मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ जेठ १५ बिहीबार ०९:५६:००
Read Time : > 1 मिनेट
विश्व

चिनियाँ सर्वेक्षक टोली सगरमाथाको चुचुरोमा 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ जेठ १५ बिहीबार ०९:५६:००

सगरमाथाको उचाइ पुनः मापन गर्नका लागि चिनियाँ सर्वेक्षकको एक टोली बुधबार सगरमाथाको चुचुरोमा पुगेको छ । 

चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार आठजना आरोही स्थानीय समयअनुसार बुधबार बिहान ११ बजे सगरमाथाको चुचुरोमा पुगेका हुन् । 

चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्– चीनले हिमालको सर्वेक्षण गर्ने आफ्नो लक्ष्यमा यसलाई एक महत्वपूर्ण कदमको रूपमा लिएको छ । यसले प्रकृतिसम्बन्धी मानवीय ज्ञान बढाउने र वैज्ञानिक विकासलाई बढावा दिनेछ । आरोहणको क्रममा केही वैज्ञानिक र पर्वतारोहणसम्बन्धी उपकरणहरू पनि त्यहाँ सेट गरिएका छन् । 

सगरमाथासम्बन्धी वास्तविक तथ्यहरू पत्ता लगाए यसले विश्वको पृथ्वी विज्ञान अनुसन्धानमा ठूलो योगदान पुऱ्याउन सक्छ, जुन सामाजिक र वैज्ञानिक दुवै पक्षबाट महत्वपूर्ण रहेको चिनियाँ वैज्ञानिक बताउँछन् ।  

कोरोना भाइरसको महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा मान्छे पुगेको यो पहिलोपटक हो । भाइरसको महामारी फैलिएपछि चीन र नेपालतर्फबाट यो सिजनमा सगरमाथा आरोहणका लागि रोक लगाइएको छ । 

सगरमाथाको नयाँ तथ्य पत्ता लगाउन चीनले बेइडो नेभिगेसन स्याटलाइट सिस्टम (बिडिएस) को प्रयोगबाट गर्नेछ । उचाइ नाप्न प्रयोग गरिने सबै उपकरण चीनमै विकास गरिएका हुन् । 

सगरमाथाको उचाइ नाप्न र यसको सम्पूर्ण प्रक्रिया सक्न दुईदेखि तीन महिनासम्म लाग्न सक्ने चीनको प्राकृतिक संसाधन मन्त्रालयले जनाएको छ । 

सर्वेक्षक टिमले चुचुरोमा हिउँको गहिराइ, गुरुत्वाकर्षण र मौसम पनि सर्वेक्षण गरेका छन् । टोली चुचुरोमा साढे दुई घन्टासम्म बसेकाे थियाे । 

करिब तीन सय वर्षअगाडि चीनले सगरमाथाको पहिलो सर्वेक्षण गरेको थियो । सन् १९४९ पछि चिनियाँ सर्वेक्षकहरूले ६ चरणमा सगरमाथासम्बन्धी वैज्ञानिक अनुसन्धान गरेका थिए । सन् १९७५ मा सगरमाथाको उचाइ ८,८४८.१३ मिटर र सन् २००५ मा ८,८४४.४३ मिटर कायम गरेका थिए । 

गत अक्टोबरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको क्रममा दुई देशले संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो । अहिलेसम्म चीनले नेपालको भन्दा चार मिटर उचाइ कम राखेको छ । यसलाई ०७२ मा नेपालमा आएको ठूलो भूकम्पले प्रभाव पारेको पनि हुन सक्ने बताइएको छ । 

नेपालले पनि यसअघि सगरमाथाको उचाइ नापिसकेको छ । तर, दुई देशको तथ्य फरकफरक आयो भने के गर्ने भनेर अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन ।