मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १५ बिहीबार ०८:५४:००
Read Time : > 5 मिनेट
मुख्य समाचार

सरकारले गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने प्रयास गरिरहेको छ : प्रधानमन्त्री 

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १५ बिहीबार ०८:५४:००

प्रधानमन्त्री केपी ओलीले सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित रहेको बताएका छन् । १३औँ गणतन्त्र स्थापना दिवसका अवसरमा देशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । 

संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्ने गरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रूप लिन नसक्ने उनको भनाइ छ । 

१२ वर्षको अवधिमा मुलुकले महत्वपूर्ण उपलब्धि हासिल गरेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले भनेका छन्, ‘जनताको चेतनाले ठूलो फड्को मारेको छ  । वर्षौँदेखि मूर्छित विकास र समृद्धिका सपनाहरूले साकार रूप लिन थालेका छन् । आफ्नो देश आफैँ बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको छ । राष्ट्रिय एकता सुदृढ भएको छ !’

प्रधानमन्त्रीले सम्बोधनमा भने, ‘आफ्नो  निर्णय आफैँ गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढंगले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको छ । विश्व रंगमञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा अगाडि बढाइरहेको मुलुकको रूपमा नेपालको छवि बलियो बन्दै गएको छ ।’

सम्बोधनको पूर्ण पाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !

आज तेह्राैँ गणतन्त्र दिवस । सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

आफ्नो जिन्दगी उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । गणतन्त्र प्राप्तिको यस कष्टसाध्य र लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु ।

जनता साँचो अर्थ सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविष्मरणीय दिन हो ।  गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो । यस उत्सवमा म यहाँहरू सबैलाई पुनः हार्दिक बधाई ज्ञापन गर्दछु ।

मानव सभ्यताको विकास क्रममा सामाजिक प्रबन्ध र राज्यहरूको उत्पत्ति गणराज्यहरूबाटै भएको थियो । लोकतान्त्रिक विधिबाट निर्वाचित हुने गणनायकहरूबाट गणराज्यहरूको व्यवस्थापन हुने र हरेक महत्वपूर्ण निर्णयहरू जनताको अभिमतबाट निर्णीत हुने यस्तो व्यवस्थाबाटै नेपाली सभ्यताको पनि आरम्भ भएको थियो।

तसर्थ, गणराज्य नेपाली समाजको मौलिक प्रणाली होे । तर, समयक्रममा यो प्रणाली भत्कियो । सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताका आधारमा शासकहरू स्थापित हुने, उनीहरूको वंश परम्पराका आधारमा शासन व्यवस्था सञ्चालन हुने र उनीहरूको हुकुम नै कानुन हुने चरम अलोकतान्त्रिक प्रणालीहरू स्थापित र विकसित हुँदै गए । झन्डै दुई हजार वर्षसम्म चलेको यस्तो सामन्ती प्रणालीलाई अन्त्य गरेर हामीले इतिहासको एउटा महत्वपूर्ण कडीलाई जोडेका छौँ । र, विकास गरेका छौँ ।

नेपालमा कुनै पनि स्वरूपको अनिर्वाचित सत्ता अन्त्य भएको छ । आजजनताले निर्वाचित गरेका प्रतिनिधिहरूद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित छ । संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकांक्षाहरू प्रतिबिम्बित भएका छन् । हाम्रा सम्पूर्ण साधनस्रोतहरू र प्रयासहरू ती आकांक्षालाई मूर्त रूप दिन केन्द्रित छन् । सशस्त्र द्वन्द्वको शृंखला अन्त्य भएर मुलुकमा दिगो शान्ति कायम भएको छ । राजनीतिक अस्थिरता र सङ्क्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको छ । 

गणतन्त्र स्थापनासँगै हामीले हासिल गरेका यी उपलब्धिहरू गौरवपूर्ण र दूरगामी महत्वका छन् । तर, यिनै उपलब्धिमा मात्र आत्ममुग्ध भएर बस्न मिल्दैन ।

गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो । यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ । लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन हामीले सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइरहेका छौँ ।

गणतन्त्र गणहरूमार्फत अर्थात् जनताहरूमार्फत जनताको तन्त्र हो । जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो । संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्ने गरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रूप लिन सक्दैन ।

यसका लागि उत्पादनका साधनमा जनताको पहुँच आवश्यक छ । यसका लागि उत्पादनको न्यायोचित वितरण र न्यायपूर्ण प्रबन्ध जरुरी छ । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विषयमा जनताको पहुँच आवश्यक छ । श्रम गर्न सक्नेका लागि रोजगारीको प्रबन्ध र श्रम गर्न नसक्नेका लागि फराकिलो सामाजिक सुरक्षाको जरुरी छ । यसका लागि अधिकार, अवसर, सुरक्षा र सम्मानमा सबैलाई समान व्यवहार गरिने कुरा सुनिश्चित हुन जरुरी छ ।

हाम्रा सम्पूर्ण प्रयासहरू यी कामहरूमार्फत गणतन्त्रलाई जनताको जीवनसँग जोड्ने विषयमा केन्द्रित छन् । यसैलाई हामीले परिपूर्ण लोकतन्त्र भनेका छौँ । 

 - गणतन्त्र शासन प्रणाली मात्रै होइन । यो त नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि हो । 

- गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धि सहितको प्रणाली हो, त्यसैले यहाँ महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन सक्दैनन् । 

- गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरू कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछू्तको व्यवहार स्वीकार्य हुन सक्दैन । 

- गणतन्त्र उन्नत लोकतान्त्रिक संस्कार भएको शासन प्रणाली हो । यहाँ विचारहरूबीच स्वस्थ बहस, मान्यताहरूबीच मर्यादित छलफल र असहमतिहरूको निर्वाध अभिव्यक्तिको प्रत्याभूति हुन्छ । तर घृणा, विद्वेष र विभाजन ग्राह्य हुन सक्दैन । 

- गणतन्त्र विगतका अन्य कुनै पनि प्रणालीभन्दा शासन व्यवस्थाका हिसाबले मात्रै नभएर आचरण र व्यवहारले पनि उन्नत र परिस्कृत प्रणाली हो र हुनुपर्दछ । 

- गणतन्त्रमा आफ्ना विचारहरू निर्वाध ढंगले अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुन्छ, तर आफ्ना विचार या स्वार्थका लागि हिंसा र आतंक तथा डर र त्रासको प्रयोग स्वीकार्य हुन सक्दैन ।  अधिकार र कर्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउँछ ।

- सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित छ । 

१२ वर्ष आफैँमा धेरै लामो अवधि होइन । गणतन्त्र स्थापनाका १२ वर्षमध्ये अधिकांश समय हामीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुऱ्याउन, नयाँ संविधान निर्माण गर्न र सङ्क्रमणकालको अन्त्य गर्न केन्द्रित गर्नुपरेको थियो । गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । जनताको चेतनाले ठूलो फड्को मारेको छ  ।

वर्षौँदेखि मूर्च्छित विकास र समृद्धिका सपनाहरूले साकार रूप लिन थालेका छन् । आफ्नो देश आफैँ बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको छ । राष्ट्रिय एकता सुदृढ भएको छ । आफ्नो  निर्णय आफैँ गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढंगले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको छ । विश्व रंगमञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा अगाडि बढाइरहेको मुलुकको रूपमा नेपालको छवि बलियो बन्दै गएको छ ।

लामो सङ्क्रमणको अन्त्यसँगै आर्थिक क्षेत्रमा पनि नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यसअघि लगातार औसत ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुनु, निरपेक्ष गरिबीमा निरन्तर कमी आउनु र सुशासन, शान्ति, व्यावसायिक वातावरणजस्ता महत्वपूर्ण विश्व सूचकहरूमा उल्लेख्य सुधार आउनुले हामी सही दिशातिर अगाडि बढिरहेको स्पष्ट हुन्छ नै । कोरोना महामारी सुरु हुनु पूर्वका सूचकहरू अत्यन्त उत्साहवर्द्धक छन् ।

जनताको सेवा र विकास निर्माणका लागि संङीय संरचनाका तीनै तहबीच समन्वय कायम गर्दै अगाडि बढ्ने काम भएको छ ।

गणतन्त्र स्थापनाको छोटो समयका उपलब्धिबाट हामी विश्वस्त भएका छौँ- विगतका अलोकतान्त्रिक शासन प्रणालीहरूका कारण क्षति हुन गएको, सुस्ताएको हाम्रो विकास यात्रा, ओझेलमा परेका समृद्धिका आकांक्षाहरू र कमजोर बन्न पुगेको राष्ट्रिय स्वाभिमानलाई छोटो समयमै पुनर्स्थापित गर्न र नयाँ ऊर्जा भर्न सक्नेछौँ । लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट विश्व मानचित्रमा नेपाललाई एउटा विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्नेछौँ ।

जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्छ नै । प्रणाली विकासका क्रममा सानातिना कमीहरू देखा पर्न पनि सक्छन् । तर, कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरू अवश्य नै अनुचित हुन् । इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि सक्दैन । 

हामी अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेका छौँ ।

दाजुभाइ दिदीबहिनीहरू !

आज सिंगाे मानव समुदाय कोरोना महामारीविरुद्धको कठिन संघर्षमा जुटेको छ । हाम्रो पुस्ताले भोग्नुपरेको सर्वाधिक ठूलो यस चुनौतीले हाम्रा प्राथमिकताहरू मात्रै होइन, हाम्रो कार्यपद्धति र जीवनशैलीलाई नै प्रभावित गरेको छ । हामी नेपालीहरू पनि कोरोना महामारीका विरुद्धको कठिन संघर्षमा केन्द्रित छाैँ । गणतन्त्र दिवसको यस सन्दर्भमा म यहाँहरू सबैमा कोरोना सङ्क्रमणबाट सुरक्षित रहन सक्नुहोस् र यसबीचमा जसलाई सङ्क्रमण भएको छ, उहाँहरू छिट्टै निको भएर सामान्य जीवनमा फर्कन सक्नुहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । गणतन्त्र प्राप्तिको लामो र कष्टसाध्य संघर्षको अनुभवमाथि आधारित भएर भन्न चाहन्छु, यस चुनौतीलाई पनि हामीले परास्त गरिछाड्नेछौँ । भनिन्छ नि, रात जतिसुकै लामो भए पनि बिहानी अवश्यंभावी छ ।

यस्तो वेलामा हाम्रो सिंगो देश, हामी सबै दाजुभाइ–दिदीबहिनीहरू एकजुट भएर कोरोनाविरुद्ध लड्न जरुरी छ । र, गणतन्त्रलाई वास्तविक अर्थमा संस्थागत गर्न एकताबद्ध प्रयासहरूलाई अगाडि बढाउन जरुरी छ । यसका निम्ति म सबैमा हार्दिक आह्वान र अनुरोध गर्दछु ।
धन्यवाद ।