Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ५ बुधबार
  • Wednesday, 21 October, 2020
ad
राेजर काेहेन
२०७७ जेठ १४ बुधबार ०९:०८:००
दृष्टिकोण

कोरोना संकटलाई ‘राष्ट्र–राज्य’ एक्लैले सल्टाउन सक्दैन

राेजर काेहेन
२०७७ जेठ १४ बुधबार ०९:०८:००

युरोपेली संघले महाव्याधिविरुद्धको लडाइँमा चीन र अमेरिकाभन्दा राम्रो प्रदर्शन गरेको छ

जर्मन चान्सलर एन्जेला मर्केलले यो साता ‘राष्ट्र–राज्यको मात्रै भविष्य नरहेको’ बताइन् । ‘अमेरिका फस्र्ट’ नारा उचालिरहेका ट्रम्पका लागि मर्केलको अभिव्यक्ति सीधा चुनौती हो । भन्नेहरू जर्मनीलाई राष्ट्र–राज्यको कुरा खारेज गर्न सजिलो हुन्छ भन्छन् । सन् १९४५ पछिको जर्मन इतिहास राष्ट्रिय लज्जाबाट बाहिर निक्लने प्रयासमा केन्द्रित छ । दोस्रो विश्वयुद्ध अन्त्य भएको ७५औँ वर्षगाँठमा बोल्ने क्रममा जर्मन राष्ट्रपतिले भनेका कुरा उल्लेखनीय छ । उनले भनेकी थिइन्– जर्मनीको विगत खण्डित खालको छ । हामी करोडौँ मानिसको हत्या र दुःखका लागि जिम्मेवार भएको बोझ बोकेर हिँड्नुपरेको छ । यसले आज पनि हाम्रो मन दुखाउँछ । त्यसैले त यो देशलाई दुःखी मनबाट मात्र माया गर्न सकिन्छ । 

अर्थहीन कुरा गर्ने नेताबाट शासित अमेरिकीले जर्मन राष्ट्रपति स्टेनमाइएको भनाइमा इमानदारी, विनयशीलता, गम्भीरता, नैतिकता र साहस देख्न सक्छन् । तर, जर्मनीका लागि समेत दुःखी मनबाट देशप्रेम गर्ने वा मर्केलले भनेजस्तो ‘राष्ट्र–राज्यको एकल प्रयास’को अन्त्यबारे बोल्नु सहज कुरा होइन । राष्ट्रवाद सबैभन्दा प्रभावशाली राजनीतिक औजारमध्ये एक हो । साथै यो सबैभन्दा खतरनाक औजार पनि हो । महाव्याधिको समयमा समन्वयात्मक कदम चाल्न नसकेको विश्वमा युरोपको सबैभन्दा शक्तिशाली देश अघि आउनुलाई महत्वपूर्ण मान्नुपर्छ । युरोपेली संघले महाव्याधिविरुद्धको लडाइँमा चीन र अमेरिकाभन्दा राम्रो प्रदर्शन गरेको छ । भयग्रस्त चिनियाँ कोरोना भाइरसलाई ढाकछोप गर्न व्यस्त छन् भने ट्रम्प प्रशासन यो संकटको गम्भीरता अस्वीकार गर्न लागिपरेको छ । यी दुई रणनीति विपत् भयावह बन्नका लागि सबैभन्दा बढी जिम्मेवार छन् । राष्ट्रपति सी जिनपिङको बढ्दो निरंकुशता र अमेरिकी प्रतिष्ठाको क्षय यो संकटमा सबैसामु छर्लंग भयो।

चीनमा कोरोनाबारे खबर बाहिर ल्याउने विज्ञ या त मरे या बेपत्ता भए भने ट्रम्पको अमेरिकामा तीन इन्स्पेक्टर जनरल तथा एक डेपुटी इन्स्पेक्टर जनरल बर्खास्त भए । ट्रम्प प्रशासनले संक्रमणविरुद्ध चालेको भद्रगोल नीति पर्दाफास गर्ने अर्का संघीय वैज्ञानिक रिक ब्राइट पनि निकालिए । सी जिनपिङले जीवनभर सत्तामा रहने ढोका खोलेका छन् भने ट्रम्प उनको यो स्थितिमा ईष्र्या गर्छन् । यो महाव्याधिले २१औँ शताब्दीका ठूला शक्ति राष्ट्र एकअर्काजस्तै बन्दै गएको परिस्थिति उजागर गरिदियो । 

राष्ट्र–राज्यबारे मर्केलको धारणा त्यो समयमा आयो, जब जर्मनीले युरोपका कमजोर अर्थतन्त्रलाई सघाउने प्रावधानमा सहमति जनाएको छ । मर्केल र फ्रेन्च राष्ट्रपति इमानुयल म्याक्रोँले ५५० अर्ब डलरबराबरको पुनरुत्थान कोषमा सहमति जनाएको घोषणा गरेका छन् । सन् १९२० को महा–मुद्रास्फीतिको भयबाट बाहिर निस्कन नसकेको र सधैँ वित्तीय अनुशासनको कुरा गर्ने जर्मनीका लागि नयाँ कदम उसको विगतसँगको क्रान्तिकारी क्रमभंगता हो । यसले संघीय युरोपतर्फको उद्देश्यमा थप सघाउ पुर्‍याउनेछ । जर्मन चान्सलरले यो नयाँ कदम अत्यावश्यक रहेको संकेत गरेकी छिन् । विश्व अब भाइरसअघिको अवस्थामा फर्कन सक्दैन । नयाँ परिस्थितिका लागि ट्रम्पको अमेरिकाको राष्ट्रवाद तथा सीको चीन र भ्लादिमिर पुटिनको रुस जवाफ होइन । रकफेल ब्रदर फन्डका अध्यक्ष स्टेफन हेइन्जले विगत ३५० वर्षदेखि सभ्यतालाई आकार दिइरहेको तीन प्रमुख प्रणाली अब अप्रासंगिक हुँदै गएको र यसले विभिन्न संकट निम्त्याएको लेखेका छन् । हेइन्जले चर्चा गरेका प्रणालीहरू : औद्योगिक क्रान्तिबाट तीव्र बनेको र कार्बनजन्य इन्धनको सहयोगले चुलीमा पुगेको पुँजीवाद, सन् १६४८ को वेस्टफेलिया सन्धिबाट सुरु भएको राष्ट्र–राज्य प्रणाली र प्रतिनिधिमूलक प्रजातन्त्र हुन् ।

पुँजीवादी अभ्यासले पृथ्वीको पर्यावरणलाई नै जोखिममा पारिरहेको छ । साथमा यसले बिकराल आर्थिक असमानतासमेत सिर्जना गरिरहेको छ । राष्ट्र–राज्य पनि विश्वव्यापी उष्णताजस्तो अन्तरदेशीय समस्यालाई व्यवस्थापन गर्न पर्याप्त छैन । र, प्रतिनिधिमूलक लोकतन्त्र नामजस्तो न त वास्तविक अर्थमा प्रतिनिधिमूलक देखिन्छ, न त लोकतान्त्रिक नै । प्रतिनिधिमूलक लोकतन्त्र बिस्तारै कर्पोरेसन र धनाढ्यको हातमा पुगेको देखिएको छ । भाइरसको प्रकोप र त्यसले निम्त्याएको आर्थिक पतनले हेइन्जको विचारलाई ख्याल गर्नुपर्ने आवश्यकता झन् बढाएको छ । वर्तमान समयमा पुराना धेरै कुरामा परिवर्तन देखिइरहेका छन् । विश्व व्यवस्था, अन्तर्राष्ट्रिय कानुन, अमेरिकी नेतृत्व, र सत्यसमेत बदलिइरहेका छन् । यो खतरनाक समय हो र जर्मनीलाई भन्दा राम्रोसँग यसको ख्याल अरूलाई नहोला । तानाशाही व्यवस्था भय, अभाव, आक्रोश र झुटमा फुल्नेफल्ने गर्छन् । सन् १९३० को दशकमा त्यही भएको थियो र अहिले फेरि दोहोरिँदै छ । आफ्नो देशलाई आँखा चिम्लेर माया गर्नुभन्दा दुःखी मनले माया गरेको राम्रो । 

न्युयोर्क टाइम्सबाट
रोजर कोहेन पत्रकार तथा स्तम्भकार हुन्