Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
घाइते प्रहरीको जलेश्वर अस्पतालमा उपचार हुँदै
२०७७ जेठ १२ सोमबार ११:३४:००
Read Time : < 1 मिनेट
समाचार

महोत्तरीमा लागुऔषध कारोबारी र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एक किशोरको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ जेठ १२ सोमबार ११:३४:००

महोत्तरीमा प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएको छ। किशोर लागुऔषध कारोबारी भएको दाबी प्रहरीले गरेको छ।

लागुऔषध कारोबारीलाई समात्न गएको प्रहरीले गोली चलाउँदा रामगोपालपुर नगरपालिका– ७ सहसौलाका सुरेन्द्र यादवका १६ वर्षीय  छोरा राजन यादवको मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।

खुट्टा र तिघ्रामा गोली लागेर गम्भीर घाइते भएका किशोरको उपचारको क्रममा आइतबार राति ११ बजे जलेश्वर अस्पतालमा मृत्यु भएको हो। मृतक किशोरको शव पोष्टमार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको छ।

घटनामा दुईजनालाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा सोही ठाउँका २७ वर्षीय राहुलकुमार यादव र ४५ वर्षीय सुरेन्द्र यादव छन्। सुरेन्द्र मृतक किशोरका बुबा हुन्।

एसपी अधिकारीका अनुसार घटनास्थलमा चारजना लागुऔषध कारोबारी थिए। सुरुमा घटनास्थलमा सादा पोसाकका चार प्रहरी पुगेका थिए। प्रहरी पुगेपछि चार कारोबारीमध्ये एकजना फुत्केर भागेका थिए। फुत्केर भागेका युवाले एक हुल मानिस ल्याएर प्रहरीमाथि आक्रमण गर्न लगाएका एसपी अधिकारीले बताए।
 
‘ठूलो समूहले सादा पोसाकका प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि जवाफी कारबाही गर्दा किशोरको मृत्यु भएको हो,’ एसपी अधिकारीले भने, ‘घटनामा प्रहरीले ६ राउन्ड गोली चलाएको छ। कारोबारीलाई समात्न र आत्मरक्षाका लागि गोली चलाउनु परेको हो।’

लागुऔषध कारोबारीको आक्रमणबाट चार प्रहरी सख्त घाइते भएका अधिकारीले बताए। घाइते हुनेमा प्रहरी हवल्दार सञ्जीव पासवान तथा जवानहरू मनोज साह, रामविहारी पासवान र लालबाबु यादव छन्। 

उनीहरूलाई टाउको, हात, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू सबैको जलेश्वर अस्पतालमा उपचार भइरहेको छ।