मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १६ शुक्रबार २१:००:००
Read Time : > 1 मिनेट
समाचार

पुनर्निर्माणका क्रममा कोरोनाको जोखिमबाट जोगिन पुनर्निर्माण प्राधिकरणले तयार पाऱ्यो मापदण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १६ शुक्रबार २१:००:००

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका क्रममा कोरोना भाइरस (कोभिड– १९) संक्रमण जोखिम न्यूनीकरणका लागि पालना गर्नुपर्ने मापदण्ड तयार पारेको छ । मापदण्डलाई प्राधिकरणको कार्यकारी समितिको बैठकले स्वीकृत गरेको हो । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मापदण्ड तयार भइसकेकाले अब पुनर्निर्माण अघि बढाउन सहज हुने बताए । मापदण्डअनुसार पुनर्निर्माणका क्रममा सम्बन्धित निर्माण व्यवसायी वा उपभोक्ता समितिले उपलब्ध भएसम्म कार्यस्थल रहेको बस्ती, वडा, स्थानीय तह र जिल्लाको जनशक्ति प्रयोग गर्नुपर्नेछ । सम्बन्धित स्थानीय तहभन्दा बाहिरका जनशक्ति परिचालन गर्नुपर्दा स्थानीय तहको वडा कार्यालयसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउनुपर्नेछ । 

यस्तै, कामदारलाई काममा लिनुअघि स्थानीय स्तरमा उपलब्ध स्वास्थ्य परीक्षणबाट कोरोना भाइरस नभएको यकिन गर्ने, परीक्षणको विवरण राख्ने, कामदारलाई कार्यस्थल वा सोको नजिक उपयुक्त स्थानमा अस्थायी बसोवासस्थलको व्यवस्था गरी राख्ने,  सुपरिवेक्षकको अनुमतिविना कामदारहरू कार्यस्थलबाट अन्यत्र आफूखुसी हिँडडुल गर्न नपाउनेलगायतका व्यवस्था गरिएको छ । सम्बन्धित निर्माण व्यवसायी र उपभोक्ता समितिले प्रत्येक कामदारलाई कोरोना संक्रमण जोखिमबाट बच्ने उपायहरूबारे काममा लगाउनुपूर्व जानकारी दिनुपर्नेछ । 

मापदण्डअनुसार कार्यस्थल र क्याम्पमा हात–मुख धुनका लागि साबुनपानीकाे बन्दोबस्त, मास्कको उपलब्धता, ज्वरो नाप्न थर्मोमिटर, न्यूनतम सामाजिक र भौतिक दूरी कायम हुनुपर्ने, खानेपानीको व्यवस्थाका लागि सबै कामदारलाई आफ्नो छुट्टै भाँडोको उपलब्धता हुनुपर्नेछ । 

निजी आवास पुनर्निर्माण सुचारु गर्नुभन्दा पहिले सम्बन्धित वडा कार्यालयलाई सोको जानकारी गराई प्राप्त सुझाबबमोजिम मात्र कार्य प्रारम्भ गर्नुपर्नेछ । उपलब्ध भएसम्म स्थानीय कामदारलाई काममा लगाउनुपर्नेछ । 

यसैगरी खाद्य आपूर्ति तथा ज्याला भुक्तानी,  कोरोना भाइरसको लक्षण देखिएमा अपनाउने सतर्कता, निर्माण सामग्रीको आपूर्ति व्यवस्थापन, कार्यालय तथा बैठक व्यवस्थापन, समन्वय, सहजीकरण र अनुगमनसम्बन्धी पनि मापदण्ड तोकिएको छ । २४ वैशाखको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षासम्बन्धी विभिन्न मापदण्डहरूको पालना गरी विकास आयोजनासम्बन्धी कार्य सुचारु गर्न सकिने निर्णय गरेको थियो ।