मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ जेठ १२ सोमबार १२:५२:००
Read Time : > 1 मिनेट
समाचार

हत्या आरोपी सातजनाविरुद्ध प्रहरीमा उजुरी, आराेपी सबै फरार

Read Time : > 1 मिनेट
२०७७ जेठ १२ सोमबार १२:५२:००

सप्तरीको डाकनेश्वरी नगरपालिका– ९ सखुवाका ५४ वर्षीय सुखदेव मण्डलको हत्या आरोपमा स्थानीय सातजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ।

स्थानीय ४० वर्षीया नीलमदेवी मेहता र उनका छोरा २२ वर्षीय मुकेश मेहता, साेही ठाउँका ४० वर्षीय उमेश महतो, ४० वर्षीय शिवन भनिने शिवनारायण महतो, ३८ वर्षीय फुरकुन भनिने देवेन्द्र महतो, ५५ वर्षीय रामनारायण महतो र ६५ वर्षीय तुलसी यादवविरुद्ध सोमबार उजुरी परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

मृतकका छोरा २६ वर्षीय अशोककुमार मण्डलले उनीहरूविरुद्ध उजुरी दर्ता गराएका हुन्। दुई दिनअघि बाटो मिचेर घर बनाएको विषयमा विवाद हुँदा स्थानीयबीच झडप भएको थियो।

राससका अनुसार झडपमा टाउको फुटेर गम्भीर घाइते भएका सुखदेवको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा शनिबार मृत्यु भएको थियो। आवतजावतमा कठिन हुने गरी सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै रोक्न गएका सुखदेवमाथि आक्रमण भएको हो। उनको टाउकामा काठको चौखटले प्रहार भएको मृतकका नाति अजयकुमार मण्डलले बताए।

सार्वजनिक बाटो मिचेर घर बनाएको भन्दै दुवै परिवारले एक–अर्कालाई आरोप लगाउँदै विवाद गरेका थिए। नीलमदेवी मेहताले नयाँ निर्माण गर्न लागेको घरले बाटो मिचेको भन्दै अवरोध गर्न गएका सुखदेवलाई मेहता परिवारले पहिले आफूले मिचेको घर हटाउन भनेपछि विवाद बढेको स्थानीयको भनाइ छ। 

सुखदेवको परिवारका सदस्यले बाटो मिचेर घर बनाएको विषयमा वडा कार्यालय र प्रहरीसमक्ष एक साताअगाडि नै उजुरी गरेका थिए। 

डाकनेश्वरी नगरपालिका– ९ का वडाध्यक्ष कर्णदेव चौधरीले मौखिक जानकारी आएको बताउँदै दुवै पक्षबीच आपसमा सहमति नभएपछि आवश्यक कारबाही र शान्ति सुरक्षाका लागि उजुरी गर्न प्रहरीसमक्ष पठाएको बताए। चौधरीका अनुसार प्रहरी बेस क्याम्प पत्थरगाढाले गाउँमै छलफल गरेर टुंगाे लगाउन भनेको थियो। 

गाउँमा छलफलको वातावरण नबनेपछि मेहताले घर बनाउन थालेका थिए। विवादको विषय टुंगाे लागेपछि मात्र घर बनाउनुपर्ने मण्डल परिवारको माग थियो भने आफ्ना मिस्त्री, मजदुरलाई काम गर्न नदिँदा अनाहकमा खर्च बढिरहेकाले घर बनाउन पाउनुपर्ने मेहता परिवारको जोड थियो। 

घाइते मण्डलको मृत्यु भएपछि सबै आरोपी फरार छन्। उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले शव परीक्षण हुन नसक्ने जनाएपछि मृतकको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। झडपमा परी दुवै पक्षका दुई–दुईजना सामान्य घाइते भएका छन्।