डोल्पाका दुई वृद्धा नेपालगन्जमा तीन महिनादेखि अलपत्र परेका छन् । ठूलीभेरी नगरपालिका– १ दुनै बजारकी सीताकुमारी शाही र लक्ष्मी मल्ल ठकुरी नेपालगन्जमा अलपत्र परेका हुन् ।
उनीहरू १७ फागुनमा उपचारका लागि नेपालगन्ज गएका थिए । सहयोग रकम उठाएर उपचारका लागि गएका उनीहरूसँग खर्च सकिएपछि अलपत्र परेका हुन् । ‘नेपालगन्जको सम्झना चोकमा भाडाको कोठामा बसेका छौँ, अब एक सुका छैन, खानेकुरा केही पनि छैन, चर्को गर्मीमा भोकभोकै बस्नुपरेको छ,’ मल्लले भनिन्, ‘नजिकैको जंगलबाट बेल खोजेर भोक मेटाउने गरेका छौँ, घरबेटीले कोठा छोड्न भनेका छन्, चिनेको कोही छैन, हामीलाई उद्धार गर्नुपऱ्यो ।’ शाहीको उपचारमा रेखदेख गर्ने भन्दै लक्ष्मी मल्ल पनि सँगै गएकी हुन् ।
नेपालगन्जको एक अस्पतालमा भर्ना भएकी शाहीलाई पैसा नपुग्ने भन्दै ९ चैतमा अप्रेसन नै नगरी फर्काइएको थियो । पेटको अप्रेसन गर्नुपर्ने भए पनि पैसा नपुग्ने भन्दै अस्पतालले फर्काएकोे शाहीले दुखेसो गरिन् । उनीहरूलाई सदरमुकाम दुनैका उद्योगी, व्यापारीहरूले चन्दा संकलन गरेर उपचारका लागि नेपालगन्ज पठाएका थिए ।