Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मनिष खड्का रुकुम पश्चिम
२०७७ जेठ १४ बुधबार १४:५६:००
Read Time : > 1 मिनेट
समाचार

सोती घटना : गोताखोरमार्फत बेपत्ताको खोजी

Read Time : > 1 मिनेट
मनिष खड्का रुकुम पश्चिम
२०७७ जेठ १४ बुधबार १४:५६:००

रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ८ सोती गाउँमा शनिबार भएको घटनामा बेपत्ता भएकाको खोजीका लागि गोताखोरसहितको टोली आइपुगेको छ ।

अहिले बेपत्ता भएकाको खोजीका लागि भेरी नदीमा सातजना गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपालगन्जको टोली गोताखोरसहित बुधबार रुकुम पश्चिम पुगेको र गोताखोरहरूले बेपत्ताको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । मंगलबार दिनभर प्रहरी, सेना तथा स्थानीयको टोलीले बेपत्ताहरूको खोजी गरे पनि उनीहरूलाई फेला पार्न नसकेपछि गोताखोरसहितको टोली पुगेको हो ।

चौरजहारी– ८ सोतीगाउँकी १७ वर्षीया एक किशोरीलाई विवाह गर्न भनेर आएका भनिएका जाजरकोट भेरी नगरपालिका– ४ रानागाउँका २१ वर्षीय नवराज विक र उनीसँगै १८ जनाको समूहमा आएकाहरूलाई गाउँलेले लखेटेका थिए । जसक्रममा विकसहित भेरी नगरपालिका–४ रानागाउँका गणेश बुढा र चौरजहारी–१ का टीकाराम सुनारको भेरी नदीमा शव फेला परेको थियो । विकको आइतबार बिहान, सुनारको साँझ र बुढाको सोमबार दिउँसो शव फेला परेको थियो । घटनामा परेर तीनजना बेपत्ता रहेका छन् ।

बेपत्ता रहेका भेरी नगरपालिका– ४ का १८ वर्षीय सञ्जु विक, १७ वर्षीय गोविन्द शाही र १८ वर्षीय लोकेन्द्र सुनारको भेरी नदीमा खोजी भइरहेको छ । गाउँलेले लखटेको र भाग्ने क्रममा भेरी नदीमा हामफालेकामध्ये केही भेरी तर्न सफल भए पनि ६ जना भने बगेको प्रहरीको भनाइ छ । बगेकामध्ये तीनजनाको शव फेला परेकाे र तीनजना बेपत्ता रहेका छन् । यसैबीच, यस घटनाबारे अनुसन्धानका लागि संघीय प्रहरी इकाइ सुर्खेतका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी पोषराज पाेखरेल पनि बुधबार जिल्ला पुगेको जिल्ला प्रहरी प्रमुख डिएसपी केसीले बताए ।

घटनाको अनुसन्धानका लागि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । कर्तव्य ज्यानको मुद्दामा २० जनाविरुद्ध किटानी जाहेरी परेकामा बाँकी आठजनाको खोजी भइरहेको डिएसपी केसीले बताए । मृतक पक्षले हत्या नै गरेर भेरीमा फालेको आरोप लगाएका छन् भने सोतीवासीले भने लखटेको, तर हत्या नगरेको दाबी गरिरहेका छन् ।