मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १५ बिहीबार २०:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

बजेटमाथि विपक्षीकाे प्रतिक्रिया : कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन

Read Time : > 1 मिनेट
२०७७ जेठ १५ बिहीबार २०:३८:००

विपक्षी दलका नेताहरूले भने बजेटको आलोचना गरेका छन् ।  पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले बजेट परम्परागत रूपमा आएकाले वर्तमान समस्याको समाधान नगर्ने बताए । 

वित्तीय व्यवस्थापनको क्षेत्रमा सिद्धान्तको रूपमा ठीक रहेको उल्लेख गर्दै उनले  कोरोना महामारीबाट न्यूनीकरणका लागि गरिएको व्यवस्था, व्यवसायीलाई राहत दिने, रोजगारी सिर्जना गर्ने, कृषि क्षेत्रमा प्राथमिकता दिने कुरा कार्यान्वयनमा जान कठिन हुने गरी बजेट ल्याइएको बताए ।

उनले बजेट चालू आर्थिक वर्षको भन्दा कम भएको र राजस्वसमेत घटेको अवस्थामा विशेष क्षेत्रलाई बढी लक्षित गरेर बजेट ल्याउनुपर्ने बताए । स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटले अहिलेको परिस्थितिसँग जुध्न कठिन हुने उनको भनाइ छ ।  ‘अहिले रेलको कुरा किन चाहियो, यो वर्ष नगरे हुँदैन ?’ उनले भने, ‘पानीजहाजको कुरा फेरि आएको छ । यसले अहिलेको संकट समाधान गर्दैन ।’

स्वदेशमा र विदेशमा रोजगारी गुमाएकालाई कृषि क्षेत्रमा रोजगारी दिने भनिए पनि जम्मा सात अर्ब रुपैयाँ मात्र बजेट थप गरिनु पर्याप्त नहुने भट्टराईको भनाइ छ । 

बजेटपछि ट्वीटमार्फत पनि डा.भट्टराइले प्रश्न उठाएका छन्, 'यो बर्षको बजेट सँगसँगै पेहोर सालको बजेट-बक्तव्य पनि खोलेर हेर्नुहोला ! बजेट शीर्षक केही फरक परे पनि धेरै कुरा हुबहु उही छन्।बजेटको आकार मात्रै उस्तै हैन स्वास्थ्य, सामाजिक सुरक्षा, कृषि, शिक्षाजस्ता प्राथमिकता दिने भनिएका क्षेत्रमा रकम विनियोजन पनि उस्तैउस्तै छ। यसले समस्या हल होला ?'

पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटमा धेरै कुरा आएको भए पनि प्राथमिकतामा कुनै पनि क्षेत्र नपरेको टिप्पणी गरे । स्वास्थ्य, रोजगारी तथा शिक्षामा आएका विषयहरू पुरानै प्रकृतिको भएको उनले बताए । 

कृषि क्षेत्रको विकासमा पनि खासै योजना आउन नसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम बढाइएको र उक्त रकम फेरि दुरुपयोग हुनेगरी ल्याइएको बताए । 

समग्रमा बजेट आश्वासनमुखी भए पनि कार्यान्वयनको दिशामा विगतको निरन्तरतालाई जोड दिएको बताए । 

जनता समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले बजेटमा पूरा हुने कुनै पनि योजना नआएको बताए । कनिका छरेजस्तो बजेटमा उल्लेख भएका कुराहरू केही पनि पूरा हुने अवस्था नरहेको उनले बताए । बजेटको स्रोतको मूल आधार वैदेशिक ऋण र सहयोग हुने भनेर काल्पनिक बजेट आएको उनको भनाइ छ । ।

कांग्रेस सांसद गगन थापाले सरकारले अहिलको परिस्थितिलाई ख्याल नगरी बजेट ल्याइएको बताए । सरकारले अबको २–३ महिनाभित्रै कोरोना पूर्ण रूपमा नियन्त्रणमा आउने विश्वासका साथ खर्च जुटाउने र खर्च गर्ने संकल्प लिएको बताए । कोरोनाबाट नेपाल मुक्त हुने र यसबाट हामी केही पनि प्रभावित हुँदैनौँ भन्ने आत्मविश्वास राखेको उनले बताए ।