मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १७ शनिबार २२:००:००
Read Time : > 5 मिनेट
मुख्य समाचार

उन्माद होइन अनुसन्धान, भ्रम होइन प्रमाण : राष्ट्रको पक्षमा जिम्मेवार पत्रकारिता, नयाँ पत्रिकाका १० कभर स्टोरी

Read Time : > 5 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १७ शनिबार २२:००:००

नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा राखेको भारतले अतिक्रमित भूमिमा सडक पनि उद्घाटन गरेपछि सिंगो नेपाल उद्वेलित भएको छ । नेपालले कूटनीतिक नोट पठाएर आपत्ति जनाउँदा पनि कोभिडपछि मात्र वार्ता गर्ने भन्दै आएको भारतले सडक भने यहीबीचमा उद्घाटन गरेको छ । त्यसैले पनि नेपालले अब आफ्नो भूमिमा अधीनस्थ स्थापित गर्न झन् गम्भीर कदम चाल्नुपर्ने अवस्था आएको छ ।

सिमाना र नक्साबारे नेपाल र भारत मुद्दा पेचिलो भइरहेको यो घडीमा भारतीय मिडिया भने समस्या बल्झाउन उद्यत् देखिन्छ । कुनै ऐतिहासिक दस्ताबेज वा नक्सा प्रस्तुत गर्नुको सट्टा भारतीय मिडियाले नेपालको सरकार, नागरिक र सिंगो नेपाली राष्ट्रियतामाथि धावा बोलिरहेका छन् । उनीहरूले एउटै विषयमा पटक–पटक र घन्टौँ बहस गराउँदा पनि कुनै ऐतिहासिक सन्दर्भ प्रस्तुत गरेका छैनन् । उनीहरूले कालापानी क्षेत्रमा आफ्नो दाबी पुष्टि हुने के–कस्ता दस्ताबेज छन् भनेर आफ्नै सरकारसँग पनि सोधेका छैनन् । 

यता राष्ट्रियताको यो संवेदनशील मुद्दामा नेपालको मूलधारको सञ्चार क्षेत्र एकताबद्ध र जिम्मेवार देखिएको छ । नेपाली प्रेसले ऐतिहासिक दस्ताबेज र नक्सा प्रस्तुत गर्दै अतिक्रमित भूमिमा फर्काउने मार्गमा राज्यलाई अभूतपूर्व साथ पनि दिइरहेको छ । नेपालमा देशभक्त अभियन्ताको कमी छैन । बुद्धिनारायण श्रेष्ठजस्ता सीमाविद्ले चीन, बेलायत र अमेरिका पुगेर ऐतिहासिक नक्सा संकलन गरेका थिए । नयाँ पत्रिकाले ती नक्सा देश र दुनियाँसामु प्रस्तुत गरेको छ । 

ऐतिहासिक दस्ताबेजको अनुसन्धानमा नेपाली सञ्चार क्षेत्रको अगुवाइ गर्दै नयाँ पत्रिका दैनिकले अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित लाइब्रेरी अफ कंग्रेसमा रहेको नक्सा छापेको छ जसमा महाकालीको शिर लिम्पियाधुरा हो भन्ने स्पष्ट देखिन्छ । सन् १८२७ को यो नक्सा वासिङ्टन डिसीस्थित लाइब्रेरी अफ कंग्रेस, जोगाफ्री एन्ड म्याप डिभिजनमा क्याटलग नम्बर G 7650 s 260.15 मा यो नक्सा संग्रहित छ । 

नयाँ पत्रिकाले १८५६ को नक्सा पनि प्रस्तुत गरेको छ । बेलायतको लन्डनस्थित ब्रिटिस म्युजियम लाइब्रेरीको इन्डिया अफिस रेकर्ड, म्याप कलेक्सन सेफमार्क नम्बर IOR.X/2996/1 मा संग्रहित यो नक्सामा पनि लिम्पियाधुराबाट निस्किएको नदीलाई नै काली नदी भनिएको छ । 

त्यस्तै, सन् १८१६ को सुगौली सन्धिलगत्तै तत्कालीन इस्टइन्डिया कम्पनी सरकारका कार्यवाहक चिफ सेक्रेटरी जे. आडमले ४ फेब्रुअरी सन् १८१७ मा पत्र लेखेको ऐतिहासिक पत्र पनि नयाँ पत्रिकामा प्रकाशित भएको छ । पत्रमा कालीपूर्वको भूमि नेपालको हो भनेर स्वीकार गरिएको पत्रमा भनिएको छ, ‘कालीपूर्वको क्षेत्र ब्रिटिस भारतले जितेको क्षेत्रको रूपमा मानिएको छैन । त्यसैले यो क्षेत्र नेपाल सरकारका अधिकारीहरूलाई सरेन्डर गर्नू भनेर कुमाउँका कायममुकायम कमिस्नरलाई निर्देशित गरिनेछ । आदेशअनुसार यही व्यहोरा तपाईंलाई जानकारी गराउँछु ।’ 

त्यति मात्र होइन, नेपालस्थित राजदूतलाई पत्र पठाएको दुई सातापछि इस्टइन्डिया कम्पनीका तत्कालीन कार्यवाहक मुख्यसचिव आडमले मार्च २२, १८१७ मा कुमाउँका कार्यवाहक कमिस्नर जी डब्ल्यु ट्रेल एस्करलाई पत्र पनि पठाएका थिए । जसमा उनले स्पष्ट भनेका छन्, ‘सुगौली सन्धिका व्यवस्था र भावनाअनुसार कालीपूर्वको भूभाग नेपालको हो भन्नेमा कुनै शंका छैन । त्यसैले सो क्षेत्रमा नेपाल सरकारको दाबीलाई स्वीकार्ने गभर्नर जनरलको निर्णय भएकाले सोहीबमोजिम तयारी गर्न तपाईंलाई निर्देशित गरिन्छ ।’ यसरी सुगौली सन्धिमा हस्ताक्षर गर्दा मात्र होइन, त्यसको कार्यान्वयन गर्ने सन्दर्भमा पनि कालीपूर्वको भूभाग नेपालको हो भन्नेमा तत्कालीन ब्रिटिस भारत सहमत थियो भन्ने स्पष्ट हुन्छ । 

अमेरिकाको वासिङटन र बेलायतको लन्डनजस्तै चीनको बेइजिङस्थित नेसनल लाइब्रेरी अफ चाइनामा रहेको नक्सा पनि नयाँ पत्रिकाले छापेको छ । चीनको नेसनल व्युरो अफ सर्भे एन्ड म्यापिङले सन् १९०३ मा जारी गरेको सो नक्सामा नेपाल पश्चिम सिमानामा चुच्चो छ । यो नक्सा सुगौली सन्धि भएको ८७ वर्षपछि तयार भएको थियो ।

त्यति मात्र होइन, नयाँ पत्रिकाले ‘आफ्नै नक्सा हेर भारत, महाकाली कहाँ छ ?’ शीर्षकमा कभर स्टोरी छापेको छ । इतिहासमा मात्र होइन, गत वर्ष २ नोभेम्बरमा ‘सर्भे अफ इन्डिया’ले प्रकाशित गरेको नक्सामा पनि लिम्पियाधुराबाट मुहान भएको नदीलाई नै काली नदी भनिएको छ । तर, विवादित नक्सा जारी गरेको ६ दिनपछि ८ नोभेम्बरमा भारतले अर्को नक्सा प्रकाशित गरेर काली लेखेको मेटेको छ । नयाँ पत्रिकाले समाचारमा भनेको छ, ‘अन्तर्राष्ट्रिय सिमानाको नक्सा बालबालिकाको ड्रइङ प्राक्टिस होइन जसलाई मनलाग्दा कोर्न र मन नलाग्दा मेट्न सकियोस् ।’

तर, नेपाली जनतालाई जागृत गराउने मात्र होइन, देशका शासकहरूको खबरदारी पनि प्रेसको जिम्मेवारी हो । त्यही जिम्मेवारी पूरा गर्ने क्रममा नयाँ पत्रिकाले नेपाली भूमिमा भारतीय सेनाका १८ पोस्ट रहेको ऐतिहासिक तथ्य पनि उत्खनन गरेको छ । हो, एउटा सार्वभौम देशमा अर्को देशको सेना । त्यो पनि संयुक्त अभ्यासमा लागि होइन, पोस्ट खडा गरेर । कुनै छोटो समय होइन, १८ वर्षसम्म । कुनै पनि सार्वभौम मुलुकका लागि यस्तो कल्पना पनि अपमानजनक हो । तर, नेपालका लागि एउटा क्रूर वास्तविकता हो । र, सत्ताको स्वार्थका लागि व्यक्तिले सम्झौता गर्दा देशले कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने पाठ पनि हो । त्यो अँध्यारो इतिहासको अध्याय पनि नयाँ पत्रिकाले खुलस्त पारेको छ । 

नेपाल र दुनियाँभरको प्रेसले उन्माद फैलाउने होइन, अनुसन्धान गर्ने हो । भ्रम फैलाउने होइन, प्रमाण प्रस्तुत गर्ने हो । आफ्ना जिम्मेवार प्रस्तुतिले देश र दुनियाँ जागृत गराउने अभियानमा नयाँ पत्रिका अविचलित रूपमा सक्रिय छ । 

पाठक र खोजकर्ताको सजिलोका लागि नयाँ पत्रिकाका १० कभर स्टोरी एउटै पेजमार्फत प्रस्तुत गरेका छौँ । 

ब्रिटिस म्युजियम लाइब्रेरी र अमेरिकाको लाइब्रेरी अफ कंग्रेसमा रहेका ऐतिहासिक नक्सासहित नयाँ पत्रिकाले भारतले अतिक्रमित गरेको भूमि नेपालकै भएको तथ्य राखेर समाचार लेख्यो । र, १० जेठको कभर स्टोरीको शीर्षक दियो  : ब्रिटिस म्युजियम लाइब्रेरी र अमेरिकाको लाइब्रेरी अफ कंग्रेसमा रहेका ऐतिहासिक नक्सा भन्छन्– महाकालीको शिर लिम्पियाधुरा

सुगौली सन्धि भएको अर्को वर्ष ४ फेब्रुअरी १८१७ मा इस्ट इन्डिया कम्पनी सरकारका कार्यबाहक चिफ सेक्रेटरी जे। आडमले काठमाडौंस्थित राजदूत एडबार्ड गार्डनरलाई लेखेको पत्रसहित नयाँ पत्रिकाले अर्को कभर स्टोरी गर्यो । प्रमाणले बलियो नेपालसँग भारतसँग वाक्युद्ध गरेर रमाउने वा राजनीतिक तहको कूटनीतिक वार्ता गरेर आफ्नो भूमि फिर्ता ल्याउने दुई विकल्प रहेको समाचार प्रकाशित भयो । ११ जेठमा नयाँ पत्रिकाले कभर स्टोरीको शीर्षक दियो : २०३ वर्षअघिको दस्ताबेज : अंग्रेज हाकिमलाई उनको सरकारको आदेश– कालापानी क्षेत्र नेपाललाई सरेन्डर गर्नू

नयाँ पत्रिकाले अर्को कभरस्टोरीमा भन्यो-भारत ! आफ्नै नक्सा हेर, कालीनदी कहाँ छ ?  समाचारमा उठाइएको थियो-लिम्पियाधुरासम्म नेपाल हो भन्ने प्रमाण खोज्न कहीँ जानुपर्दैन, भारतले गत २ नोभेम्वर (१६ कात्तिक) मा जारी गरेको नक्साले नै कालीनदी लिम्पियाधुराबाट आएको स्पष्ट देखाएको छ । यो नक्सा सर्भे अफ इन्डियाको वेबसाइटमा आठौँ संस्करणको रूपमा अहिले पनि छ । ६ दिनपछि ८ नोभेम्बरमा नक्सा संशोधन गरेर भारतले कालीनदी मेटाएको छ । अन्तर्राष्ट्रिय सिमाना बालबालिकाले गर्ने ‘ड्रइङको प्राक्टिस’ होइन, जसलाई मन लाग्दा कोर्न र मन लाग्दा मेट्न पाइयोस् । ९ जेठको कभर स्टोरी थियो :  भारत ! आफ्नै नक्सा हेर, कालीनदी कहाँ छ ? 

२ जेठमा नयाँ पत्रिकाले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रका तस्बीरहरु प्रकाशित गर्यो, जसले देखाएको थियो त्यहाँका बास्तविकता । २ जेठको नयाँ पत्रिकाको कभर स्टोरी : कालापानी क्षेत्रको तस्बिर : जहाँ भारतले ३७२ वर्गकिमि  भूमि अतिक्रमण गरेर ५८ वर्षदेखि फौज राखेको छ

नेपालको सार्वभौम इतिहासमा अँध्यारो अध्यायका रुपमा नयाँ पत्रिकाले अर्को कभर स्टोरी गर्यो । जहाँ भनिएको थियो-१५ फागुन २००८ मा काठमाडौं विमानस्थलमा उत्रिएको भारतीय सेना १७ पुस २०२६ सम्म नेपालमा थियो, नेपाली भूमिमा १७ पोस्टमा तैनाथ भएका भारतीय सैनिक १८ वर्षपछि मात्र फर्किए, तर ०१९ सालमा कालापानी आएको सेना अहिलेसम्म फर्किएको छैन । ७ जेठको नयाँ पत्रिकाको कभर स्टोरी थियो : नेपाली भूमिमा भारतीय सेना : १८ वर्षसम्म १८ पोस्ट

२५ कार्तिकमा नयाँ पत्रिकाले अर्को कभर स्टोरी छाप्यो, जसको मुख्य अंश थियो-नेपाली भूमि कालापानी मात्र होइन, गुन्जी र नावीढाङमा पनि भारतीय फौजका आठ क्याम्प छन् । २५ कार्तिकको कभर स्टोरी थियो : कालापानी क्षेत्रमै भारतीय फौजका आठ क्याम्प

भारतले नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी क्षेत्र समावेश गरेको ६ महिनापछि नेपाली भूभाग व्यास र गुन्जी हुँदै लिपुलेकसम्मको सडकमार्ग उद्घाटन गरेपछि नयाँ पत्रिकाल फेरि विशेष कभरेज गर्यो । पाँच वर्षअघि भूकम्पले नेपाल अस्तव्यस्त भएको वेला भारत र चीनले नेपालसँग सल्लाह नै नगरी लिपुलेक पासबाट व्यापारिक मार्ग बनाउने सहमति गरेकोमा अहिले कोरोना महामारीबीच भारतले सडकमार्ग उद्घाटन गरेको विषय नेपाल विरुद्ध रहेको समाचार प्रकाशित भयो । २७ बैशाखमा प्रकाशित कभर स्टोरी : भूकम्पका वेला : लिपुलेकबाट व्यापारिक मार्ग चलाउन बेइजिङमा सम्झौता, महामारीका वेला : नेपालीभूमि हुँदै चीन जोड्ने सडक उद्घाटन 

कालापानीलाई गाभेर भारतले नक्सा सार्वजनिक गरेकोमा नेपालले आपत्ति जनाएको विषयलाई समेटेर २१ कार्तिकमा नयाँ पत्रिकाले अर्को कभरस्टोरी गर्यो, जहाँ नेपालले भनेको थियो, ‘एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ, अन्तर्राष्ट्रिय सीमा रक्षा गर्न नेपाल प्रतिबद्ध छ’ , २१ कार्तिकको नयाँ पत्रिकाको कभर स्टोरीको शीर्षक थियो : नेपाल बोल्यो- कालापानी हाम्रो हो

सीमारेखाको समयरेखासहित नयाँ पत्रिकाले ६ जेठमा अर्को कभर स्टोरी गर्यो पहिलोपटक नेपाली नक्सामा लिम्पियाधुरा,३१० वर्गकिलोमिटर भूभाग थपियो, नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिलोमिटर 

सुस्ता पुगेर नयाँ पत्रिकाले स्थलगत रिपोर्टिङ गर्यो । रिपोर्टमा थियो, ‘नारायणीपारि सुस्तामा तीन हजार नेपालीको बसोवास छ, तीमध्ये धेरैसँग लालपुर्जा छैन, जोसँग लालपुर्जा छ तिनको जमिनमा भारतीयले खेती गर्छन् । भारतीय सुरक्षाकर्मीको आडमा सीमापारिका बासिन्दाले नेपालीलाई त्रासमा राखेका छन्, कहिले कुटपिट गर्छन्, कहिले घरमै आगो लगाइदिन्छन् । भारतबाट प्रताडित र नेपालबाट उपेक्षित सुस्ताको जीवन सधैँ आपत् विपतमा छ ।’ र, शीर्षक थियो : कालापानीमा जमिन, सुस्तामा जीवन खोसियो