१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
त्रिनगर भन्सार नाकामा विहीबार दिउँसो घर फर्कनेको भीड ।
२०७७ जेठ १५ बिहीबार २१:२४:००
Read Time : > 1 मिनेट
समाचार

नाकामा रोकिएन घर फर्कनेको भिड, त्रिनगरबाट ११ दिनमा २४ हजार भित्रिए

Read Time : > 1 मिनेट
२०७७ जेठ १५ बिहीबार २१:२४:००

कैलालीको त्रिनगर भन्सार नाका हुँदै भारतबाट दिनहुँ सयौँ नेपाली स्वदेश फर्किरहेका छन् । कोरोना भाइरस महामारीका कारण भारतमा रोजगारी गुमाएकाहरूको यो लर्को ११ दिनदेखि जारी छ । करिब दुई महिनासम्म बन्द यो नाका खुला गरिएपछि भारतबाट फर्कनेको भिड लाग्न थालेको हो । 

नाका खुला गरिएको २ जेठयता मात्रै त्रिनगर नाका भएर २४ हजार एक सयजना भित्रिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतीय बजार पलियामा करिब दुई महिना क्वारेन्टाइनमा बसेका तीन सय ८४ जनालाई २ जेठमा पहिलोपटक प्रवेश अनुमति दिइएको थियो । ३ देखि ७ जेठसम्म एक हजार दुई सय ३२ जना भित्रिएका थिए ।

यस्तै ८ जेठमा दुई हजार चार सय ९८ जना, ९ जेठमा दुई हजार ११ जना, १० जेठमा एक हजार नौ सय ५९ जना र ११ जेठमा तीन हजार नौ सय ८८ जना भित्रिएको प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । सबैभन्दा बढी १३ जेठमा पाँच हजार १६ जना भित्रिएका छन् ।

यसैगरी १२ जेठमा दुई हजार दुई सय २७ जना र १४ जेठमा चार हजार सात सय ९४ जना भित्रिएका सूचना अधिकारी जोशीले बताए ।

बिहीबार बिहान १० बजेबाट नाका खुला गरिएकोमा दिउँसो १ बजेसम्म दुई हजार ६ सयजना भित्रिसकेको सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले जनाएका छन् । त्रिनगर नाकामा विभिन्न सामाजिक संघसंस्थाहरूले उनीहरूलाई खाना र पिउने पानीको व्यवस्था गरिरहेका छन् । घर फर्केकाहरूलाई नाकाबाट सीधै सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाइएको छ । कतिपय स्थानीय तहले यातायातका साधन पठाउने गरेका छन् । गन्तव्यमा पुऱ्याउनका लागि प्रदेश सरकारले पनि यातायातको व्यवस्थापन गरिरहेको छ । 

स्वास्थ्य परीक्षणविना पठाइँदा कोरोना संक्रमणको जोखिम 
भारतबाट फर्कनेहरूको सीमानाकामा सामान्य स्वास्थ्य चेकजाँचसमेत हुन सकेको छैन । स्थानीय तह र प्रदेश सरकारले व्यवस्थापन गरेका गाडीबाट नाकाबाटै उनीहरूलाई गन्तव्यमा पठाउने गरिएको छ । प्रदेश सरकारले भने स्थानीय तहको समन्वयमा फर्केका सबैलाई क्वारेन्टाइनमा राखेको जनाएको छ ।

भारतबाट फर्केकाहरू सीधै गाउँ जाँदा कोरोना संक्रमण फैलने जोखिम पनि बढेको छ । प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले उनीहरूलाई क्वारेन्टाइनमा सुरक्षित व्यवस्थापन गर्न नसके सुदूरपश्चिममा कोरोनाको महामारीले भयावह रूप लिन सक्ने चेतावनी दिए । त्रिनगर नाका भएर फर्केकामध्ये सातजनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।