलाई निशाना बनाउँदै भने, 'सम्पूर्ण विश्व चिनियाँ सरकारले गरेको अपराधको सजायको सामना गर्दै छ। चीनले विश्वव्यापी महामारीको सुरुवात गर्‍यो र हामीले यसको मूल्य एक लाखभन्दा बढी अमेरिकीहरूको जीवनका रूपमा तिर्नुपरेको छ ।' 

ट्रम्पले भने– चीनमा पहिलोपटक भाइरस फेला पर्दा जानकारी लुकाइएको थियो । चीनले पनि समग्रमा पारदर्शिता कायम गरेन। चीनले डब्ल्यूएचओलाई प्रत्येक वर्ष चार करोड डलर कोष दिन्छ र उसलाई पूर्ण नियन्त्रणमा लिएको छ। यसको तुलनामा अमेरिकाले डब्ल्युएचओलाई प्रत्येक वर्ष ४५ करोड डलर दिन्छ।

‘कस्तो सुधार आवश्यक छ भनेर हामीले डब्ल्युएचओलाई विस्तृत रूपमा बताइसकेका थियौँ, तर त्यसो गर्न अस्वीकार गरियो। यसकारण हामी यस संगठनसँगको सम्बन्ध तोड्दै छौँ,’ ट्रम्पले भने  ।

ट्रम्पको 'अमेरिका फर्स्ट' नीति

ट्रम्प सत्तामा आएदेखि संयुक्त राष्ट्रसंघमाथि निरन्तर प्रश्न गरिरहेका छन् । ट्रम्पको 'अमेरिका फर्स्ट' नीति धेरै आक्रामक रूपमा अपनाइएको छ। यसअघि पनि ट्रम्पले अमेरिकालाई संयुक्त राष्ट्र मानवअधिकार काउन्सिलबाट अलग गरेका थिए। यसपछि, संयुक्त राष्ट्र संघको सांस्कृतिक एजेन्सी युनेस्कोबाट अमेरिकाले आफूलाई अलग गर्‍याे, जलवायु परिवर्तन सम्झौताबाट अलग भयो र इरानसँगको आणविक सम्झौता पनि तोड्यो।