मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १२ सोमबार १६:०८:००
Read Time : > 1 मिनेट
अर्थ

प्रदेश १ मा १४ करोडको तरकारी नष्ट, साढे १३ करोडको आयात

Read Time : > 1 मिनेट
२०७७ जेठ १२ सोमबार १६:०८:००

प्रदेश १ मा लकडाउनको पहिलो महिना चैतमा १४ करोड ४० लाख ४९ हजार सात सय ६६ रुपैयाँ मूल्यबराबरको तरकारी नष्ट भएको छ । तर, सोही समयमा भारतबाट १३ करोड ५३ लाख १३ हजार मूल्यबराबरको आयात भएको छ ।

कृषि विकास निर्देशनालय विराटनगरका अनुसार लकडाउनले गर्दा प्रदेशका १० जिल्लाका किसानले उत्पादन गरेको तरकारी बजारसम्म पुग्न नपाउँदा उक्त मूल्यबराबरको तरकारी नष्ट भएकाे हो । नष्ट भएका तरकारीहरूमा काउली, बन्दा, टमाटर, साग, च्याउ, काँक्रा खुर्सानी, आलुलगायत छन् ।

निर्देशनालयका अनुसार चैत मसान्तसम्म ताप्लेजुङमा एक दशमलव ७ मेट्रिक टन, पाँचथरमा ६, इलाममा २३ दशमलव ८३, झापामा दुई हजार एक सय, मोरङमा दुई हजार दुई सय ५०, सुनसरीमा दुई हजार चार सय मेट्रिक टन तरकारी नष्ट भएको छ । त्यस्तै संखुवासभामा नौ, भोजपुरमा सात दशमलव पाँच, खोटाङमा १३ दशमलव २८, उदयपुरमा दुई सय मेट्रिक टन तरकारी नष्ट भएको छ ।

ताप्लेजुङमा ३६ हजार, पाँचथरमा एक लाख ८७ हजार, इलाममा सात लाख ४१ हजार सात सय ६६, झापामा चार करोड २० लाख, मोरङमा चार करोड ५० लाख, सुनसरीमा चार करोड ८० लाखबराबरको तरकारी नष्ट भएको छ । त्यस्तै संखुवासभामा तीन लाख ६० हजार, भोजपुरमा दुई लाख ४५ हजार, खोटाङमा चार लाख ८० हजार र उदयपुरमा ७० लाखबराबरको तरकारी नष्ट भएको छ ।

तर, विराटनगर भन्सारबाट लकडाउनको अवधिमा १३ करोड ५३ लाख १३ हजार मूल्यबराबरको आलु, प्याज र हरियो तरकारी आयात भएको छ । विराटनगर भन्सार कार्यालयका अनुसार चैत मसान्तसम्म आलु चार करोड ६३ लाख २१ हजार रुपैयाँबराबरको १७ लाख २६ हजार ६ सय ७१ केजी आयात भएको छ ।

त्यसैगरी दुई करोड ७३ लाख ५८ हजार रुपैयाँबराबरको ६ लाख ९४ हजार पाँच सय ९४ केजी प्याज भारतबाट आयात भएको छ । ७६ लाख ४० हजारबराबरको ८४ हजार केजी लसुन आयात भएको छ । यो समयमा हरियो तरकारीहरू पाँच करोड ३९ लाख ९४ हजार रुपैयाँबराबरको नौ लाख ८४ हजार ९५ केजी आयात भएको छ ।