मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
पश्चिम रुकुमको चौरजहारी–८ सोती घटनामा बेपत्ता भएका युवाको खोजी जारी छ । शनिबार भएको आक्रमणमा बेपत्ता भएका ६ जनामध्ये बुधबारसम्म चारजनाको शव भेटिएको छ, दुई अझै बेपत्ता छन् ।
हेमन्त केसी जाजरकोट
२०७७ जेठ १५ बिहीबार ०४:४०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

पश्चिम रुकुम घटना : भेरीमा थप एक युवाको शव भेटियो, दुई अझै बेपत्ता

रुकुम घटना छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन शर्माको माग

Read Time : > 2 मिनेट
२०७७ जेठ १५ बिहीबार ०४:४०:००

सोती घटनामा बेपत्ता भएकामध्ये थप एक युवाको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले बुधबार भेरी नगरपालिका– ११ का लोकेन्द्र सुनारको शव फेला पारेको हो । दुई युवा अझै बेपत्ता छन् । 

गत १० जेठमा रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा कथित माथिल्लो जातकी युवतीसँग प्रेमविवाह गर्न जाजरकोटको भेरी नगरपालिका–४ बाट आएका दलित युवा नवराज विक र उनका साथीहरूमाथि स्थानीयले ज्यान लिने उद्देश्यसहित संगठित आक्रमण गरेका थिए । भाग्ने क्रममा ज्यान जोगाउन भेरी नदीमा हामफालेका ६ जना बेपत्ता भएका थिए । उनीहरूमध्ये नवराजसहित भेरी नगरपालिका–४ का गणेश बुढा र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परेको थियो । 

बेपत्ता रहेका लोकेन्द्रको शव बुधबार भेरी नगरपालिका– १३ कुदुमा फेला परेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । वडा नम्बर– ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । हराइरहेकाको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।

हिउँ पग्लिएर भेरी नदी धमिलो भएका कारण पानीभित्र खोज्न कठिन भएको जाजरकोटका सशस्त्र प्रहरी प्रमुख डिएसपी योग्य बस्नेतले बताए । ‘हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको छ । नदी पनि निकै धमिलो भएको छ । पानीभित्र हेर्न मिल्दैन, धमिलो पानीकै कारण खोजी कार्यमा कठिनाइ भएको छ,’ उनले भने ।

रुकुम घटना छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन शर्माको माग

पश्चिम रुकुमका सांसद जनार्दन शर्माले सोती घटनाको छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाउन माग गरेका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले बुधबार विज्ञप्ति निकाल्दै छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न मागसमेत गरेका छन् ।

‘चौरजहारी–८ मा भएको घटनालाई मानव सभ्यताको खिल्ली उडाउने र मानव सभ्यताको सामु उत्पन्न चुनौतीका रूपमा मैले लिएको छ । यस घटनाको घोर भत्र्सना गर्दै अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनुहुन्न भन्ने मेरो स्पष्ट धारणा छ । अपराधी नछुटून्, निरपराधी नपरून् भन्नका लागि घटनाको सत्य–तथ्य अनुसन्धान मुख्य कुरा हो । घटनाको छानबिनमा सहयोग गर्न म पूरै प्रतिबद्ध छु,’ विज्ञप्तिमा शर्माले भनेका छन्, ‘सरकारसँग उच्चस्तरीय संसदीय समिति बनाउन माग गरेको छु र गर्दछु ।’

दलित हुनुका कारण घटना भएको र चारजनाको ज्यान गएको तथा दुईजना बेपत्ता भएको घटना आफैँमा जघन्य रहेको भन्दै शर्माले त्यसमा पनि दलितसँगको प्रेम–सम्बन्धको सन्दर्भ जोडिएकाले अक्षम्य रहेको स्पष्ट पारेका छन् । ‘मेरो जीवनको सबैभन्दा ठूलो उद्देश्य भनेकै उत्पीडित वर्गका पक्षमा खडा हुनु हो । यो कुरा मैले दोहो¥याइरहनु पर्दैन । जनयुद्ध होस्, चाहे संविधानको निर्माणका वेला बहसको संघर्षमा होस्, चाहे संविधान कार्यान्वयनमा देखिएका समस्याहरूका विषयमा मेरा खुला विचार र संघर्ष सबैका सामु स्पष्ट नै छ,’ शर्माले विज्ञप्तिमा भनेका छन् । 

शर्माले आफ्नो विज्ञप्तिमा घटना संविधानको धारामा दलित अधिकार उल्लेख भएको भए पनि वैचारिक, राजनीतिक, सांस्कृतिक र व्यावहारिक रूपमा समाजलाई रूपान्तरण गर्न अझै सफल नभएको सबैभन्दा नराम्रो उदाहरण भएको बताएका छन् । उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सामन्ती ब्राह्मणवादी चिन्तनविरुद्ध लड्नुपर्ने र सांस्कृतिक रूपान्तरणका लागि राज्यको साहस चाहिएको बताएका छन् ।

उनले चौरजहारीमा चारजना दलित युवाको हत्या र दुईजना बेपत्ता पारिएको घटनालाई राजनीतीकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । शर्माले घटनाको सत्य–तथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्नका लागि आफूले मंगलबार संसद्मा बोल्दै गर्दा बोल्नै नदिएर अवरुद्ध गरिएको र घटनालाई राजनीतीकरण गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् । शर्माले रुकुम पश्चिम घटनाबारे मंगलबार संसद्मा बोल्दा विपक्षी दलका सांसदहरूले विरोध गरेका थिए । शर्माले अनुसन्धान कमजोर बनाउन राजनीतिक हस्तक्षेप नभएको बताएलगत्तै विपक्षी दलका सांसदले विरोध गरेका थिए ।