मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १३ मंगलबार २०:४२:००
Read Time : < 1 मिनेट
समाचार

गणतन्त्र दिवसमा तीन सय कैदी छुट्दै

Read Time : < 1 मिनेट
२०७७ जेठ १३ मंगलबार २०:४२:००

गणतन्त्र दिवसमा सरकारले करिब तीन सय कैदीलाई छाड्ने तयारी गरेको छ । आधा कैद भुक्तान गरेका र केही ज्येष्ठ नागरिकलाई बाँकी कैद मिनाहा गरेर छाड्न लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । 

कारागार व्यवस्था विभागले तीन सयभन्दा धेरैको नाम सिफारिस गरिसकेको छ । केही गम्भीर किसिमका मुद्दाबाहेक अन्य अपराधमा जेल परेर ५० प्रतिशत कैद भुक्तान गरिसकेकाको चालचलन राम्रो भएमा बाँकी कैद मिनाहा गर्न सकिने प्रावधान छ ।

तर, सबैको चालचलन राम्रो भएको भनेर सिफारिस हुने गरेको छ । जसकारण छुटेपछि कतिपय अपराधमै लाग्ने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । 

केही कैदीहरू ज्येष्ठ नागरिक ऐनअनुसार पनि छुट्ने भएका छन् । सो ऐनअनुसार ६५ वर्षमाथिकाको हकमा ५० प्रतिशत तथा ७० वर्षमाथिको हकमा २५ प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद मिनाहा गर्न सकिने प्रावधान छ । 

७५ वर्षमाथिका कैदी हकमा भने जतिसुकै कैद अवधि बाँकी भए पनि छाड्ने सकिने प्रावधान छ । कानुनमा भएको प्रावधानअनुसार नै कैद मिनाहाको सिफारिस गरिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीप कँडेलले बताए । 

ज्येष्ठ नागरिक भएकाले आफ्नो कैद मिनाहा गरेर आफूलाई कुख्यात सिरियल किलर चार्ल्स शोभराजले समेत माग गरेका थिए । तर, सर्वश्वसहित जन्मकैदको सजाय भएको र विदेशी नागरिक भएकाले उनको नाम सिफारिस गरिएको छैन । 

दुई विदेशी नागरिकको हत्या मुद्दामा उनी १७ वर्षदेखि नेपालको जेलमा छन् । विभिन्न देशको जेल तोडेर भागेका उनलाई जेलभित्रको जेल मानिने केन्द्रीय कारागारको गोलघरभित्र राखिएको छ ।