मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हेमन्त केसी जाजरकोट
२०७७ जेठ १४ बुधबार १६:१८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

सोती घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, अझै दुई बेपत्ता 

Read Time : > 1 मिनेट
२०७७ जेठ १४ बुधबार १६:१८:००

सोती घटनामा हराएकामध्ये भेरी नगरपालिका– ११ का लोकेन्द्र सुनारको शव फेला परेको छ । उनको शव भेरी नगरपालिका– १३ कुदुमा फेला परेको हो । उनीसहित यस घटनामा निधन हुनेको संख्या चार पुगेको छ । 

गत १० जेठमा भएको घटनामा भेरी नगरपालिका– ११ का गोविन्द शाही, वडा नम्बर– ४ का सन्दीप विक अझै बेपत्ता छन् । 

भेरी नगरपालिका– ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । 

भेटिएका शवमध्ये बुधबार दुईजनाको पोष्टमार्टम भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज  पन्तले जानकारी दिए ।

हिउँ पग्लिएर भेरी नदी धमिलो भएकाले पानीभित्र बेपत्ता खोज्न कठिन भएको गोताखोरले जनाएका छन्  । 

अन्तर्जातीय प्रेमका कारण १० जेठ (शनिबार) मा पश्चिम रुकुमको चौरजहारी– ८ सोतीमा भएको घटनामा हराइरहेका तीनजनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको हो ।

घटना भएको पाँच दिनसम्म पनि हराएकाहरू सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुबेको आशंकामा सशस्त्र प्रहरी गण शमशेरगन्जबाट तालिमप्राप्त गोताखोर झिकाएर परिचालन गरिएको छ । 

तर, नदी धमिलो भएकाले पानीभित्र हेर्न नसकिएको र शंकास्पद स्थानमा छामेर खोज्नुपरेको सशस्त्र प्रहरी जाजरकोटका प्रमुख डिएसपी  योग्य बस्नेतले  बताए । 

उनले भने, ‘हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको रहेछ । नदी पनि निकै धमिलो छ । पानीभित्र हेर्न मिल्दैन, धमिलो पानीकै कारण खोजी कार्यमा कठिनाइ भएको छ ।’ 

पानीमा डुबेर खोज्न मिल्ने अक्सिजनसहितको पाँचजनाको टोली उताबाट आएको र जिल्लामा तालिमप्राप्त केही जनशक्ति गरी एक दर्जनभन्दा बढी सशस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधबार बिहानैदेखि भेरीमा परिचालन गरिएको प्रमुख  बस्नेतले बताए । 

हराएकाको खोजीकार्यमा स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।