मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ जेठ १२ सोमबार २०:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

५४ दिनपछि खुल्यो गड्डाचौकी नाका, ६ घन्टामा भित्रिए साढे दुई हजारभन्दा बढी नेपाली 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ जेठ १२ सोमबार २०:४४:००

१९ चैतदेखि बन्द भएको गड्डाचौकी नाका ५४ दिनपछि सोमबार खुलेको छ । नाका खुलेको पहिलो दिनमै साढे दुई हजारभन्दा बढी नेपाल प्रवेश गरेका छन् । ६ घन्टाको अवधिमा दुई हजार सात सय ५४ जना नेपाल प्रवेश गरेको तथ्यांक छ । 

जिल्ला सुरक्षा समिति कञ्चनपुरको आइतबार बसेको बैठकले भारतमा अलपत्र परेका नेपालीलाई सोमबारदेखि कञ्चनपुरको गड्डाचौकीबाट प्रवेश गराउने निर्णय गरेको थियो । सोहीअनुरूप नेपाल भित्र्याइएको हो ।

सोमबार साँझ ६ बजेसम्ममा अढाइ हजारभन्दा बढी नेपाली सीमा क्षेत्रमा पुगेका छन् । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह साहुले दिउँसो १२ देखि साँझ ६ बजेसम्ममा कञ्चनपुरसहित सुदूरका पहाडी जिल्ला, कर्णाली र प्रदेश ५ का बासिन्दा नेपाल भित्रिएको बताए । बनबासा हुँदै गड्डाचौकी पुगेकालाई सम्बन्धित जिल्ला र पालिकामा पठाइने उनले बताए । ‘सीमा क्षेत्रमा पुगेकाहरूको स्वास्थ्य परीक्षण गरिसकेका छौँ,’ उनले भने, ‘कसैमा समस्या छैन ।’ 

भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले सम्पूर्णलाई खाना खुवाएर आजै सम्बन्धित पालिका र जिल्लामा पठाइने बताए । मंगलबार बिहान ८ देखि १० र साँझ ५ देखि ७ बजेसम्म अलपत्र नेपालीलाई भित्र्याइने उनको भनाइ छ । भारतबाट फर्किएका नेपाली नागरिकको भीमदत्त नगरपालिका, निड्स नेपाल र महेन्द्रनगरका युवा व्यवसायीले खाना, पानी, मास्कको व्यवस्थापन गरेका छन् ।