१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १६ शुक्रबार २२:०६:००
Read Time : > 1 मिनेट
समाचार

रुकुम हत्याकाण्डको विरोधमा देशभर प्रदर्शन, संसदीय छानबिन समिति बनाउन माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १६ शुक्रबार २२:०६:००

दलहरूका दलित भ्रातृ संगठनका नेता, सांसद र दलित नागरिक अगुवाहरूले पश्चिम रुकुममा भएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउन माग गरेका छन् । सरकारले बनाएको कर्मचारीस्तरको छानबिन समिति कर्मकाण्डी मात्रै भएको आरोप लगाउँदै उनीहरूले दलित सांसदको नेतृत्वमा विशेष संसदीय समिति बनाउन माग गरेका हुन् । 

शुक्रबार भएको दलित सर्वदलीय सर्वपक्षीय बैठकले कथित माथिल्लो जातकी किशाेरीलाई दलितले प्रेम गरी विवाह गर्न चाहेकै आधारमा कुटपिट गरी बीभत्स हत्या हुनु दुःखद भएको र छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने निर्णय गरेको छ । नेकपाका नेता जितु गौतमले सरकारले बनाएको कर्मचारीस्तरको छानबिन समिति खारेज गरी तत्कालै दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समिति बनाउनुपर्ने बैठकमा निर्णय भएको बताए ।

कांग्रेस सांसद मीन विश्वकर्माले कर्मचारीस्तरको छानबिन समिति कर्मकाण्डी मात्रै हुने बताए । उनले संसदमा पटकपटक त्यसबारे माग उठाए पनि सुनुवाइ नभएको गुनासो गरे । 

सामाजिक अभियन्ता शिवहरि ज्ञवालीका अनुसार दलित समुदायको संलग्नताविनाको अनुसन्धान फितलो हुन्छ । उनले भने, ‘कर्मचारीस्तरको छानबिन समितिले भत्ता खाने मात्रै हो, उपलब्धि हुन्न, यस्तो बीभत्स घटनाको अध्ययनका लागि छुट्टै छानबिन समिति बनाउनुपर्छ ।’

पूर्वसांसद विनोद पहाडीका अनुसार सरकारी छानबिन समिति औपचारिकताका लागि मात्रै हुन्छ । पहिले पनि यस्ता समितिले गरेका काम निरर्थक छन् । घटनाको विवरणसमेत उल्टोपाल्टो हुने गरेको उनको भनाइ छ । यस्तै सरकारी छानबिन समितिमा रहेका व्यक्तिमा पनि विभेदकारी चिन्तन हाबी हुने हुँदा सत्यतथ्य आउन नसक्ने लेखक तथा अनुसन्धानकर्ता जेबी विश्वकर्मा बताउँछन् । 

रुकुम हत्या काण्डलाई लिएर सांसदहरू सडकमा उत्रिएका छन् । घटनाको विरोध र दोषीलाई कारबाहीको माग गर्दै देशैभरि दलित अधिकारकर्मी, विद्यार्थी, सामाजिक अभियन्ता, संघसंस्था र नागरिक अधिकारकर्मीहरूले विरोध प्रदर्शन सुरु गरेका छन् । काठमाडौंको माइतीघरमा दैनिक निरन्तर विरोध प्रदर्शन भइरहेका छन् । यस्तै रुकुम र जाजरकोटमा पनि दैनिकजसो ऱ्याली र धर्ना भइरहेको छ । प्रदेश १ का १४ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन सुरु भएको सुनसरीकी दलित अधिकारकर्मी शान्ति गजमेरले बताइन् । सर्लाही, जनकपुर, बुटवल, कैलाली, पाल्पालगायत ठाउँमा पनि दैनिक विरोध कार्यक्रम भइरहेका छन् । नेपाल दलित पत्रकार संघका उपाध्यक्ष गोपाल बराइलीले देशभर एकसाथ विरोध प्रदर्शन कार्यक्रम सुरु गरिएको बताए । 

रुकुम चौरजहारी नगरपालिका– ८ सोतीमा कथित माथिल्लो जातकी किशाेरीलाई भगाएर प्रेमविवाह गर्न १८ जना साथीहरूसहित गएका जाजरकोट भेरी नगरपालिका– ४ का नवराज विकलाई गाउँलेले कुटपिट गर्दा मृत्यु भएको थियो । घटनामा नवराजसहित उनका साथीहरू चारजनाको पनि मृत्यु भएको छ । अर्का एकजना बेपत्ता छन् । कुटपिटपछि भाग्ने क्रममा उनीहरू खोलामा हामफालेको हुन सक्ने आशंका छ । पाँचैजनाको शव खोलामा भेटिएको थियो ।