मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ जेठ १३ मंगलबार १७:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

रुकुम घटनाप्रति कांग्रेसले उठायो तीन प्रश्न, घटनाको निष्पक्ष र गहिरो छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग

Read Time : > 1 मिनेट
२०७७ जेठ १३ मंगलबार १७:२९:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले पश्चिम रुकुममा घटेकाे नृशंस हत्याकाण्डले देशलाई नै स्तब्ध बनाएको भन्दै घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । ‘रुकुम पश्चिममा नृशंस हत्याकाण्ड भएको खबरलगत्तै कांग्रेस केन्द्रीय कार्यालय निरन्तर रुकुमको पार्टी नेतृत्व, प्रशासन र स्थानीयसँग सम्पर्कमा रहेकोे छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘घटना गम्भीर छ र यसले केही गम्भीर प्रश्नहरू उब्जाएको छ । देशलाई नै स्तब्ध बनाएको घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर कुनै मोलाहिजाबेगर दोषीलाई कडा कारबाही गर्न नेपाली कांग्रेस माग गर्दछ ।’

रुकुम हत्याकाण्डले तीन प्रश्न उब्जाएको भन्दै कानुन हातमा लिनेहरूलाई अविलम्ब कारबाही गर्न शर्माले माग गरेका छन् । गत शनिबार केटी पक्षको आक्रमणमा परी नवराज विक, टीकाराम सुनार र गणेश बुढामगरको ज्यान गएको थियो । भेरी नदीमा बेपत्ता भएका अन्य युवाको तदारुकता साथ खोजी गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।  
यस्ता छन् रुकुम घटनामा कांग्रेसले उठाएको तीन प्रश्न 

(१)    सामाजिक विभेद र विसंगतिको प्रश्न 
कानुनी रूपमा जातीय विभेद र छुवाछुतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधानपछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद छ । नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याका दोषीहरूलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ ।

(२)    राज्य प्रशासनको भूमिकामा प्रश्न 
लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समूह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो । राज्यको उपस्थिति न त्यसवेला देखियो न आक्रमणको घटना हुँदै गर्दा । नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासनकाे अनुपस्थितिउपर केन्द्रीय सरकारको धारणा माग गर्दछ ।

(३)    निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न 
केही निश्चित मानिसले गरेको आक्रमणमा पूरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुन सक्ने संकेत हामीले पाएका छौँ । जातीय विभेदको संकुचित मनोविज्ञानले निहत्था युवाहरूमाथि आक्रमणको कार्य गर्ने जोकोही हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानुनतः अधिकतम दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ ।