मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १४ बुधबार १०:५३:००
Read Time : > 1 मिनेट
समाचार

सिराहाका पाँच संक्रमित भारतको दिल्ली र हरियाणाबाट आएका

Read Time : > 1 मिनेट
२०७७ जेठ १४ बुधबार १०:५३:००

सिराहामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। भगवानपुर र नवराजपुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका पाँचजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ६ पुगेको हो। 

पछिल्लोपल्ट संक्रमण पुष्टि भएका भगवानपुरका चारजनालाई मंगलबार धनगढीमाई नगरपालिकास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार भगवानपुरका चार र नवराजपुरका एक गरी पाँचजनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएको जनाएको हो। 

भगवानपुरका संक्रमण पुष्टि भएकाहरू २५/२५, २६ र २९ वर्षका छन्। संक्रमित चारजना २ जेठमा भारतको हरियाणाको गुडगाउँ र दिल्लीबाट आएको खुलेको स्वास्थ्य कार्यालय सिराहाले जनाएकाे छ। संक्रमितहरू भगवानपुरको भगवानपुर र इनर्वाको क्वारेन्टाइनमा बसेका थिए। 

नवराजपुरका १८ वर्षीय पुरुष पनि २ जेठमा भारतको गुडगाउँबाट आएर नवराजपुरको सोनवर्षास्थित क्वारेन्टाइनमा बसेका थिए। त्यसअघि ३ जेठमा सिराहाको सखुवानन्कारकट्टीका ३० वर्षीय युवकमा कोरोना संक्रमणको पुष्टि भएको थियो। 

गत २८ फागुनमा साउदी अरबबाट फर्किएका युवकमा संक्रमण पुष्टि भएपछि छपराढीस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ। 

रेल सेवा सञ्चालन भएपछि भारतबाट फर्किएकाहरूको संख्या बढ्न थालेसँगै सिराहाका संस्थागत क्वारेन्टाइनमा बस्नेहरू एक हजार ३४ जना पुगेका छन्। स्वास्थ्य कार्यालय सिराहाका अनुसार मंगलबार साँझ ५ बजेसम्म जिल्लाका १७ ठाउँमा सञ्चालित क्वारेन्टाइनमा भारतबाट फर्किएकाहरू एक हजार ३४ जना बसेका छन् भने दुईजना होम क्वारेन्टाइनमा छन्। 

सिराहाको धनगढीमाई नगरपालिकास्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा आठजना राखिएका छन् । आइसोलेसनमा बसेकाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय सिराहाले जनाएको छ। 

जिल्लामा मंगलबारसम्म एक हजार एक सय २८ जनाको स्वाबको नमुना लिई पिसिआर परीक्षण गरिएकोमध्ये ६ जना पोजेटिभ, सात सय १२ जनाको नेगेटिभ र चार सय १० जनाको रिपोर्ट आउन बाँकी छ। 

त्यस्तै, जिल्लाका विभिन्न ठाउँका क्वारेन्टाइनमा बसेका ६ सय ८६ जनाको आरडिटी जाँच गरिएकोमध्ये चारजनाकाे पोजेटिभ र ६ सय ८२ जनाको रिपोर्ट निगेटिभ आएको  छ।