मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १२ सोमबार १८:५७:००
Read Time : < 1 मिनेट
अर्थ

दुग्धजन्य वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुट दिन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ जेठ १२ सोमबार १८:५७:००

डेरी उद्योगीहरूले दुग्धजन्य वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुटको माग गरेका छन् । कोरोना भाइरस (कोभिड– १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि डेरी क्षेत्रमा गम्भीर असर परेको भन्दै राहतस्वरूप भ्याटमा छुटको माग गरेका हुन् ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले सरकारले पहिला दिँदै आएको ५० प्रतिशत भ्याट छुट फेरि दिनुपर्ने माग गरे । केही वर्षयता सरकारले डेरी उद्योगहरूलाई दिँदै आएको भ्याट छुट रोकेको छ ।

यस्तै विद्युत् महसुलमा समेत ५० प्रतिशत छुट पाउनुपर्ने माग व्यवसायीहरूले गरेका छन् । उनले लकडाउनका कारण दूध संकलनमा समस्या भएको र ८० प्रतिशत बजार पनि बन्द भएको अवस्थामा दूध किसान, वितरक र डेरी उद्योगी सबैलाई राहतको आवश्यकता रहेको बताए । यस्तै लकडाउनपछि डेरी उद्योग सञ्चालन गर्न र किसानलाई भुक्तानी गर्न चालू पुँजीको अभाव हुने भएकोले सरकारले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने माग व्यवसायीहरूको रहेको उनको भनाइ छ । यसबाहेक कर्जाको पुनर्तालिकीकरण गर्नसमेत महासचिव दाहालले माग गरे ।

देशभर दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ । जसमध्ये ३१ लाख लिटर दूध बजारमा आउँछ । त्यसमध्ये पनि करिब १७ प्रतिशत मात्र औपचारिक डेरी उद्योगबाट बजारमा दूध आउने गरेको छ । बाँकी ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट खुला रूपमा बजारमा आउने गर्छ । लकडाउन भएपछि करिब ८० प्रतिशत दूधको बजार बन्द भएको व्यवसायीहरूको भनाइ छ । जसका कारण डेरीसँग भएको करिब पाँच अर्ब रुपैयाँबराबरको दूधको स्टक बिक्री हुन सकेको छैन ।