मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ १३ मंगलबार १५:०५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

अन्तर्जातीय बिहे गर्ने युवाको शव चार वर्षदेखि शिक्षण अस्पतालमा, अत्याचारको शृंखलामा अरू दलित पनि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ १३ मंगलबार १५:०५:००

काभ्रे पाँचखाल–६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । दुई वर्षको प्रेमलाई उनीहरूले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरू अजितकी दिदीको भक्तपुरस्थित घरमा बस्न थाले । 

बिहेको दुई दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन् । तर, माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी छ । त्यसपछि प्रहरीकै रोहवरमा सम्बन्धविच्छेद गराइयो । २८ असारमा सम्बन्धविच्छेद भयो । अर्को दिन अजित बेपत्ता भए ।

दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका उनले राति ८ बजे घरमा फोन गरेका थिए । उनको स्वर अत्तालिएको थियो । त्यसपछि सम्पर्क हुन सकेन । छोरा हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गरेको थियो ।भोलिपल्ट ३० असारमा धादिङको कुलपुर गाविसको परेवाटारमा झुन्डिएको अवस्थामा एक युवक फेला परे । दुई दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै शव गाडेको थियो ।

यसको जानकारी मिजार परिवारले पायो । शंका लागेर उनीहरू काभ्रेको पाँचखालबाट धादिङको परेवाटार पुगे । उनीहरू घटनास्थल पुग्दा शव गाडिसकिएको थियो । परिवारका सदस्यले खाल्डोबाट शव  निकाले । शव  अजितकै थियो । प्रहरीले पोस्टमार्टमसमेत गरेको भनेको थियो । तर, मृतकको शरीरमा कहीँ–कतै चिरफार गरेको भेटिएन । आफन्तले गाडिएको लास पुनः उत्खनन गरी काठमाडौंस्थित शिक्षण अस्पताल ल्याए । उनको शव अझै अस्पतालमा छ । 

अजित धादिङ जानुपर्ने कुनै कारण थिएन । उनलाई अरू कसैले त्यहाँ पुर्‍यायो र झुन्ड्यायो भन्ने आफन्तको दाबी छ । मिजार परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले युवतीका माइती पक्षका चारजनालाई पक्राउ गरेको थियो । तर, जिल्ला अदालत धादिङले सुरुमा तारेखमा छाड्यो । पछि अभियुक्तहरूलाई सफाइ दियो । 

उच्च अदालत पाटनमा पुनरावेदन गरे पनि घटनामा प्रहरीकै मिलेमतोमा प्रमाण नष्ट गरिएकाले न्याय पाउन नसकेको परिवारको गुनासो छ । शवको चिरफार नै नगरी पोस्टमार्टम रिपोर्ट लेख्ने डाक्टरले गल्ती स्विकारे पनि अदालतले पीडितलाई न्याय दिन हिच्किचाएको अधिवक्ता मोहन शाशंकर बताउँछन् । ‘सरकारवादी मुद्दामा प्रहरी नै संलग्न भएर प्रमाण नष्ट गरिएको देखिन्छ, उत्खनन गरिएको शवको अनुहारको छाला जलेको थियो, एसिड प्रहार भएको हुन सक्ने हामीले आशंका गर्‍यौँ, तर अदालतले परीक्षण गर्न चासो दिएन,’ अधिवक्ता शाशंकर भन्छन्, ‘अझै पनि अदालतले चाह्यो भने घटनामा प्रमाणहरू जुटाउन सकिने ठाउँ छन् ।’ 

अजितका बुबा हरिभक्त भन्छन्, ‘मेरो छोरो झुन्डिएरै मर्ने भए गाडी चढेर धादिङ किन जानुपथ्र्यो र रु’ केटीका माइती परिवारले प्रहरीको सहयोगमा प्रमाणसमेत नष्ट हुने गरी जालझेल गरेर हत्यालाई आत्महत्या बनाउने कोसिस गरेको उनको आरोप छ । 

काभ्रेका युवालाई धादिङमा लगेर मारिएको र पोस्टमार्टम पनि नगरी हतारहतार गाडिएको स्पष्ट हुँदाहुँदै पनि कुनै कारबाही नभएको भन्दै परिवार र नागरिक अधिकारकर्मीले न्यायको पक्षमा आवाज उठाइरहेका छन् । तर, अहिलेसम्म दोषीलाई कारबाही नभएकाले उनीहरूले शव बुझ्न मानेका छैनन् । 

हुँदै नभएको पोस्टमार्टम रिपोर्ट प्रहरीले कसको स्वार्थमा बनाएको थियो रु प्रहरीले दोषी उम्काउन यस्तो गरेको ठहर व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तर्गतको उपसमितिले गरेको थियो । गजुरी प्रहरी र गजुरी स्वास्थ्य चौकीले युवतीको माइती पक्षको परिवारको प्रलोभनमा परेर मिजारले आत्महत्या गरेको रिपोर्ट बनाएको ठहर उपसमितिले गरेको थियो । तर, यो विषय आफैँ अलपत्र परेको छ । 

जसले गैरदलितसँग प्रेम गरेकै कारण ज्यान गुमाए

कथित उपल्लो जातिसँग प्रेम गरेकै कारण अहिले नवराज विकले ज्यान गुमाएका छन् । चार वर्षअघि अजित मिजारको हालत यस्तै भएको थियो । तर, नवराज र अजितजस्ता युवाले प्रेमको मूल्य निरन्तर चुकाइरहेका छन् । जातीय विभेद र छुवाछूत दण्डनीय हुने व्यवस्था बनेपछि पनि अन्तरजातीय प्रेमकै कारण वर्षैपिच्छे दलित कुटिएका छन्, मारिएका छन् ।

गैरदलित युवतीसँग प्रेम सम्बन्धकै कारण ०६८ को भदौमा दैलेखका सेते दमाईं मारिए । त्यही वर्षको १६ माघमा भएको सप्तरीको पन्सेरा–३ का शिवशंकर दासको मृत्युको कारण पनि अन्तरजातीय प्रेम र विवाह नै थियो । आफूहरूको प्रेमले परिवार र समाजमा विवाहका रूप नपाउने भएपछि झापाका अस्मिता सार्की र ईश्वर भट्टराईले ७ माघ, ०७३ मा एउटै पासो लगाए । तनहुँकी संगीता परियारले पनि गैरदलितसँग प्रेमविवाहकै कारण ज्यान गुमाएकी थिइन् ।