सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २१ आइतबार
  • Sunday, 05 July, 2020
अनिता सेठ
२०७७ जेठ १५ बिहीबार ०७:५६:००
दृष्टिकोण

कोरोनाका कारण अन्य प्रकोपको जोखिम बढ्यो

अनिता सेठ
२०७७ जेठ १५ बिहीबार ०७:५६:००
?>

मेरिल्यान्डको बाहिरी भागमा रहेको मेरा सहकर्मीको बालरोग क्लिनिकबाहिर असामान्य खालको मौनता छाएको छ । सामान्य दिनमा यहाँ बालबालिकाको भीड देखिन्थ्यो । तर, आजकल त्यस क्लिनिकमा दर्ता भएका १० मध्ये दुईजना बालबालिका देखाउन आउँछन् । कोरोनाको कहरमाझ मानिस घरभित्रै बस्न थालेपछि प्रयोगविहीन खोपका भायल्स थुप्रिन थालेका छन् । 

महाव्याधिको डर तथा लकडाउनमाझ अमेरिकाभरका बालरोग क्लिनिकमा यही दृश्य देखिइरहेको छ । ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’को खोप सुरक्षा तथ्यांकले सन् २०२० को पहिलो त्रैमासिकमा दादुराको खोप लगाउनेको संख्या अघिल्लो वर्षको सोही अवधिको भन्दा ५० प्रतिशतसम्मले न्यून भएको देखाएको छ । कोरोनाबाट विश्व नै प्रभावित भएकाले अन्य भागमा पनि लगभग यही तथ्यांक रहेको अनुमान छ ।

विश्व कोरोना भाइरसविरुद्धको लडाइँमा केन्द्रित हुँदा अन्य रोगका खोप कार्यक्रममा उलेख्य गिरावट आएको छ।

युनिसेफका अनुसार अघिल्लो महिनाको अन्तिमसम्म विश्वका कम्तीमा पनि २५ देशले खोप अभियान रद्द गरेका छन् । एकातर्फ कोरोना भाइरसको विस्तार भइरहने र सम्पूर्ण स्वास्थ्य प्रणाली त्यसलाई नियन्त्रण गर्न लाग्दा अन्य रोगको असर तीव्र हुने सम्भावना बढेर गएको छ । 

दादुराले निमोनिया निम्त्याउँछ र दिमाग सुन्निन्छ । यसले ज्यान पनि लिन सक्छ । शिशु र जोखिममा रहेका वयस्कले उल्लेखित जटिलता भोग्नुपर्ने हुन्छ । कोरोना भाइरसजस्तै दादुरा पनि थुकको छिटाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । तर, दादुरा भाइरस कोरोना भाइरसभन्दा १० गुणा बढी सरुवा हुन्छ भने कोरोनाभन्दा प्राणघातक पनि हुने गर्छ ।

समुदायस्तरमा दादुरा संक्रमण नियन्त्रण गर्ने हो भने सो क्षेत्रका ९५ प्रतिशत जनसंख्यामा खोप लगाइएको हुनुपर्छ । कोरोना महामारीअघि नै विश्वमा दादुरारोगीको संख्या बढिरहेको थियो । सन् २०१८ मा दादुरा संक्रमितको संख्या झन्डै एक करोड पुगेको थियो भने एक लाख ४० हजार मानिस यस रोगले निम्त्याएको जटिलताका कारणले मरे ।

दादुराबाट मर्नेको यो संख्या अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशत बढी हो । प्रभावकारी खोपले सन् २००० मा अमेरिकामा दादुरा उन्मूलन भइसकेको थियो । तर, खोपबारे व्यापक कुप्रचारले खोपप्रति आमजनसंख्यामा विश्वास कम हुँदा सन् २०१९ मा अमेरिकामा १२ सय दादुराका बिरामी देखिए । 

कोरोना संकटले खोप कार्यक्रम प्रभावित हुँदा संक्रमितको संख्या झनै बढ्ने पक्का छ । विद्यालय खुलेपछि खोप अभियानलाई पुनः सुचारु गर्न सकिन्छ, तर अमेरिकामा बलियो बन्दै गएको खोपविरोधी अभियानले दादुराको खोप कार्यक्रम मात्र होइन, पछि विकास हुने कोरोनाको खोपलाई पनि अस्वीकार गरिनुपर्छ भन्ने भावना बढ्न थालेको छ । यो खतरनाक प्रवृत्ति हो । कोरोना महामारीका कारण पोलियो खोप अभियान पनि प्रभावित भइरहेको छ ।

२०औँ शताब्दीको प्रारम्भमा डरलाग्दो रोगका रूपमा हेरिने पोलियो प्रभावकारी खोप कार्यक्रमबाट उन्मूलन हुन लागेको थियो । तर, अहिले खोप कार्यक्रम अवरुद्ध भएकाले उक्त प्रगतिमा धक्का लाग्नेछ । प्राणघातक मानिने अर्को बिरामी ‘भ्यागुते रोग’को खोप दिने कार्य प्रभावित भएकाले नियन्त्रण प्रयासमा प्रत्युत्पादक असर पर्नेवाला छ । 

महाव्याधिको पृष्ठभूमिमा बालबालिकामाझ रोक्न सकिने बिरामीहरू बढ्ने सम्भावनाबारे नियामक निकायको पनि ध्यान परेको छ । विश्व स्वास्थ्य संगठनले नियमित रूपमा सञ्चालन भइरहेका खोपसेवालाई प्राथमिकता दिनुपर्ने बताएको छ । तर, विभिन्न अनुमानले विश्वभर १० करोड बालबालिका खोपविमुख हुने संकेत गरेका छन् । खोपका कारण ओपिडी सेवा तथा खोप केन्द्र बन्द हुनु, सम्पूर्ण स्वास्थ्य सेवा कोरोनाकेन्द्रित हुँदै जानु, खुलेका खोप केन्द्रसम्म पुग्ने उचित यातायात प्रणाली ठप्प हुनु आदिले नियमित खोप कार्यक्रम प्रभावित छन्। 

बालमृत्युदर कम गर्नका लागि खोप कार्यक्रम निकै महत्वपूर्ण हुन्छ । तर, महाव्याधिको समयमा पनि उक्त उद्देश्य हासिल गर्नका लागि सरकारले खोपलाई अत्यावश्यक सेवाका रूपमा विकास गर्नुपर्छ । सबैभन्दा जोखिममा रहेका जनसंख्यालाई केन्द्रित गरेर खोप सेवा सुचारु गरिहाल्नुपर्छ ।

कोभिड १९ को समयमा छुटेका खोपलाई पूरा गराउनुपर्छ । तेस्रो कुरा, सरकारले खोपसम्बन्धमा आममानिसमा उठेका चासो र चिन्तालाई राम्ररी बुझाउनुपर्छ । अन्तिममा स्वास्थ्य एजेन्सीहरूले पौष्टिक, शिक्षा तथा अन्य सरकारी कार्यक्रमसँग समन्वय विस्तार गर्नुपर्छ । यी सार्वजनिक स्वास्थ्य प्रयासका लागि देशभित्र र अन्य देशसँगको रोग निगरानी अत्यावश्यक हुन्छ ।

कोरोना भाइरसजस्तै अन्य सरुवा रोग पनि निश्चित भौगोलिक सिमानाभित्र सीमित रहँदैनन् । वर्तमान महाव्याधिको समयमा भावी सार्वजनिक स्वास्थ्य विपत्हरू सहजै बेवास्तामा पर्छन् । हामीले त्यसो गर्न दिनुहुँदैन । सबै तहका सरकारको समन्वयबाट मात्र बालबालिकालाई प्राणघातक रोगबाट बचाउने अभियान सफल हुन्छ ।

(अनिता सेठ ‘इन्टरनेसनल भ्याक्सिन एक्सेस सेन्टर’की निर्देशक तथा जोन हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थकी बालरोग, संक्रामक रोग विशेषज्ञ हुन् ।)

"via The New York Times"

नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य