मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १६ शुक्रबार ०९:३०:००
Read Time : > 1 मिनेट
समाचार

बजेटमाथि तीन पूर्वप्रधानमन्त्रीको प्रतिक्रिया

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १६ शुक्रबार ०९:३०:००

समाजवादउन्मुख बजेट आएकाले खुसी छु : प्रचण्ड, पूर्वप्रधानमन्त्री

समग्रमा बजेट कोरोना महामारीको विषम परिस्थितिमा पनि निक्कै सन्तुलित, जनतालाई राहत दिने किसिमले सिर्जनात्मक, प्रगतिशील, जनपक्षीय र समाजवादउन्मुख आएको छ ।

यस अर्थमा म खुसी छु ।

बजेटले जनताका सबै समुदाय, अझ त्यसमा पनि मुख्यतः निम्न वर्गका जनतालाई राहत दिने जुन प्रयास गरेको छ, त्यो सराहनीय छ ।

अहिलेको परिस्थिति जटिल छँदै छ, तर पनि आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको जुन अनुमान गरिएको छ, त्यो वस्तुवादी नै छ । 

बजेटले ठूलो क्यान्सर रोगलाई झारफुक मात्रै गर्‍याे ः डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री

विशिष्ट प्रकृतिको समस्या समाधानका लागि विशिष्ट प्रकृतिबाटै बजेट आउन सकेन । ठूलो क्यान्सरको रोगलाई झारफुक गरेजसरी बजेट आयो भन्ने मलाई लागेको छ । एकीकृत ढंगले बजेट आएन । त्यसैले समग्रमा बजेटले समस्या समाधान गर्छ जस्तो लाग्दैन । एउटा निरन्तरताका रूपमा आएकाले अहिलेको समस्या समाधान गर्दैन ।

उदाहरणका लागि रेलका लागि किन छुट्याउनुपथ्र्यो, यो वर्ष नगरे हुँदैन ? त्यसमा पनि बजेट विनियोजन गरिएको छ । फेरि पनि पानीजहाजको कुरा गरिएको छ । राहत र सामाजिक सुरक्षाको बजेट पनि कनिका छरेजसरी आएको छ । यसरी कनिका छर्ने तरिकाले अहिलेको समस्या समाधान हुँदैन । 

दशौँ लाख नेपाली रोजगारी गुमाएर स्वदेश फर्किंदै छन् र उनीहरू ग्रामीण क्षेत्रमा जाने भएकाले हामीले रोजगारी सिर्जना गर्नका लागि कृषि क्षेत्रको रूपान्तरण हुनुपर्छ भनेका थियौँ । त्यसैले नीति तथा कार्यक्रम र बजेट त्यही ढंगले आउनुपथ्र्यो । पोहोर कृषिको क्षेत्रको बजेट ३४ अर्ब थियो अहिले ४१ अर्ब पुर्‍याइएको छ ।

यसरी सात अर्ब मात्र बढाएर दशौँ, पन्ध्रौँ लाख युवालाई नयाँ ढंगले रोजगारी सिर्जना गर्न सकिन्छ ? सकिँदैन । शिक्षामा पनि त्यस्तै छ । गरिबीको रेखामुनि १६ दशमलव ७ प्रतिशत भनिएको छ, त्यसमा अब करिब १० प्रतिशत बढ्छ भन्ने अनुमान गरिँदै छ । वर्षौंदेखि पूरा नभएका निरन्तरका योजनामा किन बजेट छर्नुपर्थ्यो? 

अहिलेको आवश्यकता बोध गर्ने गरी बजेट आएको छ : माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री 

बजेटले अहिलेको आवश्यकतालाई बोध गरेको छ, राम्रो छ ।

खासगरी कोरोना संक्रमण व्यापक रूपमा फैलिरहेको वेलामा कसरी रोगको सामना गर्ने, स्वास्थ्यको समस्यालाई कसरी सम्बोधन गर्ने, भोकको समस्या, रोजगारीको समस्या हल गर्ने, कृषि क्षेत्रलाई प्रोत्साहन दिने विषयलाई बजेटले समेटेको छ ।

यसैगरी आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजाने, सेवासँग सम्बन्धित व्यवसाय, उद्योगधन्दाहरू, ऋणमा परेका संकटमा परेकाहरूलाई केकति मात्रामा सहुलियत र राहत दिन सकिन्छ जस्ता धेरै विषय बजेटले समेटेको छ ।