मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १३ मंगलबार १२:१०:००
Read Time : < 1 मिनेट
समाचार

रुकुम पश्चिम घटना मानवताविरोधी जघन्य अपराध : आयोन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १३ मंगलबार १२:१०:००

नेपाल युवा सञ्जाल (आयोन)ले रुकुम पश्चिममा अन्तर्जातीय विवाह गर्ने क्रममा स्थानीयको कुटपिटबाट तीनजनाको मृत्यु र तीनजना बेपत्ता भएको घटनालाई मानवताविरोधी जघन्य अपराधको संज्ञा दिएको छ । 

जाजरकोटका नवराज विश्वकर्मा र रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ की युवतीबीच अन्तर्जातीय विवाह गर्ने क्रममा स्थानीयको निर्घात कुटपिटबाट तीनजनाको ज्यान गएको र अझै तीनजना बेपत्ता भएको घटनाले कानुन र मानवताकै हत्या भएको आयोनले टिप्पणी गरेको छ । 

विवाह हुने क्रममा स्थानीयले केटा पक्षमाथि सांघातिक हमला गरेको र ज्यान जोगाउन भाग्ने क्रममा नजिकै रहेको भेरी नदीमा हामफालेका युवाहरूमध्ये नवराज विश्वकर्मा, टीकाराम नेपाली र गणेश बुढामगरको शव भेटिएको स्थानीय प्रशासनले जनाएको छ । 

‘मुलुक जातीय विभेद र छुवाछुतमुक्त घोषणा भएको दशकौँ बितिसक्दा र संविधानमै जातीय विभेदलाई दण्डनीय अपराधका रूपमा परिभाषित गर्दा पनि आजको समयमा अन्तर्जातीय बिहे गरेकै कारण ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनुले कानुनको धज्जी त उडाएको छ नै, सँगसँगै हामीले कस्तो समाजको निर्माण गरिरहेका छौँ भन्ने गम्भीर प्रश्न पनि उब्जिएको छ,’ आयोनद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले जातीय विभेदलाई पनि उदांगो पारेको छ । यो मानवताविरोधी जघन्य अपराध हो ।’

आयोनका अध्यक्ष जगदीश ऐरले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाबारे गहिरो अनुसन्धान गरी संविधान र विद्यमान कानुनबमोजिम घटनामा संलग्नहरूलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

उनले पीडितलाई न्याय, क्षतिपूर्ति र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।