१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फोटो
अजित अधिकारी काठमाडौं
२०७७ जेठ १५ बिहीबार २१:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पेट्रोल, डिजेल र मट्टीतेलमा भन्सार बढ्यो, उपभोक्ताको थाप्लोमा मासिक पौने दुई अर्बको राजस्व भार 

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ जेठ १५ बिहीबार २१:०१:००

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेटमार्फत पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको भन्सार शुल्कमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेका छन् । यो वृद्धिपछि शुक्रबारदेखि नेपाल भित्रिने पेट्रोलमा २५.२० रुपैयाँ, डिजेल र मट्टीतेलमा समान १२–१२ रुपैयाँ प्रतिलिटर भन्सार शुल्क लाग्नेछ ।

यसअघि पेट्रोलमा १५.२० रुपैयाँ र डिजेल तथा मट्टीतेलमा २–२ रुपैयाँ प्रतिलिटर भन्सार शुल्क लाग्ने गरेको थियो । ठूलो अन्तरमा भन्सार शुल्क वृद्धि गर्दा यसअघिको तुलनामा मासिक दुई अर्ब रुपैयाँ कर बढी उठ्नेछ । यता, विमान कम्पनीहरूको मागलाई सम्बोधन गर्न सरकारले पूर्वाधार विकास करबापत हवाई इन्धनमा लाग्दै आएको १० रुपैयाँ कर भने हटाएको छ । यो शीर्षकमा मासिक १५–१६ करोड रुपैयाँ राजस्व उठ्दै आएको थियो ।

हवाई इन्धनमा लगाएको कर हट्ने र पेट्रोल, डिजेल र मट्टीतेलमा कर वृद्धि गर्दा सरकारले मासिक रूपमा पौने दुई अर्ब रुपैयाँ बढी राजस्व पाउनेछ । आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार सामान्य अवस्थामा पेट्रोलियम खपत हुँदा मासिक करिब पाँच अर्ब रुपैयाँ सरकारलाई राजस्व बुझाउने गरिएको थियो । ‘अबका दिनमा निगमबाट सरकारले झन् बढी राजस्व पाउनेछ,’ उनले भने, ‘स्थिति सामान्य भएर पेट्रोलियम पदार्थको खपत पुरानै अवस्थामा आएपछि प्रतिमहिना करिब सात अर्ब रुपैयाँका दरले राजस्व सरकारले पाउनेछ ।’

‘तत्काल मूल्यवृद्धि भने गर्दैनौँ’
पेट्रोल, डिजेल र मट्टीतेलमा कर वृद्धि गर्दा त्यसको भार उपभोक्तामा पर्नेछ । किनभने निगमले करसहित सबै शीर्षकका खर्च जोडेर उपभोक्ता मूल्य तोक्ने गरेको छ । यद्यपि, लकडाउनभरि मूल्यवृद्धि नहुने आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । ‘सरकारले कर वृद्धि गरे पनि हामीले तत्काल मूल्यवृद्धि गर्दैनाैँ,’ उनले भने ।

पेट्रोलियम पदार्थमा मूल्य अभिवृद्धि करबाहेक भन्सार शुल्क, प्रज्ञापन शुल्क, पूर्वाधार विकास कर, प्रदूषण शुल्क र मूल्य स्थिरीकरण कोषका लागि कर जम्मा गर्दै आएको छ । यी शीर्षकबाट अबका दिनमा पेट्रोलबाट ५२.७३ रुपैयाँ, डिजेलबाट ३६.१५ रुपैयाँ र मट्टीतेलबाट १२.८८ रुपैयाँ प्रतिलिटर कर उठ्नेछ । पेट्रोलमा लगाइएको कर अहिलेको बजार मूल्यको तुलनामा आधाभन्दा बढी हो ।

पेट्रोलियम पदार्थमा गरिएको कर वृद्धिले तत्कालै बजार भाउमा असर देखिनेछ । सरकारले आगामी आर्थिक वर्षमा मूल्यवृद्धि दर ७ प्रतिशतमा राख्ने बताए पनि पेट्रोलियम पदार्थमा गरिएको करवृद्धिले मूल्य आकासिने देखिन्छ ।