मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ जेठ १७ शनिबार ०६:२०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोना त्रासले हुन सक्छ  एन्जाइटी डिसअर्डर

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ जेठ १७ शनिबार ०६:२०:००

मनोविद्को सल्लाह

आदर्श प्रधान
मनोविद्, होलिस्टिक 
माइन्ड्स एन्ड लाइफ
सेलिब्रेसन सेन्टर

कोरोना संक्रमित दिनहुँ बढिरहँदा लकडाउनमा कडाइ गरिएको छ । यससँगै मानिसमा डर पनि पैदा भएको छ । यस्तो अवस्थाले विभिन्न प्रकारका मानसिक समस्या निम्त्याउँछ । ‘एन्जाइटी डिसअर्डर’ तीमध्ये एक हो ।

-पटक–पटक हात धुने, स्यानिटाइजरको प्रयोग र भौतिक दूरी बनाएर मात्र पुग्दैन, मनको सफाइ र स्याहार पनि आवश्यक छ । संयुक्त राष्ट्रसंघले केही दिनअघि कोभिड–१९ को महामारीले गम्भीर मनोसामाजिक समस्या तीव्र गतिमा फैलिरहेको बताएको छ ।

-शरीर र मनबीच नङ–मासुको जस्तै गहिरो सम्बन्ध छ । शरीरमा समस्या आउँदा मन र मन विचलित हुँदा शरीर प्रभावित हुन्छ । यतिवेला कोभिड–१९ को डरले शारीरिक, मानसिक र भावनात्मक असर पुर्‍याइरहेको छ ।

-मानिसलाई कुनै जोखिम महसुस भयो भने शरीरले एक किसिमको प्रतिक्रिया देखाउँछ । मनमा डर पैदा हुनुलाई सामान्य मान्न सकिन्छ । तर, कुनै प्राकृतिक कारणविना नै डर लाग्ने र त्यसले दैनिक क्रियाकलापलाई असन्तुलित बनाएको छ भने त्यसले ‘डिसअर्डर’को रूप लिन सक्छ, जसलाई ‘एन्जाइटी डिसअर्डर’ भनिन्छ ।

-जेनरलाइज्ड, सोसल, सेपरेसन, एगोराफोबिया र प्यानिकलगायत विभिन्न प्रकारका डिसअर्डर हुन्छन् । यो समस्या जुनसुकै उमेर समूहका मानिसलाई पनि हुन सक्छ ।

 कारण

-एन्जाइटी डिसअर्डर यही कारणले हुन्छ भन्न सकिन्न । एन्जाइटी बढाउन विभिन्न पीडादायी घटनाको भूमिका हुन्छ । वंशाणुगत कारणले पनि यो समस्या हुने गर्छ ।

-अहिले आफूमा पनि कोरोना भाइरसको संक्रमण हुन सक्ने सोचले मानिसले असुरक्षित महसुस गरिरहेका छन्, जसले एन्जाइटीको जोखिम बढाएको छ ।

-जागिर गुम्ने, व्यवसायमा घाटा हुनेलगायत चिन्ताले असुरक्षाको भावना पैदा गरेको छ ।

लक्षण

-एन्जाइटी डिसअर्डर भएमा मुटुको धड्कन बढ्ने, श्वास–प्रश्वास छिटो–छिटो हुने, पटक–पटक पिसाब लाग्नेलगायत लक्षण देखिन्छन् ।

-सुरुमा निद्रा नलाग्ने र लागिहाले पनि बीचमा ब्युँझिएपछि फेरि निदाउन गाह्रो हुने गर्छ ।

रोकथाम

-सधैँ कोरोनाको कुरा मात्र सोचेर बस्नु हुँदैन । सामाजिक सञ्जालको प्रयोग कम गर्नुपर्छ । कोरोनाबारेका समाचारलाई कम सुन्ने, पढ्ने वा हेर्ने गर्नुपर्छ । परिवार, साथीभाइसँग रमाइला गफ गर्दै समय बिताउनुपर्छ ।

-सामान्य एन्जाइटी मनोविद्सँगको नियमित परामर्शले निको हुन्छ  । तर, कठिन महसुस भएको छ भने मनोचिकित्सकसँगको सल्लाहबाट औषधि सेवन गर्नुपर्छ ।

-फुर्सदिलो समयको उपयोग गर्दै दैनिक योग, ध्यान र प्राणायाम गर्नु लाभप्रद हुन्छ । नियमित ध्यानले नकारात्मक सोच कम गर्नुका साथै प्रतिकूल अवस्थामा संयमित बनाउँछ । शरीरलाई सक्रिय राख्न शारीरिक व्यायाम पनि गर्नुपर्छ ।

-सन्तुलित भोजन लिनुपर्छ  । मदिरा, चुरोट, सुर्ती र लागुपदार्थबाट टाढा रहनुपर्छ । बिहान मौसमी फलफूल खानुपर्छ । खानासँगै काँक्रो, गाँजर, मूलाजस्ता ताजा फलफूल र कन्दमूलको सलाद खानु राम्रो हुन्छ ।

-दिनमा केही समय सुमधुर संगीत सुन्ने बानी बसाल्नुपर्छ । उत्प्रेरणामूलक पुस्तक बढ्दा पनि सकारात्मक सोच बढाउन मद्दत पुग्छ ।

-बिहानीपखको घाममा बस्ने र ताजा हावामा टहल्ने बानीले पनि शरीरमा स्पूmर्ति दिलाउनुका साथै मनलाई ताजा महसुस गराउँछ ।