मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
ज्यानिस ब्यानचार्ड
२०७७ जेठ १५ बिहीबार ०५:५२:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

युद्धजस्तो कोरोना महामारीमा ट्रम्पको उदासीनता

Read Time : > 2 मिनेट
ज्यानिस ब्यानचार्ड
२०७७ जेठ १५ बिहीबार ०५:५२:००

युद्ध र कोभिड–१९ महामारीको समानता भनेको दुवैका योद्धाको स्मृतिमा यसको अनुभव र मनोदशा आजीवन रहिरहनेछ

यसपालिको स्मृति–दिवस नजिकिँदै गर्दा अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । यो संख्या भियतनाम युद्धमा मारिने अमेरिकी सेनाको भन्दा बढी हो । यसले चाँडै नै दोस्रो विश्वयुद्धमा मारिने अमेरिकी सेनाको संख्यालाई पनि उछिन्नेछ । स्मृतिदिवसमा संघीय सरकारी भवनमा भाइरसबाट मारिनेको शोकमा राष्ट्रिय झन्डा आधा झुकाउने घोषणा ट्रम्पले गरिसकेका छन् । राष्ट्रपतिले यो महामारीलाई युद्धकै रूपमा लिएका छन् । मार्चमा उनले संकटलाई ‘मेडिकल युद्ध’ भनेका थिए । अप्रिलमा भाइरसलाई ‘अदृश्य दुस्मन’को संज्ञा दिँदै ट्विट गरेका थिए । यही महिना कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ‘लडाइँमा गोली लागेर ढल्दै गरेकालाई बचाउने स्वास्थ्य योद्धा’ भनेका थिए ।

ट्रम्पको तुलना ठीकै हो । युद्धमा झैँ कोरोना भाइरसले पनि अदृश्य ढंगले आक्रमण गरिरहेको छ । युद्ध लडेका भेटरानबाट युद्धका वास्तविक अनुभव आममानिससम्म आइपुग्छन् । तर, अहिले कोभिड–१९ का संक्रमितको उपचारमा लागिरहेका हाम्रा स्वास्थ्यकर्मी कस्तो अनुभव र मनोदशाबाट गुज्रिरहेका छन् भन्ने वास्तविकता समचारले मात्र छर्लंग पार्दैन । युद्ध र कोभिड–१९ महामारीको एउटै समानता भनेको दुवैका योद्धाको स्मृतिमा यसको अनुभव र मनोदशा आजीवन रहिरहनेछ । त्यसैले राष्ट्रपतिले यसलाई युद्धकै रूपमा लिएर चुनौती सामना गर्ने हो भने निःसन्देह यसका योद्धाको मनोबल उच्च राख्न, चरम निराशामा जान नदिन र सशक्तसँग लड्न आवश्यक स्रोत–साधन जुटाइदिनुपर्छ ।

अग्रपंक्तिमा खटिएकी अमेरिकी चिकित्सक डा. लोर्ना ब्रिन कोरोना भाइरस संक्रमित भएर निको भइसकेकी थिइन्, तर उनले पछि आत्महत्या गरेकी छिन् 

दुःखको कुरा सामान्य अवस्थामा समेत अमेरिकी चिकित्सकको आत्महत्या दर आमनागरिकको भन्दा दुई गुणा उच्च रहने गरेको छ । २०१८ को एउटा अध्ययनबाट अमेरिकामा प्रतिवर्ष तीनदेखि चार सय चिकित्सकले आत्महत्या गर्ने गरेको पाइएको छ । कोभिड–१९ ले यो दर अझ बढाउने सम्भावना छ । अन्य स्वास्थ्यसम्बन्धी सर्वेक्षणले समेत कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा मानसिक तनाव र चिन्ता बढेको देखाएका छन् । चीनको वुहानमा पनि निको भएका संक्रमितमा ‘पोस्ट ट्रमाटिक सिन्ड्रम’ अत्यधिक देखिएको पाइन्छ । अग्रपंक्तिमा खटिएकी अमेरिकी चिकित्सक डा. लोर्ना ब्रिन कोरोना भाइरस संक्रमित भएर निको भइसकेकी थिइन् । तर, उनले पछि आत्महत्या गरिन् ।

यो महामारीले आम सर्वसाधारणलाई दिएको सास्ती अलग छँदै छ, जसलाई बिस्तारै अध्ययन गरिँदै छ । त्यसैगरी यसले बालबच्चामाथि कस्तो मानसिक तनाब सिर्जेको छ, त्यसबारे पनि अनुसन्धान गर्न बाँकी नै छ । युद्धमा जस्तै यो महामारीले पनि वर्षौंसम्म मनोवैज्ञानिक तनाव दिइरहनेछ, यसको असर पनि त्यत्तिकै लामो समयसम्म रहनेछ । 

त्यसो भए किन महामारीलाई युद्धसँग तुलना गर्ने राष्ट्रपतिले चिकित्सक, बिरामी, परिवार र सर्वसाधारणले भोगिरहेको यस्तो मानसिक समस्या र भुक्तमानको बेवास्ता गरिरहेका छन् ? बरु प्रशासनले उल्टै ठूलो मात्रामा अमेरिकाको मानसिक स्वास्थ्य उपचारको बजेट कटौती गरिरहेको छ । बरु अप्रिलको अन्यतिर रक्षा विभागले भने न्युयोर्कको स्वास्थ्य तथा अस्पतालको टिम र अस्पताल संगठनको समायोजनमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको मानसिक स्वास्थ्यका लागि एउटा छुट्टै टिम बनाएको छ । 

यतिवेला ट्रम्प प्रशासनले पनि अमेरिकाभरि स्वास्थ्यकर्मीको मनोबल गिर्न नदिन यस्तै कार्यक्रम ल्याउनुपर्छ । गभर्नर एन्ड्रयु कुमोले झैँ मानसिक स्वास्थ्य उपचार अस्वाभाविक होइन भनेर आमसर्वसाधारणलाई बुझाउन सक्नुपर्छ । आकस्मिक मानसिक स्वास्थ्य सेवा प्रदान गर्न उनको प्रशासनले स्रोत–साधनको प्रबन्ध गर्नुपर्छ । यसले निको भइसकेका संक्रमितलाई ‘पोस्ट ट्रमाटिक सिन्ड्रम’ आउन दिँदैन । अथवा, आवश्यक परेको खण्डमा विज्ञ मनोपरामर्शदाता उपलब्ध गराइनेमा सबैलाई आश्वस्त पार्नुपर्छ । ट्रम्पले यसो गर्दैनन् भने हामी यो वर्षको अन्त्यतिर देखिने अर्को महामारी र मृत्युको शृंखला भोग्न तम्तयार रहनुपर्छ । त्यो महामारी भनेको अहिलेको भाइरसले निम्त्याउने मानसिक चिन्ता÷विचलन वा ‘पोस्ट ट्रमाटिक डिसअर्डर’का कारण हुने आत्महत्या नै हो । 

(ब्यानचार्ड डिपार्टमेन्ट अफ इमर्जेन्सी मेडिसिन, जर्ज वासिंटन युनिभर्सिटीका प्राध्यापक हुन्)
सिएनएनबाट